
दिल्लीको चुनावमा आमआदमी पार्टीले बहुमत गुमायो, जनताले अरविन्द केजरीवालको पार्टीलाई इन्कार गरिदिए । नयाँ युवा प्रवेश वर्माले केजरीवाललाई चुनावमा हराए । यो चुनावले लोकप्रियतावाद र अरूको आलोचना, विरोध गरेर मात्र संधै जनताको मन जित्न सकिंदैन, यसको लागि आफै निश्कलंक पनि हुनुपर्दछ भन्ने शिक्षा दिएको अर्थमा हेरिएको छ । दिल्लीको चुनावलाई नेपालको रास्वपा र यसका अध्यक्ष रवि लामिछानेलाई जोडेर हेरिएको छ । जुन गति अरविन्द केजरीवालको थियो, जुन भ्रष्टाचारको आरोप केजरीवालमाथि लागेको थियो, रवि लामिछानेमाथि पनि भ्रष्टाचारकै, संगठित अपराधकै, सहकारी ठगकै आरोप लागेको छ । रवि लामिछाने अदालतको चक्कर र छानबिनको दायरामै छन् । अब दिल्लीमा आम जनता पार्टी र नेपालमा रास्वपा समाप्त हुने बताइँदैछ ।
अहंकारले पतन हुन्छ भन्ने सन्देश हो यो । नेपालका नयाँ दलहरूले सिक्नुपर्ने धेरै कुरा छन् । अन्यता पतनमार्ग टाढा नहुनेरहेछ भन्ने देखिएको छ ।
केजरीवालले हिन्दुधर्मप्रति निकै विष वमन गरेका थिए । जनताको विश्वासको मत लिएर जनविश्वासको अपमान गर्नेको हालत कस्तो हुन्छ, त्यो दिल्लीको चुनावले देखाएको छ । हुन त दिल्लीको सन्देश सबै दललाई हो । तर नेपालमा ठूला दलहरू जनताको आँखामा भ्रम छरेर सत्ता चलाइरहेका छन् । ठूला ठूला भ्रष्टाचारका काण्डलाई ठूला पार्टीले पार्टीको झण्डाले गनाउने नाली छोपेझैं छोपेका छन् । नाली नाली नै हो, भाइरस भाइरस नै हो । जति छोपे पनि दुर्गन्ध फैलन्छ नै, भाइरसले रोगब्याधी बढाउँछ नै । ठूला पार्टीहरू भित्रभित्रै दुर्गन्धित भएर गलित हुँदैछन् । आमनागरिकले ठूला दल र स्थापित नेताहरूलाई उभिएको जमिन देखाइदिने बेला भइसकेको छ । फरक यत्ति छ, जनताको आक्रोशले ०८४ को चुनावसम्म पर्खन्छन् कि जनविद्रोहले गति लिएर अहिले नै नेताहरूलाई दण्डित गर्ने हुन् ?
जनतालाई हेप्ने र शोषण गर्नेहरू न त अफगानिस्तान, न श्रीलंका अथवा न त बंगलादेशमै टिक्न सके । जनताले आफ्नो अपेक्षा पूरा भएको हेर्न भोग्न खोज्छन्, जब आफू अपमानित भएको र आफ्नो मतको अबमान्ना भएको बुझ्छन्, त्यतिबेला जनताले बिद्रोह गर्नु स्वभाविक हो । समय र जनताको मन उस्तै हुन्छ, बुझ्न सकेराजनीति हो, बुझ्न नसके पतनमार्ग हुनेछ । नेपालमा परिवर्तन भयो, राजतन्त्र फालियो, हिन्दुधर्म मिल्काइयो, नयाँ नेपाल बनाउने, समानता दिने, सुशासन हुने विश्वास दिलाउनेहरू सबै भ्रष्ट र अनैतिक बनेका छन् । नेताहरू नै भन्न थालेका छन् कि नेता देख्यो कि जनता कुन चोर आयो भन्छन् । अर्थात् जनतामा नेतृत्वप्रति कतिसम्म घृणा फैलिसकेछ भन्ने उदाहरण हो यो । यति हुँदा पनि नेतृत्व चेत्दैनन् र अझै देश र जनतामाथि भार बनेर नैतिकहीनता देखाइरहन्छन् भने उनीहरूले चाँडै नै जनताको आवेगसँग मुकाविला गर्नुपर्नेछ । जब जनता आवेगमा आउनेछन्, त्यो भनेको राजनीतिक सुनामी हो । राजनीतिक सुनामी आएपछि नेताहरू को कता पुग्छन्, को कुन किनारामा मिल्किन्छन् भन्न सकिन्न । यसकारण नेतृत्वले समयमै चेत हुनु बुद्धिमानी हुनेछ । जनताको घृणा बोकेर कुनै नेता लामो समय राजनीतिमा बच्न सक्दैन । सिक्किमका लेण्डुप दोर्जी भ्रष्ट र राष्ट्रघाती भएकै कारण जनताको घृणाको भेलमा परे, जीवनको उत्तराद्र्ध आत्मपीडा बोकेर मर्नुप¥यो । नेपाली नेताहरू पनि जनघाती र राष्ट्रघाती भन्ने आरोपबाट कलंकित छन् । यो कलंक धुने समय छ, नधुनु र अहंकारमा बाँच्नु भनेको राजनीतिक मृत्यु निकट हुनु हो ।
राजनीति समाज बदल्ने नीति हो । नेपालमा परिवर्तन भयो, परिवर्तनका नेतृत्वकर्ताहरूले आफू र आफन्तलाई बदले । समाजलाई भ्रष्टाचार, नीतिहीनता, नैतिकपतनको मार्ग देखाए । राजनीतिलाई अपराधिकरण गरेर लोकतन्त्रको बदनाम गरिदिए । जनता लोकतन्त्र लोकतन्त्र भनेर पर्खिरहेका छन्, नेतृत्वले लोकतन्त्रलाई लुटतन्त्र बनाइदिए । १८ वर्षसम्म पनि नेतृत्व सच्चिएन । नेतृत्व अहिले पनि जनता र देशका लागि भार बनेका छन् । साधक बन्नुपर्ने बाधक बनेपछि तिनले बेहोर्ने आमनागरिकको घृणा नै हो । स्वार्थी केही कार्यकर्ताको जयजयकारलाई प्रशंसा ठानेर बस्नु भनेको इम्परर न्यूक्लोथको कथाका नाङ्गा राजाजस्तै हो । यो भ्रमबाट निस्कन सकेनन् भने यो पद्धति र यो नेतृत्वपंक्ति छिटै दण्डित हुनेछन्, चेतना रहोस् ।