
नेपालको १८३ राष्ट्रसँग कूटनीतिक सम्बन्ध छ । समस्या खुला सीमा भएको र सीमा अतिक्रमण गरेका कारणले भारतसँग भए पनि सम्बन्ध बाक्लो छ र बाँकी राष्ट्रहरुसँग पनि नेपालको सम्बन्ध सुमधूर नै रहेको छ । नेपालको परराष्ट्रनीतिमा युक्रेन, रुसवीचको युद्धमा केही बिचलन आए पनि सुधार हुँदैछ र नेपालले पञ्चशील र असंलग्नता छाडेको अवस्था छैन । नेपाल भूबनोटका कारणले पनि विश्वशक्तिको राडारमा परेको छ र नेपालको महत्व व्यापक छ । नेपालले बुद्धि पु¥याएमा, सम्बन्धको लाभ लिन अग्रसरता देखाएमा नेपालले समृद्धिको ढोका खोल्न सक्ने अनेक अवसरहरु छन् । तर नेपालको नेतृत्व निम्छरो भएकै कारणले नेपालप्रति विश्वमा बढेको भरोसा, विश्वास स्खलित हुनु चिन्ताको विषय हो ।
नेपाल भारत र चीनवीच तरुलको रुपमा रहेको छ । नेपालको अमेरिका, बेलायत, जापान, कोरिया, जर्मन, रुसजस्ता सवल र सम्पन्न राष्ट्रहरुसँग राम्रो सम्बन्ध रहेको छ । सबै मुलुकले नेपालको विकास र पूर्वाधार विकासमा सघाउँदै आएका छन् । सबै छिमेकी र मित्रराष्ट्रहरुसँग नेपाल कृतज्ञ रहेको छ ।
यसैवीच अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी राष्ट्रवाद मजबुत पार्नका लागि अनेक निर्णय लिएको अवस्था छ । ट्रम्पका नीतिगत निर्णय र कार्यान्वयनले विश्वभरि तरङ्ग फैलिएको छ । यसैवीच अमेरिकाले प्रशारित गरेको सूचना ‘अमेरिका नेपालसँगको साझेदारीमा नेपाली नागरिकहरुले आफ्नै देशमा
सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ ।’ ले भारत र चीनलाई सशंकित पारेको अनुभूत गर्न सकिन्छ । दुबै मुलुकका निकटस्रोतको प्रश्न छ– नेपालीको आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्न सक्ने अवस्था सिर्जना गर्ने दायित्व नेपाल सरकारको हो । अमेरिकाले नेपालमा कुन दायित्व निर्वाह गर्न खोजेको हो ? नेपालसँग के कस्तो समझदारी भएको हो ? सार्वजनिक गर्न जरुरी छैन र ? यो प्रश्नको लागि प्रश्न हुनसक्छ । अमेरिकाले नेपाललाई कूटनीतिक सम्बन्ध स्थापित भएको सन १९४७ देखि नै आर्थिक, प्राविधिक र अन्य सहयोग गर्दै आएको छ । चीन र भारतको मात्र होइन, अन्य कूटनीतिक सम्बन्ध भएका मुलुकको नेपालप्रति सद्भाव छ । आर्थिक, मानवीय सम्बन्ध पनि विकसित भइरहेकै छ । यसकारण नेपाली नेपालमै भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील अमेरिका प्रयत्नशील रहेको सूचित गर्नुलाई सशंकित हुनुपर्ने कुनै कारण देखिदैन । विश्वशक्ति राष्ट्रहरुवीच शक्तिको प्रतिस्पर्धा होला, नेपाल विकासशील
राष्ट्र हुन र ग्रेलिस्टबाट पार पाउन प्रयत्नशील छ । यो स्थितिमा नेपाललाई अमेरिका र कूटनीतिक सम्बन्ध रहेका मुलुकहरूले साथ सहयोग गर्न तैयार हुनु राम्रो हो । नेपालको पूर्वाधार विकासमा अमेरिका, चीन, भारतले सहयोग गरिरहेकै छन्, यो सहयोग अझ बुद्धि हुनुपर्छ । मुख्य कुरा सुशासन, प्रजातन्त्र, मानवाधिकार र नैतिकताको अभाव छ । यसतिर सबै मित्रहरुले तिखो नजर लगाउन जरुरी छ ।