Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

प्रकृति लम्साल मारिएपछि

१३ मंगलबार , फाल्गुण २०८१एक महिना अगाडि

प्रकृति लम्साल मारिएपछि

    भारतको एउटै विश्वविद्यालय Kalinga Institute of Industrial Technology (KIIT) University मा झण्डै १२ सय नेपाली विद्यार्थी पढ्ने विषयले आश्चर्यमा पारेको छ । जब त्यस विश्वविद्यालयमा पढ्ने छात्रा प्रकृति लम्साललाई अपराधिक तरिकाले मारियो, नेपाली विद्यार्थीहरूको अपमान गरियो, गार्डले समेत कुटेको घटना सार्वजनिक भयो, त्यसपछि भारतमा नेपाली विद्यार्थीको कुन हविगत रहेछ भन्ने स्पष्ट हुनपुगेको छ ।
    यो घटनाले भारतको विदेश मन्त्रालय हर्कतमा आएको छ, नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिने र घटनाको स्वच्छ छानबिन गराउने आश्वासन दिएको छ । विश्वविद्यालयका पदाधिकारीहरू हात जोडेर माफी मागिरहेका छन्, संस्थापक अच्युत सामन्तले विश्वविद्यालय शान्त छ, कक्षामा आउनुस् भनेर आह्वान गरिरहेका छन् । भारतको संसदमा कुरा उठेको छ, नेपालको सडकमा आन्दोलन भइरहेको छ भने नेपाल फर्केका विद्यार्थीहरूले कालो मास्क लगाएर पत्रकार सम्मेलन गर्दै आफूमाथि भएका अत्याचार भनिरहेका छन् र प्रधानमन्त्रीले भेटेर कुरा सुन्नुपर्ने र अन्य विश्वविद्यालयमा स्थानान्तरणको पहल गरिदिनुपर्ने माँग गरेका छन् । शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले मात्र होइन, दिल्लीस्थित नेपाली दूतावासले समेत आफ्नो कर्तव्य निर्वाह गर्न सकेका छैनन्, जिम्मेवारी बहन गर्न सकेनन् ।
    बुद्धिजीवीहरूको टिप्पणी छ– कतिपय नेपाली नेताहरूले दुई देशको सम्बन्ध रोटी–बेटीको छ, भनेर दाबी गरिरहेका बीच इण्डिया नेपालीका लागि दिनप्रतिदिन असुरक्षित र खतरा बन्दैछ ।  पछिल्लोपटक उडिसामा नेपाली विद्यार्थी माथि भएको अत्याचारपूर्ण अपराधिक ब्यवहारले थप पुष्टि गरेको छ । अर्काथरि बुद्धिजीवी भन्छन्– समस्या समाधान भयो, प्रकृति लम्सालको शव ल्याएर सद्गत् पनि भइसकेको छ, घटनाको छानबिन भइरहेको छ भनेका छन् ।
    यथार्थमा समस्या बल्झिएको छ । झण्डै १२ सय नेपाली युवा पढ्ने संस्थामा ६० जनाजति कक्षामा फर्किएका छन् । ९० प्रतिशत विद्यार्थी थरथर काम्दै नेपाल फर्केको अवस्था छ । नेपाल फर्किएका विद्यार्थीको एउटै गुनासो छ– कुनै पनि नेपाली विद्यार्थी सुरक्षित छैनन्, हामीलाई अर्कै विश्वविद्यालयमा सर्ने वातावरण बनाइदिनुपर्छ । विद्यार्थीका यस्ता गुनासोलाई शिक्षा मन्त्रालयले सुनेको छैन । परराष्ट्र मन्त्रालयले माखो मारेको छैन, समस्याका विषयमा कुरा भइरहेको छ मात्र भनिरहेको छ ।
    स्थितिलाई साम्य पार्नका लागि किट विश्वविद्यालयले प्रकृति लम्सालका नाममा छात्रबृत्तिसमेत स्थापना गरिसकेको छ । संस्थापकले स्थिति साम्य पार्न मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, खानेपाी मन्त्री प्रदीप यादव, गृह सचिव कपिल शर्मा अधिकारीलाई भेटेर विद्यार्थीको सुरक्षाको पुख्ता सुधार गरिसकेकाले कक्षाकोठामा पठाइदिन गुहार गरिरहेका छन् । शिक्षा मन्त्रालयले सम्बन्धन रोक्न सकिन्छ भनिरहेको छ, रोकेको छैन ।
    यो घटनाले भारतमा काम गर्न, पढ्न, उपचार गर्न, व्यापार र अन्य कामका लागि भारत जाने नेपालीको अवस्था कतिसम्म डरलाग्दो छ भन्ने प्रष्ट पारेको छ । यति हुँदा पनि भारतले सीमा र सहरहरूमा नेपालीप्रति गरिने दुव्र्यवहार रोक्ने विषयमा भारत सरकारले नेपाललाई आश्वस्त पार्ने कर्तव्य सम्झेको छैन ।