Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

नेतृत्वपंक्ति बेलायततिर हेरौं

१४ सोमबार , श्रावण २०८१२ महिना अगाडि

नेतृत्वपंक्ति बेलायततिर हेरौं

लोकतन्त्र बेष्ट मिनिष्टर पद्धति हो । यो पद्धतिको अनुकरण गरेपछि यो पद्धति कसरी चल्छ भनेर त्यसको तौरतरिका पनि अनुकरण गर्नुपर्छ । व्यवस्था लोकतन्त्र अपनाउने, चरित्र लज्जाहीन देखाउने कसरी चल्छ पद्धति ?
बेलायतमा चुनाव भयो, ऋषि सुनकको पार्टीले नराम्रो पराजय भोग्नुप¥यो । जनादेशलाई आदेश मान्ने सत्ताधारी पार्टीका प्रम ऋषि सुनकले भोलिपल्टै राजीनामा दिए, आफ्नो नियमित जीवनचर्यामा लागे । चुनाव जित्ने नेता सत्तामा पुगे, तत्कालै राजाले प्रम नियुक्ती गरेर सपथ ख्वाए ।
अर्थात्, अत्यधिक बहुमतका साथ बिजयी भएका केर स्टार्मर प्रधानमन्त्री बन्न सफल भए । उनले घोषणा गरे– तत्कालै आफ्नो सम्पूर्ण ध्यान जनादेशमार्फत पाएको जनताप्रतिको जिम्मेवारी निर्वहनमा हुनेछ ।
प्रम केर स्टार्मरले घोषणा गरे– चुनाव सकियो, सरकार बन्यो । अबको प्राथमिकता पहिले देश अनि पार्टी हुनेछ । पार्टी भनेको विचार हो । फरक फरक पार्टीको फरक फरक विचार हुन्छ । तर देश भनेको ती सबै पार्टीको हो । त्यसैले विचारभन्दा माथि देश हुन्छ । सरकारले देशको हित हेर्छ ।
धन्न देश अनि पार्टी भन्दा प्रम स्टार्मरलाई चरम दक्षिणपन्थीको आरोप लगाएनन् । किनभने नेपालमा पहिले आफू, पार्टी हो । त्यसपछिमात्र देश हो । जो देश भन्छ, देशभक्त छन्, तिनलाई चरम दक्षिणपन्थी, प्रतिगामी भन्ने प्रचलन जो पार्टी तथा नेताहरूले बसालेका छन् । नेपाली राजनीतिक बर्गले कहिले पनि बुझेनन्– नीति, नैतिकता, विचार र देशको स्थान के हो ? हाम्रा नेताहरू नीति र नैतिकता त्याग्छन्, लोकलज्जा मान्दैनन्, देशलाई आफ्नो पार्टीभन्दा तल ठान्छन् । देश भाडमे जाय, पार्टीको जय विजय हुनुपर्छ ।
हुनुपर्ने के हो भने देशको जय विजय भयो भने पार्टीको जय विजय हुने हो । यति सत्य बुझ्न बहुदल अपनाएको ३४ वर्ष, लोकतन्त्र ल्याएको १७ वर्षमा पनि हाम्रा नेताहरूले सिक्न सकेनन् । बेलायतमा लिखित संविधान छैन तर नैतिकताको उच्च मूल्याङ्कन हुन्छ । नैतिक धरातल र लोकआवाज सुनेर वेष्ट मिनिष्टर पद्धति बेलायतमा चलिरहेको छ । नेपालमा त्यही पद्धतिको सिको गरियो । ८ वर्ष लगाएर संविधान पनि लेखियो, दुईपल्ट आवधिक निर्वाचन भइसक्यो । नीति, सिद्धान्त र नैतिकता के हो, जनताप्रतिको निष्ठा र जिम्मेवारी तथा पदीय जवाफदेहीता के हो, अत्तोपत्तो छैन । जो पनि सत्तामा पुग्ने, जो पनि भ्रष्टाचार र अनैतिक कृयाकलापमा संलग्न हुने, कानुनी कारवाही केही पनि नहुने । वेष्ट मिनिस्टर पद्धतिको खिल्ली उडिरहेको छ ।
चुनाव हुन्छ, आफूले जित्नै पर्ने । नजिते धाँधली भनिहाल्ने । सत्ताका लागि जोसँग पनि सेटिङ गर्न सक्ने । भ्रष्टाचार र कमिशनमा भाग शान्ति जय नेपाल गरिहाल्ने । एकले अर्कोलाई बचाउने । कारवाही हुनथाल्यो कि सत्ता परिवर्तन गरेर छोपछाप पारिहाल्ने । नेपालको अवनतिको कारण नै नैतिकहीनता हो । जुन व्यवस्थामा उच्च नैतिकता चाहिन्छ, त्यो व्यवस्थाका सञ्चालकहरू नैतिक हीन हुन्छन् र विधिलाई मिचेर अघि बढ्छन् भने त्यो व्यवस्था बदनाम हुन्छ, नेपालमा लोकतन्त्र बदनाम भइरहेको छ । असफल नेता भए, तिनले असफलताको धब्बा लोकतन्त्रमाथि पारेर आफू पानीमाथिको ओभानो बने ।
अति भयो । देश र जनताको हक र हितको खति भयो ।
यसरी चल्दैन, चल्न दिनुहुन्न । नेतृत्वतहले जिम्मेवारी बोध गर्नुप¥यो । राष्ट्र पहिले भन्ने नीति अख्तियार गर्नुप¥यो । अन्यथा नेतृत्वको कमजोरीका कारण जुन महगो मूल्य देश र जनताले चुकाइरहेका छन्, यस्तै हो भने देशको अस्तित्व संकटमा पर्नेछ । प्रत्येक नेपालीमा चेत फिर्ने बेला यही हो ।