कायर नेतृत्वले संरक्षण दिंदैन । उसलाई आफ्नै चिन्ता हुन्छ, उसले समाज, देश र लोकलाई कसरी संरक्षण दिनसक्छ र ? हरेक पल ऊ आफ्नै कायरतामा हारिरहेको हुन्छ । हारेक नेताले कहिले जित्दैन, जिताउन सक्देन, यसकारण राष्ट्र समृद्ध बनाउन नेतृत्व आँट र साहस भएको चाहिन्छ ।
लेण्डुप साहसी थिएनन् । विवेकी पनि थिएनन् । लेण्डुपका समर्थक र बिरोधीहरू समेत विदेशीका तलुवाचाट बनेका थिए । यसैले सिक्किम बिलायो, सिक्किमको राष्ट्रिय फूल सुनाखरी फुल्छ तर राष्ट्रिय अस्तित्व गुमायो । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय पहिचान बचाउन कायर नेतृत्वबाट सम्भव छैन ।
यतिबेला नेपालको अस्तित्व समुद्रको जहाजको जस्तो ढलपल ढलपल गरिरहेको छ । जसरी २६ अप्रिल १९७५ मा सिक्किमी संसदका ३२ सांसदले भारतको २२औं प्रान्त हुन मञ्जुर गरेर देशलाई विदेशीको हातमा सुम्पिए, अहिलेकै जस्तो लम्पसारवाद हावी हुने हो भने नेपालको हालत त्यस्तै नहोला भन्न सकिन्न । यी नेताहरूबाट देशको सार्वभौमिकता, स्वराज सुरक्षित छ भनेर आश्वस्त हुनसक्ने अवस्था छैन । राष्ट्रको अवस्था चौतर्फी रूपमा खतरामा पर्दै गएको छ । नेतृत्वमा नीति, नैतिकता, निष्ठा नहुनाले राष्ट्रको अवस्था खस्कदै गएको हो । यो खतराबाट मुक्ति पाउनका लागि नेतृत्व सुधारिनुपर्छ, नीति स्पष्ट हुनुपर्छ, सिद्धान्तमा उभिनसक्ने र जनताप्रति जवाफदेही हुनसक्ने अवस्था सृजना हुनुपर्छ । स्थापित नेतृत्व आफैमा अस्पष्ट, अदूरदर्शी, स्वार्थी? निष्ठाहीन, सिद्धान्तहीन र भ्रष्ट चरित्रको भएकै कारणले गर्दा विश्वासको संकट उत्पन्न भएको हो । यही र यस्तै नेतृत्वले देशको भार बोक्न सक्ने र लोकतन्त्रलाई लोक जीवन बनाउन सक्ने ल्याकत देखिदैन ।
खरो शब्दमा भन्ने हो भने नेतृत्व कायर छ, कायर नेतृत्व भनेको दिनदिनै मरिरहेको राजनीतिक अवस्था हो । जुन राजनीति जिवन्त छैन, मृत राजनीतिले गर्ने भनेको भ्रष्टाचार र दिने भनेको धोका मात्र हो । राष्ट्रमा बढ्दो राष्ट्रघात, जनघात, जनमतमाथिको अपमान भनेको कायरता हो । यस्तो कायर राजनीतिबाट देशको सुख, समृद्धि, कानुन व्यवस्थाको बहाली कुनै हालतमा पनि सम्भव छैन । यही सत्य बुझेर निर्णायक शक्ति नागरिक समयमै निन्द्राबाट ब्यूँझनुपर्छ र नेतृत्वले दिएको भ्रमबाट मुक्त हुनुपर्छ । अन्यथा पुर्पुरोमा हात राखेर अहिलेजस्तै पछुताउनुको बिकल्प हुनेछैन । लोकतन्त्रमा लोक अन्तिम शक्ति हो भन्ने कुरा लोकले बुझ्नुपर्छ । यो सत्य नेतृत्व तहमा सम्झाउन सक्नुपर्छ । नसक्नु भनेको मृत राजनीतिलाई अँगाल्नु हो । कायर राजनीतिलाई बल प्रदान गर्नु हो । मृत राजनीति रोज्ने कि जिवन्त लोकतन्त्र, यसको निर्णय अब स्वयम् जनताले गर्नैपर्ने अवस्था आयो ।
१८ वर्षको अपराधिक राजनीतिका कारण सिङ्गो मुलुक सन्त्रासमा छ, सुशासन छैन, सिर्जनाकार हुनुपर्ने नेतृत्व भाँडतन्त्रका नायक र भाइनायक बनेका छन् । जनता जो रगतको आँसु पिइरहेका छन्, देश जो छटपटाइरहेको छ, सन्त्रासको सरापबाट छिटै मुक्त हुने लक्ष्यणसम्म पनि देखिदैन । यस प्रकारको कायर राजनीतिले देश र जनता आश्वस्त हुनसक्दैनन्, संरक्षण दिन सक्दैन भन्ने स्पष्ट भइसक्यो । यस्तो अवस्थामा १९४७ मा भारत स्वतन्त्र बनाउनका लागि नेपाल र नेपालीले रगतमात्र होइन, ज्यानसमेत अर्पण गरेका थिए । त्यो भारतले नेपालको गुण सम्झन छाडेर नेपालमाथि बिस्तारवाद र हैकमवाद लादिरहेको छ । हाम्रा राजनीतिक दलहरूको आँखाले टड्कारै देखेको छ भारतीय हस्तक्षेप, अतिक्रमण र मौजावाला हुँकार तर स्वराजको स्वर निकाल्न सक्दैनन् । यस्तो कायर नेतृत्वले संरक्षण दिदैन, बुझौं ।