Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ब्रम्हनालमा पुगेको शान्ति

२५ मंगलबार , भाद्र २०८१२ महिना अगाडि

ब्रम्हनालमा पुगेको शान्ति

जनयुद्धमा परेको शान्ति १८ वर्षदेखि लोकतन्त्रको ब्रम्हनालमा छ । न लोकतन्त्र लोकका लागि जिवन्त बन्यो, न शान्तिले नै स्थापित हुने अवसर पायो । लोकतन्त्रले बाटो बिराएकाले नेपाल अशान्त छ, दण्डहीन छ । नेपालको गौरवगाथा ऐना फुटेजसरी चकनाचुर बनेका छन् । संविधान, संसद, संवैधानिक निकाय, सरकार भएरमात्र शान्ति हुने होइन रहेछ । शान्ति र सुशासनका लागि नेतृत्वतहको नियत सफा हुनुपर्नेरहेछ, जुन छैन । नैतिकतासहितको प्रतिवद्धता चाहिने रहेछ, नेपाली नेताहरूमा नितान्त अभाव भनेकै नैतिकता हो । हरेक नेता नैतिक धरातलमा बदनाम छन् । जनताको नजरमा सम्मानित एकजना पनि नेता छैनन् ।
अनि कसरी शान्ति र समुन्नति स्थापित हुनसक्छ ? जहाँ शान्ति र समुन्नति छैन, त्यहाँ लोकतन्त्र छैन । कानुनव्यवस्था खलबलिनु भनेको अशान्ति हो, दण्डहीनता हो, अलोकतान्त्रिता हो । नेपाल अशान्तिको कृष्णभीर बनिसक्यो, जुन पहिरो गएर हरेक क्षण, दिन, हप्ता, महिना, वर्ष रसातल भाँसिदो छ ।
संविधान र संसद अनैतिकहरूको भीडका कारणले भीरको चिण्डा उँभो न उँधो अवस्थामा झुण्डिरहेको छ । ०४६ सालमा प्रजातन्त्र आयो, कांग्रेस नै प्रजातन्त्र भनियो, भ्रष्टाचारमात्र भयो । जनयुद्धको चपेटा सुरू भयो, ०६३ सालको परिवर्तन हुँदा माओवादी नै परिवर्तन भनियो, परिवर्तन सावित हुनसकेन । कहिले कम्युनिष्ट मिले, कहिले कम्युनिष्ट र कांग्रेस मिले, कहिले नयाँ दलहरू पनि मिले तर परिवर्तनको झल्का र झिल्का कुनै दिन आउन सकेन । ०४६ पछिको ३४ वर्ष र ०६३ पछिको १८ वर्ष अशान्तिमै बित्यो । राजनीतिक स्थायित्व आउनै पाएन । पुरानो व्यवस्था, राजतन्त्र, हिन्दुवादी अथवा कुनै अल्झो थिएन, कसैले बाधा अड्काउ पारेको पनि होइन । यिनै नेता हुन् जसले यी सबै अवधिमा आफूलाई अशान्तिको पक्षमा उभ्याउँदै आए । भाषण चाहिं स्थायित्व, राष्ट्र र जनताको पक्षमा गर्ने, काम चाहिं स्वार्थसिद्धि, जनमतको अपमान, राष्ट्रघातमा लगाउँदा देश बर्बाद हुँदै गयो ।
देखाउने टालोको रूपमा नेपालमा लोकतन्त्र छ । लोकतन्त्र पद्धतिको हो भने यसको प्राण प्रतिष्ठा भनेको लोकादेशको शासन प्रणाली थियो । पटक पटक लोकादेश लिने दिने कार्य भयो तर लोकादेशको इज्जत कुनै नेताले पनि राखेनन् । लोकादेशको चीर हरण गर्नु लोकादेश पाउने नेताको प्रमुख काम भएकैले लोकतन्त्र शोकतन्त्रजस्तो छ । छलतन्त्र वा नेतातन्त्र पनि भनिन्छ । लोकतन्त्र मूर्दालाशजस्तो छ । संविधानको अक्षर र संसदका कृयाकलाप जब लोकमतको कदर गर्न नसक्ने भयो, अनि लोकतन्त्र लूटतन्त्र नभएर के हुन्छ । जब देशमा लूटतन्त्र चल्छ, त्यो अवस्था भनेको अशान्ति, अराजकता, अस्थिरता हो । यस्तो भाँडभैलोमा शान्ति खोज्नु स्यालको सिङ खोजेजस्तै हो । नेपालमा लोकतन्त्र विश्वजनमतका लागि हाँसोको विषय बनेको छ ।
दुई ठूल दल मिलेर सरकार बनाएका छन् । अन्य ससाना दलहरू भन्छन्– यो लोकतन्त्र मास्ने षडयन्त्र हो । सत्ताधारी प्रतिपक्षी हुनुपर्ने दुई ठूला दलहरू मिलेर सरकर गठन गर्नु संसदीय प्रणालीको मान मर्दन हो । स्पष्ट कुरो के पनि छ भने जो सत्तामा छन्, जो प्रतिपक्षी हुन्, ती कसैले पनि संसदीय गरिमाको सम्मान गरेकै छैनन् । ताक परे संविधान, नत्र सडक गान गर्ने प्रचलन पुरानै हो ।
यतिबेला शान्तिका लागि के कसरी अघि बढ्ने, जनताका अपेक्षाको कसरी संवोधन गर्ने भन्ने विषय गौण बनेको छ । सत्ता झगडामा बाझाबाझ चलिरहेको छ । राजनीतिक दलहरू देख्दा लाग्छ– लोकतन्त्रलाई सजिव बनाउने प्रयास कोही पनि गरिरहेका छैनन् । राष्ट्रमा स्थिरता र शान्तिको खोज गर्ने कोही पनि छैनन् । निर्जिव लोकतन्त्रको लाश बोक्न हरेक दललाई कुनै लज्जाबोध छैन । निर्जिव बनिसकेको लोकतन्त्रको मलामी बनेर राज्यकोषबाट कसरी बढीभन्दा बढी लाभ लिन सकिन्छ भन्ने कलुषित चाहना हरेक नेतामा बिद्यामान रहेको छ । ब्रम्हनाल पुगिसकेको संविधानको घाटेबैद्यजस्ता बनेका नेताहरू सिंहदरवार र संसदको आरती उतारेर बढीभन्दा बढी लाभ लिंदै जिब्रो पड्काई पड्काई स्वाद लिइरहेका छन् ।
यो तरिकाले लोकतन्त्रमा ज्यान पलाउँदैन । यो तरिकाले संविधान बौरिंदैन । संविधान असफल हुनु भनेको यो व्यवस्था असफल हुनु हो । व्यवस्था असफल हुँदा राष्ट्रको शान्ति र प्राणवायु समाप्त हुने खतरा रहन्छ । त्यसैले सबै सचेत हौं ।