लोकतन्त्रमा विधिको शासन कायम हुनसकेन । लोकतन्त्रमा विधि मिचियो, सुशासन नहुनाले लोकतन्त्र बदनाम भयो । किन ? यसको जिम्मेवारी कसैले लिनुपर्ने कि नपर्ने ? जवाफदेहीता हुनुपर्ने लोकतन्त्र किन लथालिङ्ग छ ?
यक्ष प्रश्न उठिसकेको छ । सवालको जवाफ नदिएर हुँदैन । लोकले सवाल उठाउने, जवाफ नदिएकै कारणले अफगानिस्तान, श्रीलंकामा जनविद्रोह भयो, हालैका दिनमा बंगलादेशमा भएको जनविद्रोह पनि शासकको गैह्रजिम्मेवारीका कारणले भएको हो । जनतालाई झुक्याउन सकिन्छ, तर सधेंभरि झुक्याउन सकिन्न । यही लोकोक्तिको परिणाम बंगलादेश भोगिरहेछ ।
समयको प्रश्न छ– नेपाली नेतृत्वगणले गणतन्त्रको राग अलापेर नथाक्नेहरूले २७ सय वर्ष अघि राजा सुद्धोधनका दरवारमा अभ्यास गरिएको गणतन्त्र कस्तो थियो ? इतिहास पढ्नैपर्छ र पढ्ने हो भने थाहा लाग्छ, त्यतिबेला गणराज्य थियो, गण सार्वभौमसत्ता सम्पन्न थिए, राजा गणाधिपति थिए । राजा गणको धरातलमा उभिन्थे । गणप्रति जिम्मेवारी निर्वाह गर्थे । बुद्धलाई निर्वाणा प्राप्त भएपछि बुद्धले ‘संघम् शरणम गच्छामी’ भनेर जनजनमा संघीयताको मन्त्रदान नै गरिदिएका थिए । अहिलेका देउवा, ओली, प्रचण्ड लगायतका ठूलासाना सबै नेताहरूको धरातल कुन हो ? यी कस्ता गणाध्यक्ष हुन् ?
नेपाली राजनीतिमा कूट विचार छ, कुटनीति छैन । अपराधीकरण छ, राजनीति छैन । कुटिलतालाई कूटनीति मान्नेहरू अबुझ हुन् । विधि मिच्नु र सत्ता हासिल गर्नुलाई राजनीति भन्नेहरू दयापात्र हुन् । चरित्र कठपुतलीको राख्ने अनि स्वार्थी कुटिलतालाई राजनीतिक रणनीति भन्दाभन्दै जनयुद्ध र जनआन्दोलनका उपलव्धिजति मटियामेट भइसके । लोकतन्त्रका विशेषताहरू धुलिसात देखिन्छन् । संविधान त लेखियो, संविधानअनुसार २ पल्ट आवधिक निर्वाचन पनि सम्पन्न भयो तर निर्वाचनले राष्ट्ररूपी लोक, लोकका लागि ल्याएको लोकतन्त्र कौवालाई बेलपाके सरह हुनपुग्यो ।
२०५४ सालमा गरिएको एउटा अनुसन्धान रिपोर्टले देखाएको छ– मुस्ताङमाथिको दामोदर कुण्ड क्षेत्रमा पाइने दुर्लभ अर्गालिक जातिको जंगली एसियाली भेडा जो ४ फुट अग्लो र २ सय पाउण्डको हुनेगर्छ, यसको आकर्षण सिंग हो भन्ने नेपालले नबुझ्दा दिनदिनै सखाप भइरहेको छ । नेपाली जातिको सम्पूर्ण आकर्षण लुटाएर विदेशीले फालेको ‘कुत्तेका खाना’मा लुछाचुँडी गरिरहने र विदेशीले फालेको ‘अनेक अभिष्टसहितको नेपाल कमजोर बनाएर शक्तिशाली हुने विषालु भारू, डलर कुम्ल्याएर’ नेपाली एकताको शक्ति बिखण्डन र बिभाजन गर्दै भूराजनीतिको भूमरीमा नेपाल राष्ट्रलाई पार्ने कुटिलतालाई सक्षम होइन, असक्षम राजनीति मान्नैपर्छ । यस्तै राजनीतिले नेपालको गरिमा र महिमा साँघुरिएर जाँदो छ, लोकतन्त्रको राजनीति गर्छु भन्ने ठूला साना पार्टीले कुनै चिन्ता र चासो राखिएको देखिएन ।
लोकतन्त्र छ, लोकतान्त्रिक संविधान पनि छ ।
छैन, लोकतान्त्रिक विधि र मान्यता, विशेषताहरू छैनन् ।
कागजको फूल र नेपालको लोकतन्त्र उस्तै उस्तै देखिएको छ ।
अर्थात्, लोकतन्त्रको आवरणमा मुखुण्डोतन्त्र चलेको छ । मुखुण्डातन्त्र भनेको जात्रा हो, लाखेनाच हो । जुन एकछिनको रमाइलो हो । एकछिनको जात्राले देशको भाग्य र भरोसा निर्माण हुनसक्दैन । ठूला ठूला शान्ति र समृद्धिका सपना देखाउनेहरूले सपना पूरा गर्ने इच्छाशक्ति, त्याग र बलिदान दिन कोही तैयार छैनन् । यस्तो राजनीति भनेको अपराधतन्त्र हो .