Advertisement Banner
Advertisement Banner

०५ शनिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

सीमा स्तम्भको यो हालत

१५ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

यो नेपाल–भारतवीचमा रहेका सीमा स्तम्भको हालत हो। यो स्तम्भ देख्दा लाग्छ– यो नेपालको सीमास्तम्भमात्र होइन, नेपाल सरकारको दयनीय अनुहारको तस्वीर पनि हो। राष्ट्रको सीमा स्तम्भको रक्षा यही हो? भाषणमा स्वाधीनताका कुरा गर्ने नेताहरु, देशभक्त हुँ भन्ने नेताहरुको गफ र यो सीमा स्तम्भको चित्रले नेताहरु देशको सुरक्षा र सीमारक्षाप्रति कति गम्भीर छन् भन्ने स्पष्ट हुन्छ।

पूर्वाञ्चलका सीमास्तम्भहरु हराएका, नासिएका र उखेलेर फालिएका खबर आएका छन्। दक्षिणी सीमामा अतिक्रमणका अनेक घटनाक्रम चलिरहेका छन्। सुदूरपश्चिममा त नेपाली जमिनमा भारतीयहरुले जोत्न, बस्ती बसाल्न र हडप्न थालेका समाचार आएका छन्। वीरगञ्जमै लालपूर्जा देखाएर जमिन हाम्रो, कब्जा भारतीयले गरे भनेर जनता स्थानीय प्रशासनमा उजूरी गर्न जाँदा प्रशासनले केही गर्न नसकेका खबर आएका छन्। गृहमन्त्री छन्, एमाओवादी नेता शक्ति बस्नेत। सीमा प्रशासनबाट खबर आउँदा उनी किन लाचार भएर केही निर्णय गर्न सकिरहेका छैनन्? अर्थात भारत रिसाउँछ भन्ने डर सबैलाई छ र भारत डर देखाएर नेपालमाथि अतिक्रमण बढाउँदै गएको छ। दशगजा भनेको भारतको मौजा बनिरहेको छ। लक्ष्मणपुर बाँध बनाउने भारतले सीमा मिचेर अग्लो पक्की सडक बनाएर नेपाली भूभागलाई डुबानमा पार्दै लगेको छ। नेपाल सजग, सतर्क छैन। नापी विभागको टोली जान्छ, भारतीयको मेजमानी खाएर फर्केर आउँछ। सीमा स्तम्भको निगरानी नेपालले पनि गर्नुपर्छ र व्यवस्थापन तत्काल गर्नुपर्ने हो। तर, समस्या परेपछि सलबलाउने र भारतको दबाबमा मौन बस्ने नेपाली प्रशासक, नेताहरुका कारण नेपाल साँघुरिदै छ।

अन्तर्राष्ट्रिय कानुन छ, कानुनअनुसार दशगजाको ३० फिट वारिपारि केही गर्न पाइदैन। तर भारतका लागि यो कानुनको अर्थछैन। भारतले जे गर्छ, नेपाली सीमामा त्यही कानुन हुनेगरेको छ।