
शान्ति र स्थिरता आएन । लोकतन्त्रको बिकल्प छैन, लोकतन्त्र हाँक्नेहरू असक्षम साबित भए । अब त पद्धतिमाथि नै प्रश्न उठेको छ । ८ कक्षा पढेका प्रधानमन्त्री, दशकक्षा पढेका अर्थमन्त्री, टुप्पाबाट पलाएका नेतापत्नी परराष्ट्रमन्त्री, असक्षम व्यक्ति गृहमन्त्री भएको देशमा अवस्था बिग्रनु स्वभाविक हो । देशको हैसियत आन्तरिक रूपमामात्र होइन, बाह्य जगमा समेत हलुका बनेको छ । सिद्धान्ततः ०१७ सालको परिवर्तनको बिरोध गर्नेले समेत व्यवहारिक रूपमा त्यो परिवर्तन सही थियो भन्न थाल्नुको अन्तर्य बहुदल र लोकतन्त्रको असफलतापछि झन प्रष्ट हुनथालेको छ । यही अवस्था हेर्दा लाग्छ, वर्तमान बुढोपुस्तापछि देशको भार बोक्नसक्ने पुस्ता तैयार भएकै छैन । नेतृत्व त देशभित्रैबाट आउने हो तर त्यो नेतृत्व अगाडि देखिन समय लाग्ने भयो । नयाँ नेतृत्व तैयार हुन्जेल देशको अवस्था के हुने हो, कतै नेपालीत्व नै मटियामेट भइसक्ने त होइन ? अवस्था पेचिलो छ ।
१९७५ मा सिक्किमको स्वतन्त्र अस्तित्वको समाप्ति देखेका राजनीतिक दलहरूले नेपालमा त्यस्तै द्वन्द्वहरू सिर्जना गरिरहेका छन् । बुझेर बुझ पचाउनु र निदाएको बहाना गरेर आँखा चिम्लनु भनेको मृत्युको घण्टालाई निम्त्याउनु हो । अरू कुनै बाधाअड्चन छैन, केही छ भने राजनीतिक दलहरूको सत्तालोलुपता, हानाथाप र कुत्सित आकांक्षाको उवालमात्र छ । त्यही अलोकतान्त्रिक र नैतिकहीन चरित्रका कारणले राष्ट्रमा अव्यवस्था, विभाजन र बिखण्डनको बाढी उर्लन थालेको देखिदैछ । जुन परिवर्तन र नेतृत्वबाट लोकले शान्ति, समृद्धि, स्थिरता र विकास भनेर अपेक्षा गरिएका लोकतान्त्रिक नेताहरूको नैतिकहीनता, अलोकतान्त्रिक, गलत क्रियाकलापबाट प्रताडनामात्र पाइरहेका छन् । यो प्रताडना नेताहरूको अकर्मण्यता हो । लोक नेतृत्वको कमीकमजोरी, अपराधलाई सहिरहेका छन्, बेहोरिरहेका छन् ।
१९७५ को सिक्किमको समाप्ति र १९६१ को पाकिस्तानको बिभाजन देखेका राजनीतिक दलहरू इतिहासबाट चेतेनन् । इतिहासबाट शिक्षा नलिनेहरू डाँडामा पुगेर अड्न सक्दैनन् । कुनै पनि बेला डाँडाबाट खस्ने खतरामा हुन्छन् । नेतृत्वकै स्वार्थ रचरित्रहीन अदूरदर्शीपनका कारण नेपाल त्यस्तै डाँडामा पुगेर खस्ने खतरामा छ । नेताहरूलाई हेक्का छैन, बुझेर बुझ पचाउनु र निदाएको बहाना गरेर आँखा चिम्लनु भनेको मृत्युको घण्टालाई निम्त्याउनु हो । एकछत्र राज गर्न पाउँदा पनि दल र नेताहरू आपसमा साँढेजुधाइ खेलिरहेका छन् । यिनको सत्तालोलुपता, हानाथाप र कुत्सित आकांक्षाको उवालले यिनको विश्वास समाप्त भइसकेको छ ।
चुनाव जित्नु क्षमतावान हुनु होइन । चुनाव पैसाले जितिन्छ, भ्रमित पार्ने खुवीले जितिन्छ । जातीय, धार्मिक प्रभावले जितिन्छ । सत्ताको दुरूपयोगले जितिन्छ । पार्टीका कार्यकर्ता, सिद्धान्तहीन गठन्धनले जितिन्छ । चुनाव जित्दैमा त्यो नेता काविल हुन्छ भन्ने गल्तीकै कारण नेपालमा लोकतन्त्रजस्तो व्यवस्था असफल भएको छ । व्यक्ति असफल हुनसक्छ, पद्धति असफल हुनुहुन्नथ्यो । नेताहरूको गलत सोचकै कारणले व्यवस्था लथालिङ्ग हुनपुगेको छ । व्यवस्थाको यो बेहालकै कारणले संविधान धरापमा प¥यो । संविधान धरापमा पर्नु भनेको विधिको शासनको समाप्ति हुनु हो । विधिमा जनविश्वास हटे पछि बाँकी के रहन्छ र ?
नेपाल संकटमा छ । सुरसाको जस्तो अराजकताको मुखमा छ । यो अवस्थाबाट पार लगाउन र नेपालीत्वको जगेर्ना गर्नका लागि युवा नेतृत्व आउनैपर्छ । कांग्रेसका देउवा, एमालेका ओली र माओवादीका प्रचण्डजस्ता बुढोपुस्ताको समय सकियो । उनीहरूले देशलाई केही दिन्छन् भन्ने जनआश पनि मरिसक्यो । उनीहरूपछि को त ? कुन युवा अगाडि आउँछन् र देश र जनतालाई जागृत पारेर लैजालान् ? जता हेरे पनि अँध्यारो छ । लामो समय भयो, देश र जनताले धेरै कुरा गुमाइसके । छिटोभन्दा छिटो युवापुस्ता अगाडि आउनुपर्छ र क्षमता देखाउनुपर्छ । निराश समाजलाई समयमै उत्साहित पार्नुपर्छ । अबेर नगर्नु नै बुद्धिमानी हुनेछ ।