Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

कुन पार्टी देशभक्त छ ?

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

कुन पार्टी देशभक्त छ ?

नेपालमा सयौं पार्टी छन्, कुन पार्टी हो, जो देशभक्त छ ?
स्यालको सिङ् खोज्नु र दलहरूमा देशभक्त खोज्नु उस्तै उस्तै हो । ०४६ सालपछि अनेक दल दर्ता भए । अनेक दलले निर्वाचन लडे, अनेक दलका सरकारहरू बने । एकल दल, सामुहिक दलका सरकार पनि बने । ०६३ सालमा पद्धतिकै परिवर्तन भयो, लोकतन्त्र नामधारी यो पद्धतिमा पनि अनेक दलहरू छन् । तर प्रश्न छ, कुन दल देशभक्त दल हो ? कुन दल जनताले आपनत्व लिएको दल हो ? यसको स्पष्ट उत्तर दिन सकिन्न । कारण हरेक दलले देशघातक निर्णयहरू गरेका छन्, देशघातक दस्तावेजहरूमा ल्याप्चे लगाएका छन्, देशविरूद्ध व्यक्तिस्वार्थका पक्षमा आफूलाई उभ्याएका छन् ।
यसकारण सयौं पार्टी छन्, कुन पार्टी देशभक्त हो, भन्न सकिदैन ।
निर्वाचन जित्नु प्राविधिक रूपमा जनमत हो, जनबल हो । नेपालजस्तो अविकसित र अशिक्षित, अभाव र अन्याय बेहोरिरहेका जनतालाई सत्ता, शक्ति र सम्पत्तिको प्रभावमा पारेर निर्वाचन जित्ने गरिन्छ । यस्तो जितलाई जनताको जित भन्नु गलत हुनेछ । निर्वाचनका दिन लोभ, लालच, डरमा पारेर भोट लिन्छन् र त्यसपछिको ५ वर्ष पुर्पुरोमा हात राखेर पछुताउनु पर्ने पार्छन् दलहरू । यस्ता दल जो जनतालाई भ्रममा पारेर चुनाव जित्छन् र जनता तथा देशलाई धोका दिन्छन्, यस्ता पार्टीलाई देशभक्त भन्नुपर्ने बाध्यता छ । यथार्थ के हो भने देशका भूभाग सुरक्षित छैनन्, राष्ट्र भनेका जनता हुन्, जनता पीडामा छन्, अन्याय र अत्याचारमा छन् । सुशासन छैन, भ्रष्टाचार ब्याप्त छ, जुन पद्धति भ्रष्टाचारको नालीमा टाउको जोतेर चलेको छ, त्यस्तो पद्धति लोकतन्त्र हुनसक्दैन । नेपालमा यस्तै अलोकतान्त्रिक लोकतन्त्र छ ।
एउटा संविधान लेख्न ८ वर्ष लाग्यो, ३३ अर्बभन्दा बढी खर्च भयो । यो संविधान जारी भएको पनि १० वर्ष भइसक्यो, संविधान कार्यान्वयन भयो भनिन्छ, संवैधानिक शासन घडीको रालो हल्लिएझैं हल्लिरहेको छ । राजनीतिक स्थिरता दिन सकेको छैन, जता हे¥यो उतै भताभुङ्गको स्थिति छ । अराजकता र अस्थिरताका कारणले आर्थिक मेरूदण्ड भाँचिएको छ । उद्योगधन्दा, बन्दब्यापार चौपट छ । रेमिटान्सले बजेट धानेको अवस्था छ । यो अवस्थाको मुलुक भनेको असफल राष्ट्र हो । राष्ट्र सफल हुन राष्ट्रिय एकता र भावना दह्रो हुनुपर्छ । पानी पोखिएजस्तो छ राजनीति । उसै पनि राजनीति भत्किएको अवस्था छ भने भूराजनीतिको भूमरीमा राष्ट्र परिसकेको अवस्था छ । भूराजनीतिलाई सफलतापूर्वक सञ्चालन गर्नसक्ने सक्षम कूटनीति छैन । बिग्रेको देशको भत्केको घर..जस्तो अवस्था छ । यो दुरावस्थाबाट देशलाई पार लगाउन सक्ने नेतृत्व कुनै दलमा पनि छैनन् । दलीय ब्यवस्था छ, दलहरू अराष्ट्रिय, अराजनीतिक, असंसदीय, अनुशासनहीन, लोकतन्त्रका गरिमा र महिमा नभएका छन् भने त्यस्तो देश कसरी उँभो लाग्छ ? नेपालको अवस्था हरेक दिन उँधोगति, उँधोमतितिर अग्रसर छ ।
नेताहरूले चाहेजस्तो परिवर्तन गरे, जनताले साथ दिए । कुनै बाधा अड्काउ छैन । तर पार्टीनेतृत्व आफै धामी, आफै झाँक्री बनेका छन् । लोकतन्त्र ल्यायौं भन्छन्, परिवर्तन आफू, आफ्नो दल, आफ्नो परिवारमा सिमित राखेका छन् । देशभक्ति, जनताप्रतिको आशक्ति कुनै दलमा पनि छैन । हरेक दल पैसा कमाउने, चुनाव जित्ने र सर्वाधिकारवादी हुने मार्गमा अभ्यस्त हुनथालेका छन् । यहीकारण हो, परिवर्तन भयो, परिवर्तन पार्टीका लागि भोजभत्तेर बन्यो, पर्व बन्यो, रमाइलो भयो, आमजनताका लागि कौवालाई बेल पाक्यो, हर्ष न बिष्मात्को अवस्था कायम छ ।
पार्टीहरू देशभक्त छैनन्, किनकि कुनै पार्टीले देशप्रति सच्चा चिन्ता र चासो राखेको पाइन्न । यसरी त देश वर्षे पहिरो, हिउँदे पहिरोमा पर्दैजाने खतरा बढ्दो छ । अब पनि सचेत नहुने हो भने जनता उठ्नुपर्ने भयो ।