
लोकतान्त्रिक गणतन्त्र न लोकतान्त्रिक बन्नसक्यो, न गणतन्त्र गणले अपनाए । यो त नेतातन्त्र बन्नपुग्यो । नवबादशाहीतन्त्र बन्यो । राजनीतिले आत्मसम्मान गुमाएपछि, भ्रष्टाचारमा भैंसी आहाल बसेजसरी बस्न थालेपछि यो पद्धतिलाई करेक्शन गर्ने काम नागरिककै हो, नागरिकले गर्नुपर्छ ।
यो लोकतान्त्रिक गणतन्त्र हो कि मंगलसेनको घोडा ? यो सवालको जवाफ नखोज्ने हो भने लोकतान्त्रिक गणतन्त्रले देशको अस्तित्व मटियामेट बनाउन सक्ने जोखिम बढेर गएको छ । लोकतान्त्रिक गणतन्त्र चल्ने चलाउने नैतिकताले हो, शुद्ध आचरण र नीतिले हो । जब बाहुबली र अपराध मानसिकताको ऐंजेरू पलाउँछ र त्यसको रोकथाम गरिन्न, लोकतान्त्रिक गणतन्त्र हिट्लरको गिलोटिनभन्दा डरलाग्दो हुन्छ । नेपालको सन्दर्भमा १८ वर्षे लोकतान्त्रिक गणतन्त्रमा बाहुबली हावी छ, अपराधिकता हावी छ, व्यभिचार बढेको छ, समानता छैन, निषेध र प्रतिषोधले सीमा नाघेको छ । यथार्थमा यो गणतन्त्र होइन, गन्तन्त्रजस्तो लाग्छ ।
यो स्थिति भनेको गणतन्त्त मंगलसेनको घोडा बनेको हो । मंगलसेनको घोडा भनेको कमान खुस्किएको अनियन्त्रित घोडा हो । बहुला तरिकाले दगुर्ने घोडा हो, यस्तो घोडाले बिध्वंशमात्र गर्छ, खतरामात्र निम्त्याउँछ ।
मंगलसेनको घोडाको चालमा चलेको हुँदा लोकतान्त्रिक गणतन्त्रमा फोहर बढ्यो । प्रदूषण बढ्यो । राजनीति अपराधिकरण हुनपुग्यो । फोहरी राजनीतिले महाकालीको कुमारित्व, बागमतीको बैंश, गण्डकीको दोहोरी, माटोको महिमा, बुद्धको निर्वाणा, सीमाको शुद्धता, सगरमाथाको पवित्रता, नीति, नैतिकता र चरित्र सबै बिनास हुँदै गएका छन् । यो पद्धतिले राम्रो केही गरेन, सबैतिर फोहर पारिसक्यो । त्यसै नारायण गोपालले गाएनन्– मलाई नसोध कहाँ दुख्छ घाउ ? देश हाँक्नेलाई पटक्कै देश दुखेन ।
१८ वर्ष भयो– यो पद्धति मंगलसेनको बहुला घोडा झैं बेतोडले दौडिरहेको छ । यो घोडा दौडाको मुकाम सिंहदरवार, शितल निवास, संसद र स्वार्थ हो । स्वार्थन्ध भएर दौडनू भनेको पुग्ने अराजकता हो, अन्धघोडा दौडेजसरी दौडेर बिनासमा पुग्नु भनेको मृत्यु हो । मृत्यु यो पद्धति बन्न हुनेथिएन, तर पार्टीको विवेकहीनताले लोकतान्त्रिक गणतन्त्त मृत्यतन्त्र बन्नपुग्यो ।
जति झक्झक्याए पनि राजनीति गँजडीजस्तो एकोहोरिएर भ्रष्टाचारको नालीमा रमाइरहेको छ । निदाएकालाई ब्यूँझाउन सकिन्छ, निदाएको नाटक गर्नेलाई ब्यूँझाउन सकिन्न । मंगलसेनको पागल घोडा दौडेजसरी दौडिएको यो पद्धति, यी भ्रष्टाचारले डामिएका नेताहरूलाई नियन्त्रण गर्न जनता र युवा जमात ननिस्कने हो भने देशमा जंगलतन्त्र झन झन डरलाग्दो बन्दै जानेछ, यसकारण पनि युवाले सुधारका लागि पहलकदमी गर्नैपर्छ । विश्वकै जेठोमध्येको देश नेपाल, मंगलसेनको फर्मानमा चल्ने झिंझाको जंगल बन्न सक्दैन । लोकतन्त्र ल्याएको, जनताले परिवर्तन खोजेको निरंकूशताको साटोमा झिंझाको जंगलतन्त्र थिएन, नेताहरूले लोकतान्त्रिक गणतन्त्रलाई जंगलतन्त्र बनाइदिए । यस्तो बिकृति र बिसंगतिको विरूद्ध खबरदार गर्ने शक्ति राजनीतिमा सवल देखिएनन् । जसका कारण नव बादशाहहरू झन झन हिटलरी शैली अपनाउन थालेका छन्, कानुनलाई खेलौना बनाउँदैछन् । देशलाई चिहान बनाउने चरित्रहीन नेतृत्वलाई सच्याउने जिम्मेवारी नागरिकको काँधमा आएको छ ।