औषधि खान नपाएर मर्दैछन् सहकारी पीडित
सहकारी पीडित औषधि खान नपाएर, खाना नपाएर, अनेक समस्याको समाधान गर्न नसकेर मर्दैछन् । सहकारी पीडितको बारेमा मानवाधिकारवादी किन बोल्दैनन् ? कहाँ छन् मानवाधिकारवादीहरू ?
६७ करोडभन्दा बढी ठगीधन्दा चलाएको भन्दै रास्वपाका सांसद रवि लामिछानेसहितका व्यक्तिहरू महिनौंदेखि थुनामा छन् । काठमाडौं, पोखरा, चितवन, पर्सामा लगेर बयान लिने काम भयो । अनेक जिल्लाबाट पक्राउ पूर्जी जारी भएका छन् । यथार्थमा देशमा ८७ अर्बको सहकारी ठगी भएको भनिदैछ र अझ रौंचिरा छानबिन गर्ने हो भने ४ खर्बभन्दा बढी सहकारीको रहम अपचलन भएको हुनसक्ने बताइन्छ । सहकारीमा साना बचतकर्तामात्र होइनन, ठूला ठूला बचतकर्तासमेत ठगिएका छन् । हुनसक्छ, ठूला बचतकर्ताहरूले सहकारीमा लुकाउन र बढी ब्याज कमाउन पैसा राखेका होलान् । तर साना बचतकर्ताहरू जसले बिरामी पर्दा उपचारका लागि, बिहानबेलुका खान लाउनका लागि, परिआएको गर्जो टार्नका लागि सहकारीमा निक्षेप राखेका थिए । ती निक्षेपकर्ताको निक्षेप फिर्ता नगरिदिंदा उपचार नपाएर, खान लाउन नपाएर, पीरैपीरले धेरै बचतकर्ताको मृत्यु हुनथालेको छ । रूँदै कराउँदै हिडेका छन्, बचत फिर्ता चाहियो भनेर गुहार लगाइरहेका छन् । ठूला पार्टीहरू राजनीति गरिरहेका छन्, साना पार्टीको कुरा कोही सुन्दैनन् । संसद मौन छ । अरू त अरू मानवाधिकारवादीहरू जो राजनीतिका लागि सिंहदरवार, बालुवाटार, दूतावास घेर्न पुग्थे, सर्वसाधारणको साना साना बचतको बाहुबलीहरूले अपचलन गरेर उडाउँदा बोल्दैनन् । किन ? आमनागरिकको रक्षा, सुरक्षा गर्ने सरकार, नागरिक समाज, संसद, जनप्रतिनिधि र मानवाधिकारवादीहरू कहाँ छन्, के गरिरहेका छन् ? तिनका लागि बोल्न र नागरिक हक रक्षा गर्न पनि मौसम हेर्नुपर्ने, भद्रो मिलाउनु पर्ने हो कि के हो ? होइन भने आफ्नै बचत फिर्ता नपाएर नागरिक मर्न थाले कसैलाई चासो छैन ।
कहाँ छ लोकतन्त्र ? लोक मर्दा नबोल्ने लोकतन्त्र किन चाहियो ?
लोकले शिक्षा, स्वास्थ्यमा ठगिनु प¥यो । समानता र सम्मानबाट ठगिनुप¥यो । शान्तिसुरक्षा पाउन सकेनन् । सुशासन भन्ने कुरा कौवालाई बेल पाकेसरह भयो । समष्टिमा भन्नुपर्दा लोकतन्त्र छ, लोकतन्त्रभित्र लोक छैनन् । लोकतन्त्र लूटतन्त्र बन्यो । हरेक जनताप्रति जवाफदेही हुनुपर्ने निकाय, ब्यक्ति, प्रतिनिधि, शासक गैह्रजिम्मेवार भए । जनताको अवस्था फेर्न सकेन यो व्यवस्थाले, देशको अवस्था लथालिङ्ग बनायो यो व्यवस्थाले । जुन व्यवस्थाप्रति जनआस्था मरेको छ, जुन व्यवस्थाप्रति जनताको अपनत्व छैन, त्यस्तो मूर्दा व्यवस्था बोकिरहनुपर्ने किन ? जुन व्यवस्थाले जनताको आवाज सुन्छ, जिवन्त रहन्छ, त्यस्तो व्यवस्था जरूरी छ । यो लूलो, लङ्गडो, कानो, मूर्दा व्यवस्था भनेको पहिरो हो । यो पहिरोले देशलाई लछार्छ, जनतालाई पछार्छ ।
व्यवस्था विवेकशीलले चलाउनुपर्छ । देश र जनताप्रति आस्थावान र त्याग गर्नसक्ने व्यक्ति हुनुपर्छ । तवमात्र व्यवस्था चल्छ । नाममात्रको लोकतन्त्रले लोकलाई धेरै लुट्यो । देशलाई लुट्यो । जनता भनेका राष्ट्र हुन्, जनताको बचतमा समेत अपचलन गर्ने, बाहुबली चलाउने र जनतालाई रूवाउने, मार्ने व्यवस्था धेरै दिन चल्न सक्दैन । जुन व्यवस्थामा मानवाधिकारवादी, विवेकशील र नागरिक चेतना बोल्दैन र अन्यायको मूकदर्शक साक्षी बन्छन्, त्यो व्यवस्थामात्र होइन, देशमाथि नै घातक अवस्था हो ।