
विकासको कथाले गति पायो भने समृद्धि आउने हो । जब विकासको कथा कथामात्र बन्छ, भाषणमा सिमित हुन्छ, त्यतिबेला समृद्धि सपनाको खेती हुन्छ । आकासको भर पर्ने किसानले पनि बेला बेलामा पर्ने झरीबाट लाभ लिन्छ र खेतीकिसानीलाई गति दिन्छ । त्यसैको परिणाम हो, आत्मनिर्भरतामा आउने गति, आश्वस्तता र जीवन धान्न सकिने आशा । अनि विश्वास । तर, विकासको कथा भन्ने बाचकहरूले जनमत संग्रहताका विकासको कुरा गरे, जनमतमा हार्नासाथ विकासको कथालाई गति दिन सकेनन् । ०४६ सालको आन्दोलनमा पनि विकास, शान्ति, समृद्धिका अनेक कथाहरू सुनाइयो । कथाबाचकहरू सक्षम थिए, जनताले कथा सुने, विश्वास गरे, समर्थन गरे, फलतः परिवर्तन आयो । परिवर्तन आउनु के थियो, कालारात्रि सुरू भयो । शुभरात्रि देश र जनताले देख्नै पाएनन् ।
यही समय थियो, आमूल परिवर्तन, सर्वहाराको सत्ताका लागि जनयुद्ध सुरू भएको थियो । १० वर्षे जनयुद्धका बेलामा अनेक कथा हालियो । समानताका, सर्वहाराको शक्ति र सत्ताको कुरा भयो । जसले जे चाहन्छ, उसैको हुने सपना देखाइयो । यही समयमा हुनुसम्मको अन्याय भयो । द्वन्द्वमा १७ हजार मारियो । जनयुद्धका नेता प्रचण्डले टुडिखेलमा उभिएर भने म ५ हजारको जिम्मा लिन्छ । हालैमात्र जनयुद्धकारी डा.बाबुराम भट्टराईले भने– विश्वमा भएको सत्ता परिवर्तनमा लाखौं मारिएका छन्, नेपालमा त १७ हजारमात्र मारिएका हुन् । बाबुरामले यो अभिव्यक्ति द्वन्द्वपीडितकै सामुन्ने बोलेपछि पीडितले आक्रोशित भएर अरू मारिनुपथ्र्यो भनेपछि बाबुरामले भाग्नुप¥यो । यतिबेला देशदर्शनमा गएका प्रचण्डले देशै माओवादी बन्न लागेकोमा खुशी व्यक्त गर्दै ०८४ को चुनावमा माओवादीमात्र देखिने दावी गरेका छन् । जबकि ६ महिनामा गर्ने भनिएको संक्रमणकालीन न्याय सम्पादन गर्न ३ पल्ट प्रधानमन्त्री बनिसकेका प्रचण्ड, प्रधानमन्त्री बनिसकेका बाबुरामले माखो पनि मार्न सकेनन् । बेपत्ता र मारिएका व्यक्तिका परिवारजन न्याय न्या भनेर चिच्याइरहेका छन् । न्याय दिने कसले हो ? कोही बोल्न तैयार छैनन् । बनाइएका आयोगहरू पनि राजनीतिक भागबण्डा र स्वार्थमा आधारित भएपछि पीडितहरू पीडामा देखिन्छन् । ०४६ को परिवर्तनपछि जो नेता सत्तामा पुगेका थिए, ०८२ मा पनि तिनै नेताहरू सत्ता, संसद, शक्ति, राजनीतिमा छन् । तिनले सुनाउने कथा उस्तै छ । कथाले सपनामात्र माग्छ सधैं । यिनीहरू सपना सुनाएर जनताको आँखामा छारोमात्र हाल्ने हो ? संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनतामा नैराश्यता छ । आक्रोश छ । यो पद्धतिले अवस्था बदल्न सक्दैन भन्ने प्रतिक्रिया छ । तर कथाबाचक बनेका नेताहरू भन्छन्– हिजो बोल्न पाइन्थ्यो ? आज बोल्न पाएको गणतन्त्रले गर्दा हो । जनतामा यो पद्धतिले के दियो ? भन्ने प्रश्न छ । यो जटिल प्रश्नको सादा उत्तर दिन्छन् नेताहरू– आज बोल्न पाइन्छ, यो पद्धतिले बोल्न दिएको छ ।
जनताको प्रश्न हो, जनजीवनमा राष्ट्रियताका सवालमा यो पद्धतिको उपलब्धि के भयो ? भन्ने हो । यो पद्धतिले दिएका भनको घरघरका युवाहरूलाई निकासी गरेको छ र तिनले पठाएको रेमिटान्समा भ्रष्टाचार यिनैले गरेका छन् । युवाहरू निकासी हुनका लागि पनि सडक, प्रशासन, एयरपोर्टसम्मै घूस खुवाउनु पर्छ । विदेश गएपछि कति बाँच्छन्, कति मर्छन, उडेर गएका कति विदेशी जेलमा छन्, कति बाकसमा फर्कन्छन्, कति अभरमा परेका छन्, राज्यले कहिले खोजखबर नै गर्दैन । शासन प्रशासन, यो पद्धति भनेको बोल्न पाइनेमात्र हो । बोल्न दिएको कथा हालेर यो पद्धतिका सञ्चालकहरूले नयाँ भ्रम सिर्जना गरिरहेका छन् । जेठ १५ गते गणतन्त्र दिवस मनाउने क्रममा पनि यिनै नेताले बोल्न पाइन्छ भन्ने कथा हाल्नेछन् । गणतन्त्र दिवसमा गण कहीँ देखिएको थिएन, देखिन्न पनि । तर स्कूलका बालबालिका, माष्टर, कर्मचारी, प्रहरी, सेनालाई उर्दी लगाएर, कवाज खेलाएर, हेलिकोप्टरबाट फूल वर्षा गराएर यसपटक पनि गणतन्त्र दिवस मनाइनेछ । टुडिखेलबाट सत्ताका कथाबाचकहरूले सुनाउने कथा दिनदिनै घोचक बन्दै गएको छ । पद्धति परिवर्तनका बेला जुन रोचक कथा सुनाइएका थिए, ती रोचकताको अन्त्य भइसकेको छ । सडकमा देखिएको सबै खाले तह र तप्काका जनआक्रोश, आन्दोलन, विद्रोह देख्दा लाग्छ, यो पद्धति, कथाबाचकका कथाकै अन्त्य हुने त होइन ? चेतना खोई ?