लोकतन्त्र भुइँमान्छेका लागि कौवालाई बेल पाकेसरह भयो । लोकतन्त्र छाप्रोमा पुगेन । लोकतन्त्र स्थापना भएपछि सिंहदरवार घरघरमा पुग्छ भनेर गुड्डी हाँक्नेहरू सिंहदरवारमा बसेर भ्रष्टाचार गर्नमै ब्यस्त छन् । यिनलाई आमनागरिकका लागि लोकतन्त्र सेता हात्ती भएकोमा कुनै चिन्ता छैन ।
भूइँमान्छे हिजो अन्याय र बिभेदमा थिए, आज पनि भोका नाङ्गा जनता अन्याय र बिभेदमा परेका छन् । न्याय पाइन्छ भनेर यस्ता भुइँमान्छेहरूले पटक पटक लोकतन्त्र र लोकनेतालाई मत दिए, तिनले लोकमत र लोकबलको अपमान मात्र गरे । लोकले कहिले पनि लोकतन्त्र देख्न पाएनन् ।
आफू नाङ्गै भएर, भोकै बसेर पनि कर तिरिरहेका छन्, सरकार जिन्दावाद भनिरहेका छन्, चुहिएको छानोबाट भिजेर, पुसे ठण्डीको तुषारो खपेर अब त केही रात पाइन्छ कि भनेर आशा गरिरहेका छन् । तर नेतृत्व, राष्ट्र, राज्यले यिनको पीडा के हो, यिनले खोजेको के हो, यिनका लागि नाना, खाना र छाना दिनुपर्छ भन्ने जिम्मेवारीवोध कहिल्यै गरेनन् । परापूर्वकालदेखि यस्तै गरेर पुर्षाहरू बितिरहेका छन्, तैपनि भुइँमान्छे लोकतन्त्रले सुखानुभूति दिन्छ भनेर पर्खिरहेका छन् । ०४६ सालको बहुदलको आगमनपछि केही होला भन्ठान्नेहरू ०६३ सालको परिवर्तनपछि पनि अब त केही होला भनेर पर्खेकै छन् । नेतृत्वले भुइँमान्छे र देशलाई यति ठूलो अन्याय, राजनीतिक अपराध गरेका छन् कि ती माफीयोग्यसमेत छैनन् । राजनीतिक धर्मछाडाहरूको चेत कहिले खुल्ने हो, कुनै ठेगान छैन ।
शान्ति, समानता र समुन्नति, यही थियो राजनीतिक पार्टीहरूका घोषणापत्र । नेताहरूले चुनावका बेलामा देखाउनु सपना देखाउँछन् । मासुभात खुवाएर भोट लिन्छन्, चुनाव जितेपछि जनतालाई वास्ता गर्दैनन् । सत्ताका लागि नीति, निष्ठा, नैतिकता सबै दाउमा राख्छन् । सर्पले काँचुली फेर्नु र नेताहरूले मान्यता फेर्नु उस्तै हो । स्वार्थका लागि नेताहरू जे पनि गर्न तैयार छन् ।
चरित्र त्यागेपछि शिवरात्रिमा पशुपतिमा देखिने नागाबाबा र हाम्रा नेताहरूमा भिन्नता देखिदैन । यिनले भाषणमा शान्ति, समानता समुन्नति दिने कुरा गर्छन्, व्यवहारमा सिमान्तकृतका अधिकारसमेत खोस्छन्, पैसा देख्यो भने महादेवका पनि तीन नेत्र भनेझैं, कमिशन र भ्रष्टाचारमा डुब्छन् । नेताहरूको अनुहार नालीको भाइरसजस्तो देखिन थालेको छ ।
हिंसा रोकिने र शान्ति आउने कुरा गफ भयो । समुन्नति र समानताका कुरा सपना भयो । विकास र रोजगारीका कुरा चटकेको चटक भयो । कुनै बर्ग पनि खुशी छैन । युवाहरूले देशमा भविष्य देख्न छाडेका छन् । जब युवा विदेशीन्छन्, देश कङ्गाल हुन्छ । नेपाल दिनदिनै कङ्गाल बनिरहेको छ । देश कसरी अघि बढाउने कसैसँग कुनै योजना छैन । नयाँ नेपाल गया नेपाल भयो , अब जनताले नै अर्को परिवर्तनको जग हाल्नुपर्ने देखियो ।