विद्युत निर्यात गर्ने होइन, कर्णालीलाई देउ, हामी उपभोग गर्छौं भनेर आन्तरिक माग बढिरहेकै बेलामा नेपालले विद्युत निर्यात गर्ने निर्णय लियो र भारत तथा बंगलादेशमा समेत विद्युत निर्यात सुरू गरेको छ । नेपाल पानीको धनी देश हो तर विद्युत उत्पादनका नाममा झोलामा खोला राखेर हिड्ने प्रवृत्तिले गर्दा उत्पादन हुनुपर्नेजति विद्युत उत्पादन हुनसकेको छैन । नेपालमै उद्योगले विद्युत उपभोग गर्ने तर शुल्क नतिर्ने, चुनावट धेरै हुने समस्या छँदैछ । योभन्दा बढी समस्या आन्तरिक खपतमा पु¥याउन नसकेका बेलामा डलरमा विद्युत बेच्न सुरू भएको हल्लाखल्ला भइरहेको छ । कतै युवा निकासी गरेर रेमिटान्सले आर्थिक अवस्था सुध्रिएको भनेजस्तो नहोस् । किनकि मोटाउनु र सुन्निएरमोटाउनुमा भिन्नता बुझ्न नसकिए अतिरोग लाग्छ ।
देशमा उत्पादन हुनसकेको छैन । उत्पादन नभएपछि निकासी हुने सवालै आएन । आयातमुखी अर्थतन्त्र बोकेर लोकतन्त्र चल्न सक्दैन । किनकि आयातमुखी हुनु भनेको बेरोजगारी बढाउनु र युवा निकासी गर्नुमात्र हो । शिक्षानीतिमा सुधार हुनसकेको छैन । प्राविधिक शिक्षा दिन सके उद्यम बढ्नेछ । योभन्दा पनि समस्या प्रशासनिक झमेलाको हो । जो नेपालमा लगानी गर्न आउँछन्, तिनीहरूसमेत अनावश्यक झमेला भोगेर भाग्ने गरेका छन् । सबैभन्दा पहिला देशमा लगानीको वातावरण बनाउनु प¥यो । यसका लागि समस्यारहित प्रशासन र बाधाहरू हटाउनु पर्छ । तबमात्र उद्यम बढ्छ, रोजगारी बढ्छ । युवा निकसी होइन, उत्पादन निकासी हुनेछ । विद्युतको खपत स्वदेशमै बढ्नेछ, बढी भएको विद्युत निकासी गर्दा हौसला हुनेछ ।
कात्तिक अन्तिम दिन ४० मेगावाट बिजुली बंगलादेश निर्यात भएको छ । तेस्रो देश विद्युत व्यापार सुरू भएको यो दिन खुशीको दिन हो । यो सुरूआत मात्र हो । आगामी सन् २०२५ को जुन १५ बाट नियमित रूपमा बंगलादेशतर्फ पुनः विद्युत् निर्यात हुने कार्यक्रम छ । हरेक वर्ष जुन १५ बाट नोभेम्बर १५ सम्म नेपालले बंगलादेशसँग विद्युत् व्यापार गर्नेछ । अहिलेसम्म नेपाल र भारतबीचमात्रको हुँदै आएको थियो, अब बंगलादेश विस्तार भयो ।
नेपालका उर्जामन्त्री र भारतका विद्युत् मन्त्री मनोहर लाल तथा बंगलादेशका ऊर्जा मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल माध्यमबाट संयुक्त रूपमा स्विच अन् गरेर विद्युत् निर्यातको शुभारम्भ गरेका हुन् । नेपाल सरकारले विद्युत निर्यात कोसेढुंगा भएको बताएको छ । विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगमबीच गत असोज १७ गते त्रीपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो । विद्युत निर्यात सुरू भएको छ । नेपालको विद्युत नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुगेको हो । वद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात हुनेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दरअनुसार ८ रूपैयाँ ६२ पैसा) पाउनेछ । तर ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट नेपालले बेहोर्ने छ । चुहावट कति हुन्छ, यो सबैभन्दा संवेदनशील पक्ष मानिएको । त्यस उताको चुहावट बंगलादेशको दायित्व हो । भारतले नेपाललाई यो सुविधा दिएवापत कमिशन पाउनेछ ।