लुम्बिनी अब छायाँमा रहेन । लुम्बिनीबारे जतिसुकै भ्रम छरे पनि भारत असफल हुनपुगेको छ । दी न्यूयोर्क टाइम्सले सन २०२५ मा घुम्नै पर्ने विश्वका ५२ स्थानको सूचीमा लुम्बिनीको चर्चा सार्वजनिक गरेपछि नयाँ उपलब्धि हुनपुगेको छ । यो सूचीमा लुम्बिनी विश्वमा घुम्नैपर्ने ९औं स्थानमा परेको देखाइएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हो । यही स्थानलाई न्यूयोर्क टाइम्सले यो वर्ष घुम्नैपर्ने ५२ स्थानमध्ये नवौं स्थानमा राखेको हो । नेपालका लागि यो गौरवका विषय हो भने पर्यटन प्रवद्र्धनका लागि ठूलै उपलब्धि पनि हो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई सन् १९९७ देखि संयक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो । सांस्कृतिक, आध्यात्मिक तथा धार्मिक दृष्टिकोणले धनी लुम्बिनी क्षेत्र नेपालको रूपन्देही जिल्लामा अवस्थित छ । नेपालका गौरवको रूपमा रहेको यो पवित्र धार्मिक स्थल देशका राजस्वको प्रमख श्रोत हुनसक्ने संभावना दी न्यूयोर्क टाइम्सको यो प्रचारले झन झन बढेर गएको छ । अझ यस क्षेत्रमा निर्माण भएको अन्तर्राष्ट्रिय विमान स्थल चल्न नसकेको अवस्थालाई समेत यो प्रचारले चिर्ने विश्वास गर्न सकिन्छ । शान्तिको खोजमा रहेका, बौद्ध धर्मावलम्बीहरूको आकर्षणको केन्द्र लुम्बिनी अब आन्तरिक र बाह्य पर्यटनको केन्द्र पनि बन्नसक्ने देखिन्छ ।
लुम्बिनी झण्डै झण्डै खतरामा परिसकेको थियो । लुम्बिनी पारी नक्कली लुब्निी पनि निर्माण गरिएको छ । एयरपोर्ट बनाइसकेको देखिन्छ । यो सबै बुद्ध जन्मथलो नेपालको लुम्बिनीलाई छायाँमा पार्ने साजिस थियो । अझे नेपालले विमानस्थल बनाइसकेपछि रूट नदिएर भारतले निकै दुःख दिइरहेको छ । यसकारण पनि दी न्यूयोर्क टाइम्सले गरिदिएको प्रचार र दिएको महत्वले नेपालको सर्वाङ्गिण विकासमा योगदान पुग्ने देखिन्छ । मुख्य सवाल नेपालको क्षमता र सुशासनको हो । यसमा नेपाल सरकारले बढीभन्दा बढी ध्यान दिनसके, भ्रष्टाचारका कुरालाई रोक्न सक्यो र पर्यटन प्रवद्र्धनमा ध्यान सक्यो भने लुम्बिनी नेपालको कायापलट गर्नसक्ने आर्थिक स्रोत बन्नसक्नेछ ।
लुम्बिनीलाई कसरी भर्जिन रूपमा राख्ने । यहाँ देखिएका वातावरण सन्तुलनमा राख्ने । यहाँ शान्तिसुरक्षाका लागि कसरी गर्नुपर्ने व्यवस्था गर्ने ? आदि विषयहरू मुख्य छन् । लुम्बिनीमा जुनसुकै दृष्टिले देखिने नकारात्मक असरबाट लुम्बिनी विश्व सम्पदा क्षेत्रलाई बचाउने र यो क्षेत्रको विश्वव्यापीरूपमा विशिष्ठ ठहरिएका पुरातात्वीक वस्तुहरूको संरक्षण गर्नु जरूरी छ । अबका दिनमा यस क्षेत्रमा आन्तरिक र बाह्य वासिन्दा, तीर्थयात्री, पर्यटकको व्यापक आवागमन हुने पक्का छ । यस क्षेत्रमा रहेका वन्यजन्तु र वनस्पतिहरू तथा वातावरणीय दृष्टिले मूल्यवान रहेका श्रोतहरू हावा, पानी, माटो, पुरातात्वीक सम्पदा आदिमा सरकारको विशेष ध्यान जानैपर्छ । जति हामीले लुम्बिनीको संरक्षण र विकासमा ध्यान दियौं, जति लुम्बिनीका बारेमा विश्व प्रचारमा जुट्यौं र आउने पर्यटकलाई बढीभन्दा बढी लुम्बिनीमा राख्न सकियो भने नेपालको आर्थिक विकासमा ठूलै फड्को मार्न सकिने अवसर छ ।
अहिले त भारतमा आउने र भारतबाट केही घण्टाका लागि बौद्धमागी लुम्बिनी आएर फर्कने गरेका छन् । यो तालले नेपालको अर्थतन्त्रमा बल पुग्नेछैन । सिधा उडानबाट लुम्बिनी आउने र बढीभन्दा बढी दिन लुम्बिनीमा बसेर सिधै फर्कनसक्ने यात्रु व्यवस्था गर्न सकियो भने लुम्बिनीले विशेष अर्थव्यवस्थाको काम गर्नसक्नेछ । यसकारण पनि दी न्यूयोर्क टाइम्सले जे जस्तो प्रचार गरिदिएको छ, त्यसका लागि धन्यवाद दिनैपर्छ ।