बुद्धको देशमा आएको, ल्याएको लोकतन्त्र सक्नेले लुट्ने, नसक्नेले कुट्ने र स्वार्थशिद्ध गर्ने, यस्तै देखियो लोकतन्त्र । ठाडो शब्दमा भन्ने हो भने यो लोकतन्त्रको नाममा भाँडतन्त्र हो । अराजकतन्त्र हो । यो तन्त्रमा शान्ति, समृद्धि, समानता, बिधिको शासन भन्ने रहेन । बिधिलाई नङ्ग्याउने छाडातन्त्र भयो यो ।
सुरूमा प्रधानमन्त्री, ठूला नेतालाई झापड हानियो, जुत्ता प्रहार गरियो । यसपछि सुरू भयो कालोमोसो दल्ने अभियान । गुरूलाई, भनेको नमान्नेलाई कालोमोसो दलियो । अनि सुरू भयो कुट्ने र लुट्ने अभियान । सत्ता र शक्तिमा रहेकाले लुट्नुसम्म लुटे, लुट्ने अभियान जारी छ । सत्ताइतरकाले पत्रकार कुट्ने, डाक्टर, वकिल कुट्ने, इन्जिनियर, शिक्षक, प्राध्यापक कुट्ने काम भइरहेको छ । लोकतन्त्र अनुशासन र विधिले चल्ने चलाउने व्यवस्था हो । नेपालमा आफू अनुशासनहीन बनेका नेताले समाजमा असहिष्णुता फैलाएका छन् । एकातिर साइबर सेना, अर्कोतिर अराजक भीड, त्यसमाथि असहिष्णु जमातको उत्पादन । जसरी लोकतन्त्र ल्याइयो, लोकतन्त्र चलाइयो, त्यसैको परिणाम हो, समाजमा अराजकताको वातावरण । जे रोपिन्छ, त्यही फल्ने हो । सिस्नो रोपियो, धान फल्ने कुरै थिएन, फलेन । बाहुबलीतन्त्रले देखाउने गुण्डागर्दी हो । बिभेद, निषेध र बदलाको भावना हो । समाजमा त्यस्तै घटनाक्रम बढेर गएका छन् । राजनीति राजनीतिजस्तो रहेन ।
राजनीतिमा अपराध मिसियो । बागमतीमा राजधानीवासीले ढल मिसाएर बागमतीलाई ढलमती बनाएझैं नेताहरूले अमृतमा विष मिसिनु र राजनीतिमा अपराध मिसिनु उस्तै बनाए । शासन, प्रशासन र समाजलाई विषालु बनाउँदै लगेका छन् । शान्ति, समृद्धि र सुशासन दिन्छु भन्नेहरूले स्वार्थशिद्धिलाई प्राथमिकता दिएका कारणले देश प्रदूषणयुक्त बन्दै गएको छ । यही प्रदूषणले संविधान असफल भइसक्यो, पद्धति असफल भइसक्यो । आमनागरिकमा आक्रोश बढेर गएको छ । यतिबेला अमेरिकाको लस एन्जेलसको जंगलमा जसरी महिनौंदेखि डढेलोले वनका जीवनजन्तु, मानिसका जीवनयापनलाई खरानी बनाइरहेको छ । त्यसैगरी नेपालको लोकतन्त्रले नेपालीको जनजीवनलाई अस्तव्यस्त र ध्वस्त बनाइरहेको छ ।
आमनागरिकलाई पार्टी पार्टीमा विभाजन गर्ने, नेता नेताको गुटबाजीमा परिणत गर्ने, यो भनेको गुण्डातन्त्र हो । गुण्डाराजमा हुने अराजकता नै हो । गुण्डाराजमा विधिको शासन हुनसक्दैन । गुण्डाराजमा हुने मत्स्य न्याय नै हो । नेपालमा बहुदलपछिको ३५ वर्ष र लोकतन्त्रपछिको १८ वर्षमा मत्स्य न्याय ह्वात्तै बढेको छ ।
राजनीतिमा एकले अर्कोलाई खुइल्याउने, स्वार्थ मिल्यो भने गला मिलाउने काम भइरहेको छ । कुनै दल दलजस्तो छैनन् । कुनै दल वा नेतामा सिद्धान्त, नीति र निष्ठा बाँकी छैन । असैद्धान्तिक गठबन्धन स्वार्थशिद्धका मान्यता बनेका छन् । जब सिद्धान्त र आचरण बाँकी रहन्न, त्यस्तो राजनीति भनेको बागमती मिसिएको ढलमतीजस्तै हो । जहाँ जीवन बाँच्ने अक्सिजन हुँदैन । जहाँ जीवन फल्नेफुल्ने कुनै वातावरण नै बाँकी रहन्न । जसरी मौसम परिवर्तनका कारणले हिमाल समेत कालाम्मे भइरहेको छ, नेताहरूको नैतिकहीनताले राजनीति कलंकित भएको छ । कलंकित राजनीति सुशासन दिन सक्दैन, जनताको विश्वास जित्न सक्दैन । कलंकित राजनीति भनेको घृणास्पद हुन्छ । नेपालमा लोकतन्त्र र नेताहरूको असहिष्णु व्यवहार, चरित्र लोकको घृणा बनेको छ । यो घृणाले जन्माउने जनविद्रोह हो । जनविद्रोहका आगोका फिलिङ्गाहरू देखिन थालिसकेका छन् । समयमै लुट्ने, कुट्ने र विधि मिच्ने कार्य रोकिएन भने, कुनै पनि नेतामाथि जस्तोसुकै अमानवीय घटना घट्न सक्नेछ ।