मार्कोसतन्त्र अर्थात भ्रष्टतन्त्र । नेपालको लोकतन्त्र यही हो । यस्तो भ्रष्टतन्त्रको भारी नेपाल र नेपालीले कहिलेसम्म बोकिरहनुपर्ने हो ?
९५ प्रतिशत नेता भ्रष्टाचारबाट डामिएका छन् । ठूलाठूला भ्रष्टाचार काण्डमा मुछिएका छन् । सत्ता, शक्ति र सेटिङमा भ्रष्टाचारलाई छोपछाप पार्ने, एकथरि भ्रष्टाचारलाई बिषयान्तर गर्न अर्काथरिको भ्रष्टाचार काण्डलाई उछाल्ने, अर्काथरि सत्तामा गएपछि पहिलोथरिलाई उछाल्ने, यसैगरी भ्रष्टाचारतन्त्र चलिरहेको छ । यो नौटङ्की नै हो भन्छन् सबै तर बिधिको शासनका लागि कुनै नेता वा पार्टी प्रतिवद्ध छैनन् । यस्तैखाले भ्रष्टतन्त्रलाई लोकतन्त्र भनेर चलाइरहेका छन् । यथार्थमा यो मार्कोसतन्त्र हो ।
१८१६ मा भएको थियो सुगौलीसन्धि । यो सन्धिका लागि राज्यले चन्द्रशेखर र गजराज मिश्रलाई अंग्रेजसँग सम्झौता गर्न पठाएका थिए । तिनले देशलाई धोखा दिए । बाठा अंग्रेजले चन्द्रशेखर र गजराज मिश्रलाई यति धेरै सम्पत्ति दिए कि तिनीहरू अंग्रेजतिर लागेर नेपाललाई धोखा दिन पुगे । मार्कोस चरित्र अर्थात चन्द्रशेखर र गजराज मिश्र दुबैथरि भ्रष्ट थिए, चरित्रहीन थिए, राष्ट्रघाती थिए । तिनको सिको अनुकरण गर्ने नेताहरू तीभन्दा कम्ति देखिएनन् । कम्तिमा दशानन् र दुशासन प्रवृत्तिको अन्त्य लोकतन्त्रले गर्नुपर्ने हो । लोकतन्त्रलाई बदनाम गरिदिए, लोकतन्त्र मार्कोसतन्त्र बन्नपुग्यो ।
सर्बहारावाद, समाजवाद, मधेसवाद अथवा जनताको बहुदलीय जनवाद, लोकतन्त्रवाद सबै टुकुचाको फोहरमा लटपटियो, लटपटियो, पुँजीवाद खराब भन्ने थेगो बोकेको नेपाली कम्युनिष्टबादले घुस खाने ब्यवस्था बन्यो लोकतन्त्र । पुँजीवाद र कम्युनिष्टवादमा भिन्नता देखिदैन । विश्वमै धनी कम्युनिष्ट नेता र शासक भएको देशका रूपमा बदनाम छ नेपाल । सुशासन र स्यालको सिङको कथा बनेको नेपाल यस्तो देश हो, जहाँ संसदबादभित्र माओवाद, लोकतन्त्रभित्र जनवाद, समानुपातिक र संघीयताभित्र भ्रष्टाचारबाद अभ्यासरत छ । मेरो आदर्श पृथ्वीनारायण शाह अथवा बलभद्र हुन् भनेर गौरव गर्दै नेपालवाद बोक्ने एउटा पनि दल राजनीतिमा छैन । राजनीति तिल्के मारवाडीको झिल्के ब्यापार व्यवसाय बन्न पुगेको छ ।
संविधानमय, परिवर्तनमय बन्न सकेन पद्धति । यो पद्धति भनेको जसरी पनि लुट्ने, आफ्नो हैकम स्थापित गर्ने, आफन्तलाई पोस्ने पद्धति हुनपुग्यो । यथार्थमा निरंकूशता फालेर घनघोर निरंकूशता ल्याएको भान भइरहेको छ । मह दलेको विष बन्नपुग्यो लोकतन्त्र । यसको सम्पूर्ण जिम्मेवारी ०४६ सालपछिका नेताहरूले लिनुपर्छ । किनकि बहुदलमा जो नेता थिए, लोकतन्त्रमा पनि तिनै नेता छन् । तिनीहरू नै संसद, सरकारमा छन् । तिनको जीवन बदलियो, जनताको जीवन झन झन पीडादायी बनेको छ । जनताको जीवन यापन तरिका बदल्न नसक्ने पद्धति भनेको विष हो । जब परिवर्तनको नाममा केही व्यक्तिमात्र सम्भ्रान्त बन्छन्, त्यो व्यवस्था यथार्थमा सराप हो । मार्कोसतन्त्रमा मार्कोसले सुनको चर्पी उपयोग गर्थे, त्यस्तै चरित्रमा छन् लोकतान्त्रिक नामधारी नेताहरू । यस्ता नेताबाट केही पनि आश गर्नु देश र जनताका लागि बेकार छ । यस्ता नेतालाई किनारा लगाउनै पर्छ अन्यथा यो मार्कोसवादले जनतालाई जुकाले रगत चुसेझैं चुसिरहनेछन् ।
चेत रहोस् सबै पार्टी र नेतृत्वलाई । प्रशासकलाई पनि । जनतामा जागरूकता आइसकेको छ । शासन व्यवस्थामा जसरी मार्कोसतन्त्र पन्पिएको छ, यो धेरै दिन चल्नसक्ने अवस्था छैन । धुवाँ आइसकेको छ, जुनसुकै बेला डढेलो सल्किनसक्ने छ । डढेलोलाई सत्ता र शक्तिले निभाउन सक्नेछैन ।