सत्ता सडकमा, प्रतिपक्षीहरू सडकमा । सबैका आआफ्नै दाउ छन् । सत्ता आफू लोकप्रिय देखाउन चाहन्छ, प्रतिपक्षीहरू कोही वर्तमान सत्ता ढाल्न र आफू सत्तामा उक्लिन, कोही पद्धति नै फालेर नयाँ पद्धति ल्याउन लागिपरेका छन् । सडक यसरी तात्तिएको छ कि हरेक नेता भ्रष्टाचारमा चोपलिएको छ भनेर एकदोस्रामाथि आरोप प्रत्यारोप गरिरहेका छन् ।
सांसद जेलमा छन् । पूर्वगृहमन्त्री, मन्त्री, सचिव जेलमा छन्, कोही भ्रष्टाचारमा डामिएका छन् । अनुसन्धान नामको राजनीतिक षडयन्त्र चलिरहेको छ । जो सत्तामा छन्, उनीहरू भ्रष्ट हुन् । जो प्रतिपक्षीमा छन्, तिनीहरू पनि भ्रष्टाचारको आरोपबाट चोखा छैनन् । लोकतन्त्र भनेकै लुटतन्त्र बन्यो, जता पनि भ्रष्टाचार र अपराधिकरणमात्र देखिन्छ । वर्तमान नेतृत्व एकले अर्कोलाई मकै नङ्ग्याएझैं नङ्ग्याउनुमा महारथ हासिल गरिरहेका छन् र आफूभन्दा अरू बलशाली छैनन् भन्ने देखाइरहेका छन् । यथार्थमा यिनले आफूले आफैलाई विवेकहीन साबित गरिरहेका छन् । यसकारण राजनीतिक स्थिरता आउन सकेन, राजनीतिक अराजकताले देशलाई गाँजेको छ । परिवर्तन अवस्यम्भावी हुनथालेको छ । यी नेता र यो पद्धतिले नेपालको शान्ति र समृद्धि असम्भव भएको छ ।
मत बाझिन्छ, बिबाद हुन्छ, छलफल र सभ्य तरिकाले पनि आफ्ना कुराहरू राख्न सकिन्छ । न्यायका सबै मानकहरू, मानवाधिकारका सबै सीमाहरू मिचेरमात्र आफूलाई बलशाली, प्रभावशाली देखाउन सकिन्छ भन्ने जुन क्रियाकलाप राज्यप्रणालीमा स्थापित भएको छ, त्यो नितान्त विवेकहीनता हो । विधिको शासनको पक्षमा उभिनुपर्नेहरूले विधि मिचेर सडकबाट अराजनीतिक, असभ्य र भद्दा प्रतिस्पर्धा गरिरहेका छन् । राजनीति आफैमा समाज परिवर्तनका बाहक, उदाहरण हुनुपर्ने हो, राजनीतिक परिवर्तन भयो तर चरित्रको परिवर्तन हुनसकेन । चरित्रहीन भइदिंदा राजनीतिले लिनुपर्ने गति लिन सकेन । राजनीति उल्टो गतिमा चलिरहेको छ । अग्रगमन भाषणमा सिमित छ, पश्चगमनको डरलाग्दा खेलहरू राजनीतिमा देखिन्छन् । यस्तै हाल हुने हो भने दश वर्षभित्रै नेपालले आफ्नो स्वराज, स्वअस्तित्व र सार्वभौमिकता गुमाउने खतरा बढ्यो । मूल कुरा भूराजनीतिबाट ग्रसित हुनु हो । नेपालको परम्परागत मान्यता भनेकै असंलग्नता थियो, त्यो पातलिदै गएको छ । विश्वशक्ति नेपाल पसिसकेको अवस्थाले भूराजनीतिमा भूकम्प नै गइरहेको छ । यो भूकम्प थेग्ने ल्याकत भ्रष्ट नेतृत्वमा छैन । जुन नेतृत्व आफै भ्रष्ट छ, त्यस्तो नेतृत्वले हाँकेको लोकतनत्र भनेको लुटतन्त्र हो, नेतृत्वको स्वार्थतन्त्र हो । त्यही स्वार्थतन्त्रले नेपालको सार्वभौमिकतालाई कमजोर बनाउँदै लगेको छ ।
संविधान सफल भन्नेहरू संशोधनका बहस चलाउन थालेका छन् । राजनीतिक पार्टीहरू एकदोस्राका दुश्मनजस्ता लाग्छन्, यस्ताले कसरी संशोधन गरेर संविधान बचाउलान् र ? गणतन्त्र असुरक्षित भयो यही नेतृत्व भन्छ, गणतन्त्र भ्रष्ट चरित्रले बच्दैन भन्ने बुझ्दैनन् । स्मरणीय छ, संसद भंग हुँदा अदालतले बचाइदिनुपर्ने, सरकार प्रमुख अदालतले तोकिदिनुपर्ने, अनेक मुद्दालाई अदालते अड्काएर यिनलाई राहत दिनुपर्ने, राजनीति, प्रशासन, न्यायक्षेत्रसमेत अति राजनीतिले बरालिएको अवस्था हुँदा लोकतन्त्र असफल हुनपुगेको हो । जब राजनीति गर्नेहरूमा चरित्र हुन्न, प्रशासन र राज्यसञ्जाल पनि चरित्रहीन बन्नेरहेछ । समयमै सचेत नहुने हो भने अब यो पद्धति र यी नेता बिस्थापित हुने निश्चित छ ।