नेपोलियन बोनापार्टको प्रशिद्ध भनाई छ– मलाई असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिनेछु। नेपालका सन्दर्भमा राजनीतिक परिवर्तन र राज्यसत्ताका नायकहरु असल आमा बन्न सकेनन्, तिनले असल राष्ट्र दिन पनि सकेनन्। खराव चरित्र बोकेकाहरुले असल नतिजा दिन्छन् भनेर आशा गर्नु सोझा र विश्वासिला जनताका लागि धोका हुनपुगेको छ। जनताले नराम्रो ठक्कर खानु परेको छ।
पहिले पञ्चायत थियो, निरंकूश भनियो। राजतन्त्र थियो, त्यसलाई पनि निरंकूश भन्ने आरोप लगाइयो। ०४६ सालपछि बहुदलीय प्रजातन्त्र स्थापित हुनपुग्यो तर त्यसले हाँकेको १२ वर्षे शासन इतिहासको पानामा भ्रष्टाचारयुग भनेर अंकित भइसकेको छ।
त्यसपछि जनयुद्ध र जनआन्दोलन मिसिएर आएको सुनामीले लोकतन्त्र ल्यायो। लोकतन्त्र ल्याउनमा लोकको विशेष योगदान रह्यो, लोकनेताहरु ऐतिहासिक नेतृत्वदायक बने। परिवर्तन भयो, परिवर्तनपछि कुनै प्रकारको बाधा, अड्चन रहेन, निरन्तर ०६३ सालदेखि ०७३ सालसम्म पनि तिनै परिवर्तनका अगुवाहरुले राज्य चलाइरहेका छन्। अर्थात परिवर्तनका आमाहरु बने नेताहरु। परिवर्तनलाई जनताको जीवनमा रुपान्तरण गर्न सकेनन्। जनता दुर्गति भोगिरहेका छन्, जनताको छटपटीको दिनचर्या कायमै छ। पीडा झन बढ्यो, लोकतान्त्रिक राज्य जनताले अनुभूति गर्नै पाएनन्। परिवर्तन र लोकतन्त्र नेताहरुको मौजा बनिरहेकै छ। लोक, लोकमत, लोकबल नेताहरुको बन्दकी बनेको छ। लोकको काम भोट हाल्ने र शोषण सहनेमा सिमित हुनपुगेको छ। अर्थात राजनेतृत्वको विकास हुनै सकेन।
विकास भ्रष्टाचारको भयो। विकास अनीति, अराजकता र कमिशनतन्त्रको भयो। सुशासनको विकास हुनसकेन। राज्यप्रतिको दायित्व, जनताप्रतिको जिम्मेवारी, राष्ट्रप्रतिको कर्तव्य कुनै नेताले पूरा गर्नै सकेनन्। लोकतन्त्रप्रतिको निष्ठा, नेतामा हुनुपर्ने नैतिकता, राज्यसञ्जालमा बस्नेहरुले देखाउनुपर्ने सेवाभाव पटक्कै छैन। जे छ, विकृति र बिसंगतिमात्र छ। लोकतन्त्र के आयो, नेता, तिनका कार्यकर्ता, पहुँचवाला र राजस्व खाने बर्गका लागि खुशी आयो, तिनको जीवनमा हरियाली छायो। आमनागरिकका लागि लोकतन्त्र सराप बनिरहेको छ। बरदान बन्नुपर्ने बर्ग लोकतन्त्रबाट प्रताडित छ। यसको अर्थ नेताहरुमा दुर्गुण छ, दूरदृष्टि छैन। लोकतन्त्रमा असल नेतृत्व चाहिन्छ। असल नेतृत्वले मात्र लोकतन्त्र चमकदार बन्नसक्छ। नेपालको लोकतन्त्रमा खियालागेका नेता भए। सुन बन्नुपर्ने नेताहरु फलाम बने। मूल प्रदूषित भएपछि बहाव दूषित हुनु स्वभाविक हो। आमा बन्नुपर्ने नेताहरु खराव बनेकैले लोकतन्त्रले असल राष्ट्र बनाउन नसक्ने भयो।