पश्चिमी अफ्रिकाबाट फैलिएको इबोला भाइरस र लामखुट्टेबाट सर्ने र सहजै सल्कने जिका भाइरसका कारण बार्बाडोस, बोलिभिया, ब्राजिल, केपटाउन, कोलम्बिया, इक्वेडर, इलसाल्भाडो, फ्रेन्च गुएना, ग्वाटेमाला, गायना, हैटी, होन्डुरस, मेक्सिको, पनामा, पाराग्वे, सुरिनाम, समोआ, भनेज्वेलादेखि अमेरिकासम्म आतंक फैलाइरहेको छ। इबोला र जिका भाइरसले लाखों प्रभावित भइसकेका छन् र हजारौंको संख्यामा मृत्युको मुखमा परिसकेका छन्। यी दुबै भाइरसका प्रभावकारी ओखती खोज्ने प्रयत्न गरिरहेका छन् बैज्ञानिकहरुले। यी मानवविरोधी भाइरस अहिलेसम्मकै सबैभन्दा खतरनाका मानिएका छन्।
उता इबोला र जिका भाइरसको आतंक फैलिएको छ। यता नेपालमा भ्रष्टाचारको आतंकले देशलाई मारिरहेको छ। इबोलाभन्दा खतरनाक छ भ्रष्टाचार भाइरस। जिकाभन्दा जोखिमपूर्ण बन्न पुगेको छ, भ्रष्टाचार भाइरस। त्यसै पनि अेमरिकालगायतका मुलुकमा पुगेका नेपाली र पर्यटकबाट इबोला र जिका भाइरस नेपाल पस्ने खतरा अत्यन्तै बढी छ। ती भाइरसले नेपाललाई बिस्तारै जकड्न सक्छ तर भ्रष्टाचारको भाइरसले नेपाली जनजीवन र अर्थतन्त्रको घाँटी यसरी निमाठ्न थालेको छ कि नेपालको विकास पक्षाघात भइसकेको छ। शासन प्रशासनमा बिधि देखिदैन। पहुँच र प्रभावकारी व्यक्तिहरु सहजै देश र जनतालाई लुटिरहेका छन्। देश र जनताप्रति जिम्मेवार राजनीतिका कुरा सबै गर्छन्, सुशासनका गुड्डी पनि हाँक्छन् र स्वाधीनताका कुरा पनि गर्छन्। यथार्थमा राजनीति भ्रष्टाचारमय छ र यही भ्रष्टाचारको मूलप्रवाह बनेको छ शासनसत्ता।
इबोला, जिका भाइरसले पश्चिमा र द्वन्द्वग्रस्त मुलुकहरुलाई पिरोलीरहेको छ। नेपाललाई बेइमान र नीतिहीनताले ङ्याकीरहेको छ। इमान, जिम्मेवारी र नैतिकताको खडेरीका कारण अत्यन्त प्राकृतिक साधनस्रोतले सम्पन्न मुलुक मगन्ते बन्न पुगेको छ। राष्ट्र कंगाल बन्दै गएको छ। केही मुठ्ठीभर व्यक्तिहरुसँग पर्याप्त धनराशी थुप्रिदै गएका छन्। हुनेखाने र गरिखाने बर्गवीच दूरी बढ्दै बढ्दै गएको छ। अनेक द्वन्द्वग्रस्त छ मुलुक। शान्ति र स्थिरता, समानता र समानुपातिक भनेर ल्याएको संविधान पनि बिबादमा परिसक्यो। जिम्मेवारबर्गको ध्यान मूल कानुन व्यवहारमा उतार्नेतिर पटक्कै छैन। उनीहरु गैरजिम्मेवार बनेर सत्ता, शक्ति र सम्पत्तिका लागि षडयन्त्र गरिरहेका छन्। लोकतान्त्रिक व्यवस्थामा कालोतन्त्र भ्रष्टाचारको कालतन्त्र ढसमस्स बनेर राष्ट्रियतासँग खेलबाड गरिरहेको छ। जतिसुकै लोकतन्त्र भने पनि यथार्थमा नेताहरुको सिण्डिकेटले देशलाई एकतामा, बिधिमा, सुशासनमा बाँध्न सकेन। इबोला र जिका भाइरसभन्दा खतरनाक बन्दै गएको छ भ्रष्टाचार भाइरस नेपाल र नेपालीका लागि।