
प्रमुख प्रतिपक्षी बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि जातीय पहिचानका मुद्दा उठाउन थालेका छन् । जानकारहरू भन्छन्– जातीय पहिचान खोज्दा खोज्दै राष्ट्रिय पहिचान हराउन सक्छ, गुम्न सक्छ ।
जनयुद्धमा खुब उठेको थियो, जातीय, भेगीय मुद्दा । संविधान बनेपछि संघीयताका लागि जातीय, भेगीय, मधेशवादी मुद्दा उठाइयो । ७ प्रदेश जसोतसो बनेपछि कोशी प्रदेशको नाममा तनावको आँधी उठ्यो । हुन त २०७९ फागुन १७ गते प्रदेश सभाका दुईतिहाइ अर्थात् ९३ मा ८२ सांसदको मतले कोशी प्रदेश नामाकरण भएको हो तर भोटले प्रदेशको ‘कोशी’ नामकरण गरिएको थियो । त्यसपछि पहिचानवादीले कोशी हुँदै हुन्न भनेर हुण्डरी मच्चाए । यो हुण्डरी हुँदा हुँदा पाथीभरामा केबुलकार बनाउन दिने कि नदिने भन्नेसँगसमेत जोडिन पुगेको छ । मुद्दा सेलाएको छैन ।
कोशी प्रदेशको नाममा मत हाल्ने कतिपय जातीय सांसद निर्वाचन क्षेत्रमा समेत जान सकेका छैनन् । जातीय भड्काउ जारी रहेको छ । १३२ भन्दा बढी जात र भाषा बोल्ने बहुजातीय मुलुकको विशेषता अनेकतामा एकता हो । अन्य मुलुकमा झैं जातीय मुद्दाका कारणले राष्ट्रिय पहिचान गुमाउन नपरोस्, सुडान पछिल्लो मुलुक हो, जहाँ जातीय पहिचानको मुद्दाले चिहानजस्तो बनिसकेको छ सुडान । यतिबेलाको राष्ट्रिय चिन्ता र चिन्तनको विषय बनेको छ । खानपुग्ने, प्रगतिशील सुडान १७ वर्षमै खरानीमात्र भएन, १५ लाख सुडानीले ज्यान गुमाइसकेको छन् । पहिचानको नाममा हुने हिंसा र अराजकता कति खतरनाक हुनेरहेछ । एक सुडान सुडान र दक्षिण सुडान बन्यो, तैपनि शान्ति आउन सकेन । ६० भाषाभाषीको सुडान पहिले दुई जातिवीच झगडा भयो, पछि देशै नाङ्गो हुनपुग्यो । चेतौं हामी ।
नेपाल हिमाल पहाड तराई तीन भागमा बिभाजित छ । यहाँ अनेक जाति छन्, हुने र हुँदा खानेवीचको डरलाग्दो खाडल बनिसकेको छ । तर सबैको एउटै पहिचान हो नेपाली । प्रत्येक नेपालीको घर नेपाल हो, राष्ट्रिय पहिचान नेपाली । तर राजनीतिमा अपराधिकरण हुनपुगेको छ, राजनीतिले राष्ट्रिय चरित्र गुमाएको छ, कुनै पनि नेता स्वार्थको बन्दी बनेको छ । उसका लागि नीति, नैतिकता, राष्ट्रिय पहिचान, चरित्रभन्दा महत्वपूर्ण सत्ता र शक्ति हुनपुगेको छ । राष्ट्रको बागद्वाररूपी राजनीति नै जब स्वार्थकेन्द्रित छ, त्यो राष्ट्रमा जातीय द्वन्द्व उठाइनु स्वभाविक हो । आजसम्म नेपाली एक छन्, यो एकता र राष्ट्रिय पहिचानलाई खण्डित गरेर अराजकताको आगो सल्काउने तत्व सकृय देखिन्छ । यो तत्वलाई राजनीतिक दलले नै पालित पोषित गरेकाले यो खतरा झन डरलाग्दो हुनपुगेको छ ।
भारतको मणिपुरमा जातीय हिंसा बढेको छ र त्यो बिकराल समस्या बन्दैछ । श्रीलंकामा पनि जातीय कारणले नै आतंकवादले टाउको उठाउन थालेको छ । जम्मा दुई सिंहली र तमिल जाति छन् तर तमिलको सशस्त्र विद्रोह पहिचानको मुद्दा हो भने श्रीलंकामा यो बिबादले ठूलो क्षति भइसकेको छ । अहिले यो बिबाद सतहमा टुंगिएको छ, भित्रभित्रै तातेकै अवस्थमा छ भनिन्छ । जातीय पार्टी नै सत्तामा छन् । द्वन्द्व र हिंसाले जुन क्ष्ति भयो, त्यसको परिपूर्ति हुनसक्ने अवस्था छैन ।
भारतमा हरेक दिनजसो जातीय र धार्मिक झगडा हुनेगर्छ । धनजनको क्षति पनि भइरहेकै छ । जातीय र धर्मका नाममा हुने हिंसा कुनै पनि हालतमा देश र जनताको हितमा हुन्न भन्ने प्रष्ट भइसके पनि राजनीतिकै नाममा जातीय र धार्मिक बिबादहरू झिक्ने र जनता जनतालाई लडाउने कार्य हुनेगर्छ । नेपाल बहुजातीय, बहुधार्मिक भइकन पनि मिलेर बसेका छन् । यो विशेषता विश्वमा दुर्लभ छ । तर आन्तरिक राजनीति र बाह्य शक्तिको चलखेल भइदिंदा र नेपालको सत्ताले समदूरीको नीति अख्तियार गर्न नसक्दा बिबादहरू बेलाबेलामा बढ्छन् । अचम्म त के छ भने धार्मिक अथवा जातीय बिबाद भयो कि केही समयमा तिनै समूह शान्ति र भातृत्वका लागि आह्वान गरेर जनप्रदर्शन समेत गर्ने गर्छन् । विश्वघटनाक्रम र अनेक उदाहरण बुझेर चेतना फैलाउन जरूरी छ कि राष्ट्रिय पहिचानलाई तलबितल हुनदिनुहुन्न । राष्ट्रिय पहिचानभित्र नै जातीय पहिचान अन्तर्निहित हुन्छ । सबै जातिको समष्टि नै राष्ट्रिय पहिचान हो । राष्ट्रिय पहिचानको जगर्ना गरौं ।