Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

विदेशी जेलमा हजारौं युवा

१८ मंगलबार , भाद्र २०८११४ दिन अगाडि

विदेशी जेलमा हजारौं युवा

विदेशका जेलमा हजारौं युवा सडरहेका छन् । तिनको अभिभावक सरकार हुनुपर्ने हो, जनप्रतिनिधि हुनुपर्ने हो, कोही पनि बोल्दैनन् । मर्ने मरिरहेका छन्, अन्यायमा पर्ने अन्याय खेपिरहेका छन्, तिनलाइ बचाउने प्रयास कसैले गरेनन् ।
खबर आयो, साउदीको जेलमा ६१५ छन् । महिना दिनमै १६ जनाको मृत्यु भयो । झण्डै १६५ देशमा पुगेका नेपालीहरू जेलमा हजारौं भएको र कतिले अन्यायमै मर्नुपरेका घटना छन् । नेपाल सरकार आफ्ना नागरिकको स्थिति के छ ? कुनै तथ्याङ्क राख्दैन, अभिभावकीय दायित्व निर्वाह गर्न सक्दैन । यस्तो सरकारलाई लोकतान्त्रिक सरकार भन्नुपर्ने ? लोकतन्त्रमा लोक नदेखिनु दुर्भाग्य हो ।
यतिबेला नेपाल सरकार युद्धरत मुलुक इजरायलमा केयरगिभरका नाममा हजारौंलाई पठाउने तैयारीमा जुटेको छ । स्वदेशमा गरिखान नपाएपछि युवाहरू रूस र युक्रेन दुबैतिरका सेनामा भर्ती भएर युद्ध लडिरहेका छन्, भोक र परिवारको पीडा सहन नसकेर जुनसुकै युद्धग्रस्त क्षेत्रमा जान सकृय भइरहेका छन् ।
भोक, घरपरिवारको दायित्व ज्यानभन्दा महत्वको हुनेरहेछ । आमनागरिकको यो बेदना लोकतान्त्रिक सरकारले बुझेन, यस्तो पद्धति जनविरोधी पद्धति बन्नपुग्यो । हो, बैदेशिक रोजगारीमा गएका युवाहरू कतिपयले अनजानमा अपराध गरेका होलान्, कतिपयले बाध्यतामा । तिनलाई कानुनी उपचार दिने जिम्मा राज्यको हो । तिनले पठाएको रेमिटान्स, कर लिने राज्यले नागरिकको सुरक्षा हेर्नुपर्र्दैन ? रेमिटान्सले राज्य चलाउने, गुड्डी हाँक्ने अनि रेमिटान्स पठाउने मरे मरोस् । यो त राज्यसञ्जाल चलाउनेहरूको कुनियत, भ्रष्ट र अलोकतान्त्रिक चरित्र भएन र ?
हरेक दिन खबर आइरहेका छन्, खाडी मुलुकमा रोजगारीमा जानेहरूको दैनिकी साह्रै कष्टकर र पीडादायक छ । उनीहरूलाई कडा काममा जोताइन्छ, समयमा खान दिइन्न, तलव दिइन्न, किनिन्छन्, बेचिन्छन्, सामान्य विषयमा पनि तिनीहरू जेल कोचिन्छन्, मर्छन्, मारिन्छन् । एउटा कम्पनीले तलव नदिएपछि अर्को कम्पनीमा जाँदा पनि जेल कोचिएका छन् । कतिपय युवतीहरू बच्चा फाल्छन्, मारिन्छन्, कतिपयलाई बच्चा पाउने भएपछि नेपाल लघारिएका घटना पनि छन् । कतिपय कम्पनीले कामदारलाई पैसा दिनुप¥यो कि चोरको आरोप लगाए जेल कोचिदिन्छन् ।
यसकारण प्रश्न उठ्छ– नेपाल सरकार छ, छ भने कहाँ छ ।
रूसमा युद्ध लड्ने जागीरमा पुगेका केही युवा मारिए । विपिन जोशी बाँचेको विश्वास छ । तिनलाई फर्काउने सफल प्रयास हुनसकेन । सरकार परिवर्तन भए, परराष्ट्रमन्त्री परिवर्तन भइरहे, सबैले आश्वासन दिए, फर्काउन सकेनन् । रूसका राजदूतलाई भनियो, राजदूतले मरेकालाई क्षतिपूर्ति नेपालमै दिन तैयार रहेको सम्म जनाउ दियो तर जोशीको अवस्थाबारे केही पनि बोलेन । युक्रेन मामिलामा नेपालले रूसका विरूद्ध राष्ट्रसंघमा मतदान गरेकैले रूस नेपाल सम्बन्धमा चिसोपन छ । नेपालले रूससँगभन्दा अन्य पश्चिमासँग सम्बन्ध सुधार गर्न चाहेको र आफ्नो परम्परागत असंलग्न परराष्ट्रनीति छाडेकाले पनि नेपालको ओरत्र र परत्र सबैतिर डावाँडोलको अवस्था सिर्जना हुनपुगेको छ । रूसको सेनामा भारतीय युवा पनि पुगेका रहेछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपतिसँग वार्ता गरेर आफ्ना नागरिकलाई फर्काउन सफल भएका छन् । तर नेपालले सकारात्मक प्रयास गर्नैसकेन । यसको अर्थ हुन्छ, नेपालको कूटनीति पानीभन्दा पातलो भइसकेछ ।
अब नेपालले युवालाई निकासी रोक्न के गर्नुपर्छ , विदेशी सेनामा भर्ती रोक्न कुन निर्णय लिनुपर्छ, जसरी पनि विश्वशान्तिमा नेपाली सेना, प्रहरी, युवालाई कसररी प्रभावकारी भूमिकामा पु¥याउन सकिन्छ ? भनेर सोच्ने बेला भयो । नेपाली भाडाका सिपाही, विदेशी बनाउने श्रमिक भएर रहिरहन सक्दैनन् । नेपालको इज्जत बढाउने, नेपालको कूटनीतिलाई प्रभावकारी रूपमा स्थापित गर्ने हो भने युवाको महत्वलाई बुभ्mनुपर्छ । यदि युवाको महत्व अझै पनि बुझ्न सकिएन भने हिजोआज युवाहरूले असफल पद्धति, भ्रष्ट नेतृत्व, राष्ट्रघाती चरित्र, कुनियत र कुशासक बिरूद्ध युवाहरू नाङ्गै प्रदर्शन गर्न थालिसकेका छन् । यो भनेको बंगलादेशमा, श्रीलंकामाजस्तो दुर्घटनाको आहट हो । आँधी आउनुअघिको सन्नाटा बुझ्न सकिएन भने यसले ठूलो नोक्सानी बेहोर्न बाध्य पार्छ । समयलाई सबैले बुझौं ।