Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

नेता भाँडिए, देश भत्कियो

०८ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

नेता भाँडिए, देश भत्कियो

नेता भाँडिदा देश भत्कियो । नेता नैतिकवान भएका भए यसप्रकारले देशको कहालीलाग्दो अवस्था हुने थिएन । नेता अझे पनि सुध्रिन्छन् कि भन्ने जनताको अपेक्षा छ तर नेताहरू अझै पनि कुनियतकै बन्दी बनेका छन् ।
नेता सत्तामुखी बने, शक्तिको रापतापमा खोज्ने भए । नेताहरू जिम्मेवारी भुलेर सूर्यमुखी बने्, सूर्यमुखीहरू सत्ताबाहेक अरू केही देख्दै देख्दैनन् । स्वाभिमान लुटिदा वा लुटाउँदा हाँस्ने र स्वादको जिब्रो फड्कार्नेहरूलाई मिरजाफर भनिन्छ । देशको संसद, सत्ता र सडकमा तिनकै बोलवाला छ । त्यसैले राष्ट्रियता लावारिस बन्नपुग्यो । नेताहरूलाई बासमती चामलको बासी भात खुवाएर पटक पटक दिल्लीले नेपालको अपमान गर्ने गरेको छ । विवेक हुनेहरू आफूलाई सुधारिएको बाल्मिकी पथमा लगाउँछन् । यी जतिपटक ढुङ्ग्रोमा हाले पनि सिधा हुनेवाला छैनन् । बुद्धिजीवी र नेतृत्व बिदेशी स्वार्थको पोखरीमा डुबेर निथ्रूक्कै भिजिसक्यो, अझै चेत फिरेन ।
देशको स्थिति किन सुध्रिन सकेन, यसमा कहिल्यै दलहरूले निर्मम समीक्षा गर्ने आवश्यकता नै ठानेनन् । राष्ट्र भनेको पार्टी होइन । पार्टी राष्ट्रभित्रका संस्थामात्र हुन् । संस्था सफल हुनुपर्छ । राष्ट्रिय संस्कारको साँचोमा पार्टीहरू ढालिनुपर्छ । यहाँ त पार्टीको साँचोमा राष्ट्रलाई ढालिएको छ । राष्ट्रका हरेक सञ्जाललाई पार्टीकरण गरिएको छ । यहाँसम्म कि अदालतसमेत सर्वदलीय संस्थाजस्तो भनेर आरोपित हुनपुगेको छ । यो लोकतन्त्र होइन । यस्तो अव्यवस्थालाई लोकतन्त्र भन्नु सरासर ढाँट्नु, छल्नु हो ।
स्पष्ट हुनुपर्छ, लोकतन्त्र भनेको नाममात्र होइन । लोकतन्त्रमा लोक कहाँ छन्, लोकका मतादेश र अपेक्षावीच तालमेच छ कि छैन ? संविधानअनुसारको विधिको शासन राष्ट्रचरित्र बन्यो कि बनेन ? लोकको जीवनयापनमा संविधानको झल्का र विश्वास प्रतिविम्बित छ कि छैन ? यत्ति जानेपछि बुझिन्छ, लोकतन्त्र लोकको जीवनपद्धति हो कि होइन ? लोकले यो पद्धतिलाई अपनत्व ग्रहण गरे कि गरेनन् ? लोकतन्त्र छ भनेर जबरजस्ती भाषणबाजी गरेर सत्ता र शक्तिको दुरूपयोग गर्नु अर्को निरंकूशता हो, जुन जारी छ ।
शासन, प्रशासन जता हेरे पनि कृष्णभीर लस्किए झैं पहिरो जाँदो छ । राष्ट्रलाई बचाउने र शान्ति, समृद्धितिर अघि बढाउने योजना कुनै दलभित्र पनि छैन । जे छ, त्यो भाषणमात्र छ । भ्रष्टाचारमात्र छ । कोरा भाषण महाभारतमा अस्वस्थामा हतोहत भन्ने कपटी प्रचारमात्र हो । कपटी भाषणले राष्ट्र बन्दैन, बच्दैन । भ्रममात्र छर्छ । भ्रम गर्ने पनि पछुताउँछ, भ्रमलाई सत्य ठान्ने पनि पछुताउनु पर्छ । नेपालमा लोकतन्त्र यस्तै पछुताउ पद्धति बन्यो ।
१६ खर्बको बजेट, १२ खर्बको प्रशासन खर्च, २४ खर्बको ऋण, १६ खर्बको ब्यापार घाटा, ऋणको सावाँ ब्याज तिर्ने कि विकास गर्ने ? जे जति बजेट छुट्याइन्छ, त्यसमा ८० प्रतिशतभन्दा बढी चुहावट । नेपालको अर्थतन्त्र चलायमान छ भनेको युवा निकासी गरेर प्राप्त हुने खर्वौंको रेमिटान्स हो । उत्पादन १ खर्बको हुँदा आयात ९ खर्बको हुन्छ । पराधीनता बढ्दो छ, परजीवी दैनिक चलिरहेको छ । आत्मनिर्भरता केहीमा पनि छैन । यी सबै तथ्यले बताउँछ, नेपालको आर्थिक मेरूदण्ड भाँचिसकेको छ । कुनै पनि बेला नेपाल असफल राष्ट्र बन्नसक्छ । तैपनि के गर्ने ? राष्ट्रिय बहस चल्दैन ।
नेता भाँडिए, देश भत्कियो । लथालिङ्ग हुँदा अभिभावक छैन सुझाव दिने, खबरदारी गर्ने । शासित पनि आफै, अभिभावक पनि आफै बन्नुपर्ने जनताको बाध्यता छ । अब जनता जाग्नुपर्छ । नेतालाई तह लगाउन, भत्किएको देशलाई फिट राख्नका लागि । उठ्ने कि सकिने ? आजको प्रश्न यही हो ।