Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

भ्रष्टाचारको पहरो खस्ला ?

१५ सोमबार , पौष २०८१एक बर्ष अगाडि

भ्रष्टाचारको पहरो खस्ला ?

शाही नेपाल वायुसेवा निगमको नामबाट शाही हटाइयो । शाही हटाउने क्रान्तिकारी, अग्रगमनकारीले निगमलाई भ्रष्टाचारको अड्डा बनाए । सरकारी महालेखा परीक्षकको रिपोर्टले भन्यो– वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको छ । यसमा छानबिन समिति बन्यो, चलाख भ्रष्टाचारीहरूले संसदीय छानबिन गठन गर्ने नाटक गरे । नाटकको मञ्चन भयो, भ्रष्टाचारको सुनामीलाई सामसुम पारियो । दबाइयो । भ्रष्टाचार हो, नाली गनायो, नाली गनाएको दुर्गन्ध अमेरिकामा समेत फैलियो ।
जहाज आपूर्ति कर्ताथिजए अमेरिकाको एएआर कर्प कम्पनी । नेपालमा भ्रष्टाचार दबाइए पनि अमेरिकामा दबेन । नेपाल एयरलाइन्सको दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरूलाई घुस दिएको प्रमाणित भएपछि एएआर कर्प कम्पनीलाई अमेरिकी सरकारले ५५ मिलियन डलर (७ अर्ब ४२ करोड रूपैयाँ) दण्ड जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ । घुस खाएर जहाज किन्ने, देश डुबाउने तत्कालीन नेपाल एयरलाइन्सका पदाधिकारी, पर्यटनका मन्त्रीसमेत, कर्मचारी, नेता र नेताका आफन्त व्यापारी र कम्बल ओढेर घ्यू खानेहरूको यतिबेला सातो गएको छ । जहाज खरिद गर्दा घूस खाएको प्रमाणित भइसकेको छ । यो भ्रष्टाचारको लहरो तानिएको छ । पहरो खस्नेवाला छ । नेपालमा यो भ्रष्टाचारलाई टालेर पनि टाल्न नसक्ने, दमपच गराउन नसक्ने स्थिति आइसकेको छ ।
तत्कालीन नेपाल एयरका कार्यकारी सुगत रत्न कंसाकारले सार्वजनिक रूपमै भन्ने गर्थे– निगमले असन बजारमा आलु प्याज किने जसरी सजिलै जहाज किन्न पाउनु पर्छ । उनले सजिलै जहाज किने । जहाजमा यति ठूलो घूसकाण्ड भएको थियो कि महालेखाको प्रतिवेदनलाई प्रभावशाली नेता, सरकारले लुकायो । तर कुहिएको दुर्गन्ध अमेरिकाबाट प्रमाणित भयो ।्
यो जहाज घोटाला काण्डमा नेपाली कांग्रेस, एमाले, माओवादीका नेतामात्र होइन, बिचौलिया तिनका नातेदार र निकटेहरू पनि पर्नेवाला छन् । यो प्रकरणलाई लुकाएर पनि लुकाउन गाह्रो छ किनकि जहाज आपूर्तिकर्ताले घूस दिएको स्वीकारिसकेको स्थिति छ । सवाल यत्ति छ कि घूस खाए कसकसले भन्ने हो ? यसमा जनप्रतिनिधि भनिएका, जनताप्रति जवाफदेही भएकाहरूको बोली फुटिसकेको छैन । संसदको अधिवेशन बोलाइने बेला भइसकेको छ । यही संसदको अधिवेशनमा यसबारे कुरा उठ्नेछ, सडक तात्ने छ र यो काण्डले अन्य भ्रष्टाचारका मुद्दाहरूसमेत उठाउने छ । अब हेर्नु यत्ति छ कि लोकतन्त्र हाँक्ने नेतृत्व भ्रष्टाचारलाई दबाउँदै आएका थिए, घाउ उकल्चिएको छ, यो घाउले कसकसलाई दुःख दिने हो, जेल पु¥याउने हो ?