Advertisement Banner
Advertisement Banner

२९ आइतबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

तस्करतन्त्रको जालोमा लोकतन्त्र

१३ सोमबार , बैशाख २०७३१० बर्ष अगाडि

माकुराको जालोमा किरा मर्छन, तस्करतन्त्रको जालोमा जनता मर्छन् र देशको अर्थतन्त्र र देश मर्छ। नेपालमा ठूला पार्टीहरुको जालो छ, ठूला पार्टीहरुसँग मिलेर तस्करतन्त्रको झन कडा जालो फैलिएको छ। कमिशनखोर र भ्रष्टाचारीहरुको जालो त फालिसाध्य छैन। लोकतन्त्रमा यसरी जालैजालोमा फसेको मुलुकको शान्ति, स्थिरता, विकास र सुशासन स्यालको सिङ हराएजस्तो अवस्थामा छ। जता हेर्‍यो, उतै कालो छ, कालो जालो छ, उज्यालो कतै छैन। 

नाकावन्दीमा रातारात कालोबजारी चम्काएर हजारिया लखपति, लखपति करोडपति र करोडपति अरवपति बन्न सफल भए। यो कालोबजारमा राजनीतिक कार्यकताले सकेसम्मको फाइदा उठाए, कर्मचारी र सुरक्षा निकाय पनि मुछिए। सम्भ्रान्त परिवारदेखि बिगहाउसम्मका उद्यमी र व्यापारीसमेत कालोबजारीबाट मालामाल बने। अख्तियारले यी सबै देख्यो, नियन्त्रण गर्न सकेन। राज्यलाई थाहा छ, रोक्न सकेन। परराष्ट्र, गरिवीनिवारण उपप्रधानमन्त्रीद्वयले तस्कर र कालाबजारियाले समेत नाकावन्दीलाई सघाए, तिनै तस्कर र कालाबजारियाले अहिले पनि ग्यास, पेट्रोल, डिजलको हाहाकार गराइरहेका छन् भनेर आरोप लगाए तर सिङ्गो ओली सरकार हाँसेर तस्कर र कालाबजारियालाई सघाइरहेको छ। मन्त्री, सचिव र सुरक्षा निकायसमेत संलग्न भएको प्रमाणित भइसक्यो, माकुराको जालोमा झिंगा मारिएझैं तस्करतन्त्रको जालामा जनता मरिरहेका छन्। यथार्थमा यो जनता मरेका होइनन्, लोकतन्त्र मरिरहेको छ। प्रधानमन्त्री ओली भन्छन्: यो सरकार बम्पर उपहार होइन। उनको भनाईको अर्थ बहुमतको विश्वासमा बनेको सार्वभौम र शक्तिशाली लोकतान्त्रिक सरकार हो।

होला, तर जनताको विश्वासमा सरकार कहाँ छ? लोकतन्त्रका बिधि, गरिमा र महिमामा लोकतन्त्रको मात्रा छ कि छैन? लोकतन्त्रमा लोक आश्वस्त हुनुपर्छ, ओली शासनमा लोक किन निसास्सिरहेका छन्। लोक धारे हात लगाएर सरकारलाई सत्तोसराप गरिरहेका छन्। ओली सरकार सिंहदरवारमा होला, एमाले कार्यालयमा होला, सत्ताधारी दलका कार्यकर्ताहरुमा होला तर न्यायमा छैन, लोकका आँखामा छैन, सुशासन र समानतामा छैन। योग्यताको कदरमा पनि छैन। ओली सरकार छ भन्ने अनुभूति आमनागरिकमा छैन। यस्तो सरकार बम्पर उपहार होइन भनेर गुड्डी हाँक्नुको अर्थ छैन। यथार्थमा यो सरकार सिण्डिकेट सरकार हो। टालाटुली बटुली भन्ने पुतलीको खेल सरकार हो।