Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

कालापानी, लिपुलेक कसरी भारतको हो ?

०८ मंगलबार , आश्विन २०८१२२ दिन अगाडि

कालापानी, लिपुलेक कसरी भारतको हो ?

नेकपा स का उपमहासचिव, नेता अर्थात माधवकुमार नेपालका होनहार सहयोगी मेटमणि चौधरीले लिपुलेक, कालापानी भारतको हो भन्ने अभिव्यक्ति दिए, उनलाई नेकपा स ले कुनै कारवाही गरेको खबर सार्वजनिक भएन ।
प्राध्यापक डा. राजेश गौतम भन्छन्– म प्रजातन्त्रलाई सम्मान गर्छु तर देशको अस्तित्वलाई खतरामा पारेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ भन्ने धारणामा म रहन चाहन्न । म मेरो संस्कृति, स्वतन्त्रता र यहाँको माटो सदैव अजेय भएको देख्न चाहन्छु । म प्रजातन्त्रको सुरक्षाको नाममा भूमि बेचेर वा भूमिलाई हस्तान्तरण गरेर देशद्रोही हुनुभन्दा आफ्नो संस्कृति स्वतन्त्रता र माटोको सुरक्षार्थ निरंकूश शासन वा शासक अन्तर्गत रहन तयार छु ।
तर संसदमा प्रतिनिधित्व गर्ने पार्टी, पूर्व एमालेका महासचिव, वर्तमान नेकपा स का अध्यक्ष माधवकुमार नेपालको पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद नै कालापानी, लिपुलेक भारतको हो भन्छन् भने योभन्दा जघन्य राष्ट्रघात अरू के हुनसक्छ ? जो आफ्नै अस्तित्वमाथि पराइको बलात्कार सहन तैयार छ, त्यस्तो सांसद भएको पार्टी कसरी देशभक्त हुनसक्छ ?
हुन त नेपालमा सयौं पार्टी छन्, कुन पार्टी हो, जो देशभक्त छ ? छुट्याउन कठिन छ । प्रधानमन्त्री, परराष्ट्रमन्त्री बन्छन्, आफ्नै भूमि अतिक्रमणको मुद्दामा बहस गर्न तैयार छैनन् । नेपाली भूमि के कति हो, सीमा कुन हो,  सीमा सुरक्षाको हालत कस्तो छ, कसैलाई चासो नै छैन । दुईपल्ट संविधानसभाको निर्वाचनपछि बनेको संविधानमा चुच्चे नक्सा नै अलप पारे । ती सबै संविधानसभा सदस्य राष्ट्रघाती हुन् । यिनीहरू स्वराज, सार्वभौमिकताको पक्षमा छन् भनेर विश्वास गर्नु नेपालीको गल्ती भएको छ । संविधानमा नक्सा सच्याइयो, नक्सा सच्याएपछि भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो नक्सामा मिलायो । ती भूभाग नेपालका हुन् भनेर पर्याप्त प्रमाण छन् प्रमाण पछारेर कूटनीतिक बहस गर्न, अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न, राष्ट्रसंघमा उजुरी गर्नसमेत जनप्रतिनिधि, सरकार तैयार छैन । यिनीहरू कसरी देशभक्त, कसरी लोकतन्त्रवादी । लोकतन्त्रवादीले आफ्नो पहिचान, आफ्नो अस्तित्व यसरी नष्ट भएको हेरेर सत्तास्वार्थमा डुब्दैनन् ।
अब त जनतासँग जनप्रतिनिधि डराउनै छाडे । संसदमा जवाफदेही हुनपर्छ भन्ने हेक्का राख्न पनि छाडे । मेटमणि चौधरीजस्ता सांसद खुलेआम भन्न थालेका छन्– लिपुलेक, कालापानी भारतको हो । सञ्चारमन्त्री प्रहरी प्रमुखको जिब्रो थुत्ने कुरा गर्छन्, आलोचित भए । वास्तवमा जिब्रो थुत्नुपर्ने मेटमणि चौधरीजस्ता सांसदको हो, जसले देशको भूभाग विदेशीको हो भने ।
मेटमणि चौधरीलाई पार्टी महासविच घनश्याम भुसालले प्रष्टिकरण सोधेको नाटक गरेका छन्, अध्यक्ष माधव नेपाल मौन बसेका छन् । टेलिभिजनबाट खुलेआम नेपाली भूमि भारतको भन्ने मेटमणि चौधरीले पानीमाथिको ओभानो बनेर पार्टीलाई प्रष्टिकरण दिंदा प्रम ओलीलाई दोषी देखाएका छन् । महाकाली सन्धि गर्दा रेखाङ्कन नगरेकाले प्रष्ट पार्न खोजेको भनेका छन् । यथार्थ कुरो के हो भने माधव नेपालसमेत महाकाली सन्धिमा ल्याप्चे ठोक्नेमध्येका थिए भने ओलीले त आफ्नै प्रधानमन्त्रीत्व कालामा चुच्चेनक्सा संविधानमा समावेश गर्न संसदमा सर्वसम्मति जुटाएका थिए । एमाले पार्टी फुटाउने तत्व अहिले ओलीमाथि इबी साध्न राष्ट्रियतामाथि धावा बोल्न पुगेका छन् । सौताको रिसले पोइको काखमा सु गर्ने भनेजस्तो अवस्था नेकपा स को हुनपुगेको छ । मेटमणि चौधरी भारतका लागि बोल्न र नेपालीत्वमाथि प्रहार गर्न तम्सिएका हुन् । यो अक्षम्य अपराध हो ।