हरेक वर्षझैं तीज नजिकिएको छ । तीज नजिकिदै गर्दा झन झन भड्किन थालेका दृश्यहरू देखिएका छन् । तीज गीतमा समेत छाडापान आउन थालेको छ । संस्कृति र परम्पराको जगेर्ना होइन, बिनास हुँदैछ ।
संस्कृतिको बचावट गर्न कुनै संस्था व्यक्ति अथवा सरकार समेत सकृय छैन । सबै छाडा गीत, भड्किलो तीजका लहरहरू हेरेर हाँस्छन्, हाँसेर संस्कृतिको नास हुँदै गएको छ । परम्परालाई कसरी बचाउने भन्नेतिर ध्यान नपुग्नु भनेको नेपालीपन, नेपाली विशेषता बिनष्ट हुँदै जानु हो ।
हरेक वर्षझैं तीज भनेर सुन र फेसनमा भड्किएको छ सेक्सी, सेक्सी तीज । यसपाली भदौ २१ गत छ हरितालिका तीज । तीज नआउँदै बजार गुल्जार छ, नाचगाना, पार्टी, हुनेखाने महिलाहरूको चमकदमक महिनौंदेखि देखिन थालेको हो, अझै चर्को रूपमा प्रदर्शन भइरहेको छ । तीज आउनु २ महिना अघिदेखि दर खाने र नाचगान गर्ने रोग यसपाली महामारीकै रूपमा सल्किएको अनुभूति जो कसैले गर्न सक्छ । जति जति तीज नगिचिदै गएको छ, महिलाहरू भड्किएर र मात्तिएर छुनुकमुनुक गरेको देखिन्छ । कुलिन बर्गका र हुनेखानेहरू त ‘तीज, दर संस्कृतिलाई सुन, आधुनिक फेसन, पश्चिमा छाडा संस्कृति’ बनाउन थालेका छन् । प्रेम वासना, यौन उत्तेजना, फेसन र गहना प्रदर्शन गर्नैपर्छ भन्ने तरिकाले तीजका भिडियो एलबमहरू सार्वजनिक भइरहेका छन् । सबै परिवार एकै थलोमा बसेर हेर्न नसकिने, लज्जावोध हुने खालका प्रदर्शनले समाज बिथोलिन थालेको, संस्कृति मेटिन थालेको झल्का दिन्छ । कतिपयले दरलाई दारूपार्टीका रूपमा विकसित गरिरहेका छन् । तीज हुनेखानेका लागि सम्पत्ति र सुख प्रदर्शन गर्ने चाडका रूपमा विकसित भइसकेको छ । प्रश्न छ, के तीज भनेको सम्पत्ति प्रदर्शन गर्ने चाड हो त ?
कहाँबाट आउँछ पैसा ? कुन तरिकाले आर्जन गरेको पैसाले तीज भड्किलो बन्दै गएको हो ? संवैधानिक पदमा रहेका, सत्तासीन, कर्मचारी, राजनीतिकर्मी, व्यापारी, उद्यमीका पत्नी, परिवारजन तीजलाई भड्किलो बनाइरहेका छन् । के तिनको सग्लो र सफा आम्दानी यसरी समाजमा सुन, फेसन प्रदर्शन गर्न पुग्छ ? पुग्दैन भने तिनको आम्दानीको स्रोत खोज्नुपर्छ कि पर्दैन ? यथार्थमा जुनसुकै पदासीन व्यक्तिका परिवारजन महगो सुन, सारी, दारूपानीको प्रदर्शन गरेर तीजलाई सम्पत्ति देखाउने पर्व बनाइरहेका छन् । यही संस्कारले सुशासन हुन नसकेको हो । हरेक सरकारी निकायमा घूस चलेको हो । परिवारजनले पदासीन व्यक्तिलाई भ्रष्ट बनाइरहेका छन् । देशलाई भ्रष्टाचारी मुलुकको दर्जामा पु¥याएका छन् । भ्रष्टाचार बढेपछि अपराधिकरण हुन्छ, अपराधिकरणबाट जोगिन शासन व्यवस्थामा राजनीतिकरण गर्छन् । त्यही राजनीतिकरणको रोगले अड्डा अदालतमा व्यभिचार र अपारधिकरण फैलिएको हो । संसद र अदालतमा समेत आइएनजीओ छिर्नु, तिनको खानपान बन्दोबस्तमा लगानी हुनु भनेको कुशासनको चर्को र अपाच्य घटना हुन् । स्वयम् सांसदले सोधेको सुनियो– हामीले खाने खाजा कुन दूतावासको, आइएनजीओको हो ? अर्थात्, भ्रष्टाचार संसदमा छ, सरकारमा छ, राज्यका सबै निकायमा फैलिसकेको छ । भ्रष्टाचार फैलिदा विश्वले नेपाल दण्डहीन मुलुक भनेरसमेत चिनिसकेको छ । नेपालले आर्जन गरेको विश्वभाइचाराको, विश्वसनीयताको सम्पत्ति ह्रासोन्मुख छ । नेपालको व्यक्तित्व कमजोर बन्दै गएको छ । नेपालले गुहार लगाएका विषयमा समेत विश्वले ध्यान दिन छाडेको छ । यसकारण भड्किलो तीजलाई उदाहरणको रूपमा लिएर भ्रष्टाचारको मुहान थुनौं ।