पञ्चायत खराव छ, पञ्चायतले प्रजातन्त्र, मानवाधिकार, समृद्धि सबै सखाप पा¥यो भन्ने भाष्य निर्माण गरेर राजाविरूद्ध आन्दोलन छेडियो । जनमत संग्रहबाट फाल्न नसकेको पञ्चायत ०४६ सालमा भएको युवाको आन्दोलनले फालियो, बहुदल आयो । अब त रामराज्य आउँछ, न्याय पाइन्छ, प्रजातन्त्र पनि आयो, मानवाधिकार र समानता पनि आउने भयो, सुशासन आयो, समृद्धि आउने राजमार्ग खुल्यो भनियो । तर भ्रष्टाचार यसरी बढ्यो कि नेताहरूले नैतिकता नै समाप्त पारिदिए । नैतिक धरातल सकिएका नेताले रामराज्य दिने कुरा थिएन, भ्रष्टाचारराज्यमा मलजल गर्दै गए ।
त्यसपछि नेताहरूले नै गञ्जागोल फैलाए । राजालाई बाध्य पारे, राजाले चुनाव गराएर पार्टीहरूलाई शासनसत्ता सुम्पिन्छु भन्दा पनि सुख पाएनन् । जनयुद्ध चलेको थियो, जनयुद्धकारी माओवादी पनि आन्दोलनमा होमिए । सबै पार्टीको सडक आन्दोलन र भारतको कूटनीतिक दबाबका कारणले २०६३ साल वैशाख ११ गते राजाले मरेको संसदलाई ब्यूँताइदिए । लोकतन्त्र आयो भनियो । सबैले विश्वास गरेका थिए, अब त रामराज्य आउँछ । अब त समानता र न्याय पाइन्छ । २०६५ साल जेठ १५ गते यिनै नेताहरू मिलेर संविधानसभाको चुनाव गराए, गणतन्त्र कार्यान्वयन गरे । अब त रामराज्य आउने पक्का भयो भन्ने भ्रम छरियो । त्यो संविधानसभाले संविधान बनाउनै सकेन, असफल भयो । फेरि संविधानसभाको चुनाव गराइयो । विश्वमै नभएको दुई दुईपल्टको संविधानसभाको चुनावले बल्ल बल्ल ८ वर्षपछि संविधान जारी ग¥यो । त्यो संविधानलाई आजसम्म भारतले स्वीकार गरेको छैन, कारण थियो, भारतले केही दिन रोक्न अनुरोध गर्दा पनि यी नेताहरूले फास्ट ट्य्राकबाट संविधान जारी गराए । भारतले नाकावन्दी गरेर दुःख दियो, त्यो दुःख भारतले यिनै नेताहरूको टाउकामा थोपरिदिएको छ । अर्थात् संविधानसभाको चुनावपछि, संविधान जारी भएपछि, ०७४ को आम निर्वाचनपछि, ०७९ को दोस्रो आवधिक चुनावपछि रामराज्य आउँछ भनेर जनताले ठानेका थिए, आएन । पटक्कै रामराज्य आएन । यहाँसम्म कि भ्रष्टाचारतन्त्र बढ्यो, लोकतन्त्र भनिएको व्यवस्थाले लूटतन्त्र मच्चायो, यो व्यवस्थाले देश र जनताको अवस्थामा कुनै सुधार ल्याउन सकेन । असफल नै भयो ।
अब त यिनै नेता भन्न थालेका छन्, सबै पार्टीको सहमतिमा संविधान संशोधन गरिनेछ । अर्थात् संविधान असफल भयो । यो संविधान कार्यान्वयन भएको जतिसुकै डंका पिटे पनि संविधान सबल हुनसकेन । संविधान असफल भएकै कारण कुनै पनि संवैधानिक निकाय स्वस्थ छैनन् । राजनीतिमा अपराधिकरण यसरी बढेको छ कि राजनीति व्यापार, लेनदेनको विषय बनिसक्यो । यतिमात्र होइन, कुनै पनि नेताप्रति जनताको भरविश्वास कायम छैन । राजनीतिप्रति निराशा बढेको छ, नेताप्रति घृणाभाव छ । जनताले बिकल्प नपाएकैले चुनावमा भोट दिन्छन्, यिनै नेता जित्छन् र यिनै नेताले जनमतको अपमान गर्न थाल्छन् । यसरी नै यो लोकतन्त्र चलिरहेको छ ।
आएन, पटक्कै रामराज्य आएन । राजा, धर्म, पञ्चायत, बहुदल सबै खबरव भएकाले ल्याएको लोकतन्त्र पनि झिकिदे गाँड भन्दा थपिदे गाँड हुनपुगेको छ । प्रष्ट के भएको छ भने खराव नेतृत्वभित्रको नैतिकहीनता रहेछ । जनताप्रति जिम्मेवारीवोध नगर्ने मनस्थिति रहेछ । लोकलज्जा र नैतिक सीमामा नबसिदिनाले नेतृत्वले व्यवस्थालाई बदनाम गरेका रहेछन् । यहीकारणले राजनीतिको बागद्वार नेतृत्वमा प्रदूषण बढ्यो, त्यसको प्रतिफल शासन प्रशासन प्रदूषित हुनपुग्यो । रामराज्य आएन, यस्तै चालाले नआउने भयो ।