Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

शान्ति र समृद्धिको मृगतृष्णा

२१ सोमबार , श्रावण २०८१एक महिना अगाडि

शान्ति र समृद्धिको मृगतृष्णा

बहुदल प्रजातन्त्र, समानता र विकासका लागि थियो,
जनयुद्ध समानता, विकास र लोकतन्त्रका लागि थियो ,
लोकतन्त्र समानता, विकास, विधिको शासनका लागि थियो ।
के सोचियो, के भयो ? कुनै पनि कक्षाको परीक्षा वर्ष दिनमा हुन्छ । पास वा फेलको नतिजा आउँछ । बहुदल कालरात्रि बन्यो । जनयुद्ध दण्डहीनताका लागि साबित भयो । लोकतन्त्रमा विधिको शासन स्थापित हुनसकेन । लोकतान्त्रिक पद्धति अपनाइयो, लोकतन्त्रमा हुनैपर्ने नैतिकता कुनै नेताले कायम गर्न सकेनन् । अचम्म छ, जनता सहिरहेका छन्, नेतृत्व जनताको सहनशीलताको कुनियतपूर्ण लाभ लिइरहेका छन् । आफूलाई लोकतान्त्रिक साँचोमा ढालेर उदाहरण बन्ने इच्छाशक्ति कुनै नेतामा पनि छैन । प्रत्येक नेता सत्ताको प्यासी छन्, शक्तिको अभिलाषी छन् । सम्पत्ति भनेपछि महादेवको पनि तीन नेत्र भनेझैं फोहरमा पनि दाँत गाड्न पछि पर्दैनन् ।
शान्ति, समृद्धि, लोकतन्त्र, विधिको शासन मृगतृष्णा बन्यो ।
नेताले सत्ताको मृगतृष्णालाई बुझ्न नसक्दा धेरै राष्ट्र संकटमा फस्न पुगेका छन् । सत्ताको मृगतृष्णामा फसेका हाम्रा नेताहरू सत्ताका लागि सिद्धान्त छाड्न पुगे, नीति र नैतिकता मौसम अनुसारका ट्यूनिक बन्यो । लोकाचार कुनै नेतामा पनि रहेन । जति इज्जत फालिन्छ, उति अग्लो नेता बनिन्छ भन्ने मान्यता स्थापित हुनपुग्यो । स्वार्थका लागि कुनै नेता, कुनै पार्टी जुनसुकै नेता वा पार्टीसँग मिल्न सक्छन्, स्वार्थ नमिल्दा एकले अर्कोलाई खुइल्याउन सक्छन् भन्ने उदाहरण कति छन् कति ? नेपाली राजनीतिमा सहमतिको स्वार्थी राजनीति र असहमतिको भड्खालो मार्ग निर्माण भइसकेको छ । राजनीति स्वार्थको सहमति र असहमतिमा चक्कर लगाइरहेको छ । जनयुद्धकालमा जनताको रगत बग्यो, बहुदल अथवा लोकतन्त्रमा जनताको रगतको आँसु बग्न रोकिएको छैन । राजनीतिमा अपराध र स्वार्थको दबदबा छ । कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपालगायतका हरेक पार्टी जनता र देशका लागि कुनै पनि बेला गुल्टिन सक्ने सातघुम्तीको यात्रा बनेको छ ।
नेतृत्व बर्गले लोकतन्त्रलाई भैंसी बनाएर छाडे । लोकतन्त्र भैंसीको नियति भोग्न बाध्य छ । दूध दिउञ्जेल दूधभात बन्यो, दूध दिन छाडेपछि न्यूरोडको मम बनेर समाप्त भयो । लोकतन्त्र नेताहरूको कमाउने र सर्वसत्ताबाद चलाउने आधारभूमि बन्नपुग्यो । हाम्रो राजनीति यति निकृष्ठ छ कि विदेशी शक्तिको पूजा गरेर अनियमितता गर्दै सम्पत्ति र शक्ति जोड्छ अनि स्वर्गको आशा राख्छ, राष्ट्रिय तथा मानवीय धर्मको ख्याल गर्दैन । यहीकारण देशमा विदेशीको हैकम चल्न थाल्यो ।
पशुपतिमा कोटी होम चलिरहेको छ । त्यहाँ जनताको भीड थेगीसाध्ये छैन । राजा आउ देश बचाउ भन्नेहरू राजदरवारको दक्षिण ढोका अगाडि धर्ना र नाराबाजी गरिरहेका छन् । त्यहाँ पनि भीडमभीडा छ । यो भीड बिद्रोह गर्न सक्दैन । यो भीडलाई रमाइलो चाहिएको छ, राजतन्त्र र हिन्दुराष्ट्र होइन । १७ वर्ष भइसक्यो, ढुङ्गा हानेर फालेको राजतन्त्र र हिन्दुराष्ट्र मागेर बसेका छन् । यो तरिकाले न राजतन्त्र पुनस्र्थापना हुन्छ, न हिन्दूराष्ट्रको पुनस्र्थापना हुनेछ । मृगतृष्णा हिजो थियो, आज छ, समय नबुझ्नु र बिद्रोह नहुनुले सपना पूरा हुनेवाला छैन ।
हिजो भ्रष्टाचार व्याप्त थियो, बिधि थिएन, बिमति थियो । आज पनि बिकराल स्थिति छ । हत्यारा र गम्भीर अपराधीहरू हिजो पनि हालीमुहाली गर्थे, आज पनि तिनकै बोलवाला छ । नयाँ नेपाल बनाउनेहरू डाँकाले गरेजस्तो मनलागी गरिरहेका छन् । विधिको शासन भत्किदै गएको छ । जता पनि राजनीतिक भागबण्डाले लोकतान्त्रिक पद्धति ग्याङ्को शासनजस्ता बन्न पुगेको छ । लोकतन्त्र भागशान्ति जयनेपाल होइन, भागबण्डा लोकतन्त्र हुनसक्दैन तर दुर्भाग्य, लोकतन्त्रले लोकलाई संवोधन नै गर्न सकेन । लोकतन्त्र लोक जीवन हुनसकेन । राजनीतिक ’बाहुबलीपन’मा मग्न भएका नेताहरू अवशरवादी रसायनका साइडइफेक्ट महामारी फैलाइरहेका छन् । यो महामारी नरोके शान्ति, समृद्धि र विधिको शासन मृगतृष्णा नै बनिरहनेछ ।