लोकतन्त्र हाँक्ने नेतृत्वपंक्तिको चारित्रिक स्खलन भइरहेकै छ । हुन त यी सत्तामा छन्, संसदमा छन्, राजनीतिमा छन् । तर चरित्र स्खलन भएको नेतृत्वप्रति जनताको आस्था छैन । जनतामा भरोसा र विश्वास रहेन । यस्तो नेतृत्वका कारण लोकतन्त्रको प्रासङ्गिकता समाप्त भइसकेको छ ।
नेपालमा साना ठूला जति पनि पार्टी छन्, तिनीहरू क्याडरबेश पार्टी हुन् । हजारदेखि लाख हुँदै ९ लाखसम्मको संगठन छन् तिनका । यतिमात्र होइनन्, ती पार्टीहरूप्रति आस्था राख्ने कर्मचारीको संख्या पनि कम छैन । कर्मचारीले पार्टीको भातृ संगठनको कार्यालयजसरी चलाएका छन् कतिपय संस्थानहरूलाई समेत । संगठनको आकार भीमकाय छ, कार्यकर्ताको भीड पनि थामिनसक्नु देखिन्छ । संवैधानिक निकायहरूमा आफ्ना मान्छे भरेर निकै शक्तिशाली बनेका छन् ठूला पार्टी र नेताहरू । लाग्छ, ठूला पार्टी साह्रै लोकप्रिय छन् । तर यथार्थ यो होइन । भुइँमान्छेसँग टाढिदैछ पद्धति । भुइँमान्छेमा विश्वासको कमी छ यी ठूला पार्टी र नेताहरूप्रति । हरेक भुइँमान्छे भन्छन्– यी नेता होइनन्, लुटेरा हुन् । यिनले लोकतन्त्रलाई लूटतन्त्रजसरी चलाए । लोकतन्त्र लुटको धन फुपुको श्राद्ध जसरी चलेको छ । भ्रष्टाचार सर्वत्र बढेको छ । सुशासन कतै पनि छैन । जनता कुशासनबाट त्रसित छ ।
सत्य के हो भने लोकतन्त्र भुइँमान्छेको जीवनपद्धति बन्न सकेन । लोकतन्त्र नामको छाडातन्त्रबाट भुइँमान्छे आजीत छ । लोकतन्त्रबाट भुइँमान्छे धेरै टाढा पुगेको छ । यसरी भुइँमान्छेबाट टाढिएको पद्धति १८ वर्षअघिको परिवर्तनको समयको जस्तो प्रासङ्गिक रहेन । जब भुइँमान्छेबाट अप्रासङ्गिक हुन्छ, त्यो पद्धति खोक्रो भइसक्यो भन्दा हुन्छ, कुनै पनिबेला ढल्नसक्छ ।
लोकतन्त्रमा भुइँमान्छे खुशी हुनुपर्छ । भुइँमान्छे लोकतन्त्रप्रति रत्तिनुपर्छ । नेपालको लोकतन्त्र देखेर भुइँमान्छे तर्सिन थालेका छन् । एक त लोकतन्त्र भ्रष्टाचारमय बनिसक्यो, त्यसमाथि प्रत्येक दलका नेताहरू चरित्रहीन बन्नपुगेको छन् । आफ्ना घोषणापत्र बिर्सेका छन् । सबैको लक्ष्य सत्ता, शक्ति र सम्पत्ति बनेको छ । चरित्रप्रति, लोकलज्जाप्रति कुनै नेता सचेत छैनन् । जब नेतृत्वमा चरित्र हुँदैन, ऊ स्वार्थका लागि जुनसुकै बेला जुनसुकै कुकर्म गर्न सक्छ । राष्ट्र र जनताका लागि सराप बनिसकेको नेतृत्व भनेको खतरनाक हुन्छन्, यिनले आफ्नो हितका लागि राष्ट्र र जनताको हित हरेक समय दाउमा लगाइरहेका हुन्छन् । नेपालको स्थिति ठ्याक्कै त्यस्तै छ ।
नेपाल भूराजनीतिको महत्वपूर्ण मोडमा आइसकेको छ । उत्तर र दक्षिणको चासोमात्र होइन, पश्चिमा र इयुको चासोको राडारमा समेत नेपाल परिसकेको अवस्था छ । यतिमात्र होइन, युद्धमा होमिएको रूससमेत नेपालमा प्रवेश गरेर १३ परियोजना बनाइदिने पेशकश गरिरहेको छ । तर नेपालले न रूस, न चीनको बीआरआई अन्तर्गतको १३ परियोजनाबारे नै जवाफ फर्काएको छ । नेपालले कुनै पनि बैदेशिक ऋण तिर्ने हिम्मत नभएकाले अनुदानका योजनाहरू खोजिरहेको छ । अनुदानका योजनाका लागि लविङ गर्ने सक्षम परराष्ट्रनीति र राजदूतहरू नियुक्त गर्न सकेको अवस्था छैन । यसकारण पनि नेपालमाथि ऋण लिनैपर्ने दबाब बढेर गएका छन् । अमेरिकी परियोजना एमसीसी अनुदानमा प्रवेश गरे पछि चीन, भारत, रूसजस्ता मुलुकहरू अनेक परियोजनाका साथ नेपाल प्रवेश गरेका छन् । तर नेपालले सक्षमतापूर्वक नेपालनीति प्रभावकारी रूपमा सञ्चालन गर्न सकेको छैन । आन्तरिक राजनीतिक खिचलो र अराजकताका कारण र बढ्दो चरित्रहीनताका कारणले नेपालको लोकतन्त्र भीरमा पुगिसकेको छ, कुनैबेला गुल्टने अवस्था छ ।