
लामो समय भयो, वर्तमान पुस्ताले सत्तामा ढलीमली गरेको छ । सिंहदरवार र शितलनिवासमा रजगज गरेको । यिनले कुन आशा र विश्वास दिलाएर सत्तामा पुगेका थिए, परिवर्तन गरेका थिए । यिनले ती आशा र विश्वासलाई आफैले कसरी कुल्चिए । परिवर्तनबाट देश र जनताले के पाए ? जे दिन्छु भनेका थिए, लामो समय सत्तामा रहेकाहरूले किन दिन सकेनन् ? किन अपराधीजसरी जनताको आँखासँग आँखा छलेर सुरक्षाघेरामा सुरक्षित भएको नाटक गरिरहेका छन् । यिनको आत्मालाई थाहा छ, जनता खुशी छैनन् । देशमाथि धोका दिएकै हो । जनताले विश्वास दिए, जनबल दिए, त्यसको दुरूपयोग गरेकै हो । आफूले आफ्नँै आत्मा ढाट्न नसक्नेहरू आज पनि सत्तामा छन् । जसरी सिक्किमका लेण्डुपले जनताको घृणामा जीवनका अन्तिम दिनहरू गुजारे र जनताको घृणा इतिहासमा कालोधब्बा बनेर रहेको छ, त्यसतिर नेपाली नेतृत्वको ध्यान नजानु यिनको दुर्भाग्य हो ।
नेतृत्वमा पुगेपछि इतिहास रच्नुपर्छ । कीर्ति छाड्नुपर्छ । पुस्तौंपुस्ताका लागि उदाहरण बन्नसक्नुपर्छ । वर्तमानमा सराप बनेका र भविष्यका लागि सारप बनेर बाँच्नु भनेको जिउँदैमा पलपल मर्नु र मरेपछि पनि मरिरहनु हो । राजनीतिले बाँच्न सिकाउनु पर्ने हो, हाम्रा नेताहरू जनताको नजरमा बाँच्दैमा मरेका छन्, मरेर पनि मरिरहने छन् । किन यसरी कलंकित हुन आतुरता देखाएका होलान् ?
बुढोपुस्ता अर्थात जो ०४६ सालदेखि सत्तामा छ, देश हाँकिरहेको छ, असफल भयो । बुढोपुस्ता असफल भएकोमा कुनै सन्देह छैन । बुढोपुस्ता अझै सत्तामा छ, लोकतन्त्र र परिवर्तनको गुड्डी हाँकिरहेको छ । गुड्डी हाँकेर देशमा सुशासन हुने होइन रहेछ । सुशासनका लागि चरित्र चाहिन्छ । बुढोपुस्ता यति गनाइसक्यो कि चरित्रहीन भएको छ । राजनीतिमा धर्म हुन्छ, यसकारण सबै नीतिहरूको राजा मानिन्छ । देशमा भइरहेको राजतन्त्र र हिन्दुराष्ट्र फालियो, किन फालियो ? यसको समुचित जवाफ कसैले दिएका छैनन्, औचित्य पुष्टि गर्न सकेका छैनन् । परिवर्तन भयो, नयाँ नेपाल बनाउने भन्नेहरू १८ वर्षदेखि भएको नेपाललाई सिध्याउने कर्म गरिरहेका छन् । राजनीति धर्म होइन, अपराधकर्म हुनपुगेको छ । परिवर्तनले दिनुपर्ने सुशासन हो, नीति, सिद्धान्त र नैतिकताको उदाहरण हो । यी सबै कुरामा बुढोपुस्ता पूर्णतः असफल भएको छ । न नीति रह्यो, न सिद्धान्त । न नैतिकता नेतृत्वमा देखियो, न सुशासन नै दिन सके । कुशासनको रोग यति क्रोनिक भइसक्यो कि सुधार गर्न नसके देशलाई नै समाप्त पारिदिने खतरा ह्वात्तै बढेर गएको अनुभूत हुँदैछ ।
युवापुस्ता विदेश पलायन हुन दौडादौड गरिरहेका छन् । यथार्थ के हो भने बुढोपुस्ता असफल भइसकेपछि युवापुस्तालाई असफल हुने छुट हुँदैन । जो विदेश पलायन भइरहेका छन्, उनीहरू फर्कनुपर्छ । जो विदेश जान आतूरता देखाइरहेका छन्, तिनीहरू थामिनुपर्छ । जो युवा राजनीति र समाजमा योग्य छन्, तिनीहरूलाई असफल हुनेछुट छैन । ती युवाजमात जो जता हुन्, नेपाली हुन् र तिनीहरूले आफ्नो योग्यता देखाउनैपर्छ । कतिपय युवाहरू आफ्नो योग्यता देखाइरहेका छन्, आफ्नो जागरूकता प्रदर्शन गरिरहेका छन् । यो खुशीको कुरा हो । जो युवा योग्य छन्, तिनलाई नेपालको इतिहास थाहा छ, भूगोल बुझेका छन् । कुन दुःखले यो मुलुक आर्जेको हो, राम्ररी इतिहास पढेका छन् । देशको भविष्य भनेका यिनै युवा हुन् । यिनैले आफूपछिको पुस्तालाई पनि योग्य बनाउनुपर्छ । बुढोपुस्तालाई थन्क्याएर देशको नेतृत्व लिने तत्परता देखाउनुपर्छ । बुढो पुस्ताले यिनै युवापुस्तालाई सत्ता हस्तान्तरण गरेर बिराम लिनुपर्छ । हिजो साबुत नेपाल थियो, आज संकटमा फसेको र भूगोल च्यातिन थालेको छ । युवा पुस्ताले भएको नेपाललाई बुझेर आगामी पुस्ताका लागि ठिकठाक पारेको राष्ट्र बुझाउने दायित्व निर्वहन गर्नुपर्छ । यही ऐतिहासिक दायित्वले वर्तमान युवाजमातको योग्यता प्रमाणित गर्नेछ ।