Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

चुनाव भनेर जनता मरे मरुन्?

१३ सोमबार , असार २०७३१० बर्ष अगाडि

जनताप्रति जिम्मेवारी निर्वाह गर्ने दायित्व सरकारको हो। जनता त्रिपाल मुनी छन्, भोकै छन्, छटपटीमा छन्। तिनको बास र उद्धार पहिलो कर्तव्य हुनुपर्छ सरकारको। भूकम्प गएको १३ महिनापछि पनि जनताले च्यातिएको त्रिपालबाट छानोमुनी बस्न पाएका छैनन्। असारे झरी, चैते हुरी थोत्रो त्रिपालमुनी बिताएर फेरि अर्को असारे भेलमा हेलिन आइपुगेका छन् जनता। ती जनतालाई कसरी सुरक्षित र सामान्य जीवनमा फर्काउने भन्ने एजेण्डा संसदको, सरकारको, राजनीतिक दलहरुको, नागरिक समाजको र अधिकारकर्मीहरुको हुनुपर्ने थियो। भएन, जनता छायाँमा परेका छन्, जनताको पीडामाथि पीडा थप्ने र दुःख दिने काम भएको छ। मानौं जनता बेवारिसे छन्।
लोकतन्त्रमा सरकार लोककल्याणकारी हुनैपर्छ। निरंकूश शासकहरु त जनतालाई मनाउने काम गर्छन्, हाम्रो त शासनपद्धति नै लोकतन्त्र छ। नामलेमात्र लोकतन्त्र भएर नहुने रहेछ। व्यवहार र जिम्मेवारी लिन नसक्ने नेताहरु लोकतन्त्रका सारथी भइदिदा जनताको अपमान भएको छ। जनमतको बिजोग अवस्था छ। जनताले लोकतन्त्रको उज्यालो देख्न पाएका छैनन्। भनिन्छ, लोकतन्त्रमा लोकमत, लोकबल नै निर्णायक हुन्छ। लोक निर्णायक शक्ति हुन्। लोकको निर्णय लोकतन्त्रको प्राण हो। तर नेपालको लोकतन्त्रमा नेता प्राण बनेका छन्, लोकको कुनै भाउ छैन। नेताको मौजा बनेका छन् लोक। लोकको यतिबिघ्न शोषण विश्वका निरंकूश मुलुकहरुमा पनि भएको छैन होला।
लोक त्रिपालमा छन्। लोक वर्षाले रुझेर बिल्लिबाट अवस्थामा छन्। सरकार यही मसिरमा स्थानीय, २०७४ जेठमा संसद र राष्ट्रिय सभाको चुनाव गराएर माघ ७ गते नयाँ संसद निर्माण गर्ने लक्ष्य घोषणा गरेर चुनावमय हुनपुगेको छ। सत्तारुढ दलको रणनीति भनेको चुनावमुखी बजेट ल्याइएको छ, कर्मचारीदेखि व्यापारीहरु खुशी भएका बेलामा चुनाव गर्दा बहुमत आउँछ। अर्को ५ वर्षका लागि सत्ता आफ्नै कव्जामा पार्न सकिन्छ। फलाम बंग्याउने तातेकै बेलामा हम्मर हानेर हो। चुनावी हम्मर अहिले नहाने कहिले हान्ने? एमाले र एमाले नेतृत्वको सरकार चुनावको वातावरण बनाउन थालिसक्यो। प्रतिपक्षी कांग्रेस गाविस, नगर, महानगर, संघहरुको सिमांकन नगरी कसरी चुनाव हुनसक्छ? भनेर चुनाव हुनै सक्दैन भनिरहेको छ र निर्वाचन आयुक्त इला शर्मा पनि यही भनिरहेकी छिन्। सडकमा मधेसी मोर्चा र जनजातीय गठबन्धन आन्दोलन गरिरहेका छन्। तर सत्तामा आसिन एमाले जसरी पनि चुनाव गरिन्छ भन्न थालेको छ। जनताको विपत हटाउन लाग्नुपर्ने दलहरु चुनावमा लागेपछि जनता यो झरीमा पनि रुझेरै बस्नुपर्ने निश्चित छ।