लोकतन्त्रमा लोकनेता कस्तो हुनुपर्छ ? लोकतन्त्रका गरिमा र महिमा, विशेषता के के हुनुपर्ने हो ? ती कुनै पनि विशेषता नेपालको लोकतन्त्र र लोकनेतामा देखिदैन । तैपनि उनीहरू भनिरहेका छन्– नेपालमा लोकतन्त्र छ, लोकतन्त्र सफल बनाएका छौं । तिनै नेताहरू संविधानमा सुधार खोजिरहेका छन्, सत्ताका लागि संविधान सुधार गरेर लोकतन्त्रलाई अझ सफल पार्ने भनिरहेका छन् । लोकतन्त्र तमासा बन्दा पनि लोकनेतालाई लज्जाबोध भइरहेको छैन । आम नेपाली नेताहरूको यस्तो नैतिकहीनता देखेर वाक्क भइसकेका छन् । बिद्रोह गर्न नसक्ने जनताहरूमाथि नेतृत्वले हेपेका छन्, झन झन हेप्दै गएको देखिन्छ । नेतृत्वले बुझेका छैनन्– जनतालाई झुक्याउन सकिन्छ, फेरि पनि झुक्याउन सकिन्छ तर सधैं झुक्याउन सकिदैन ।
नेपालका नेताहरू रोमका सम्राटजस्ता लाग्छन् ।
रोम जलिरहेको छ, सम्राट निरो बासुरी बजाइरहेका छन् ।
भूकम्प होस् कि कोभिडको महामारी । अहिले बाढी पहिरोले आम जनता पीडामा छन् । जनताको पीडा कसरी कम गर्ने ? कसरी जनतालाई राहत दिने, कसरी जनतासँग मिलेर काम गर्ने भन्ने केही पनि छैन । संसदमा सत्ताको महाभारत चलिरहेको छ । सत्ताधारी र प्रतिपक्षीवीच अविश्वासको दूरी बढेर गएको छ । एकदोस्रालाई कसरी खुइल्याउने तीब्र प्रतिस्पर्धा चलिरहेको छ । देश संकटमा छ, जनता अर्थात राष्ट्र संकटग्रस्त छ । अर्थतन्त्रदेखि राज्यका सबै सञ्जाल र विषय जेलिदै गएका छन् । समस्या समाधानमा जनप्रतिनिधि, पार्टी कसैको पनि ध्यान छैन । सबैको चासो सत्तामा छ, कसरी एकले अर्कोलाई असफल पार्ने, कमजोर बनाउने र आफ्नो बर्चस्व कायम गर्ने भन्ने विषयलाई राजनीतिक अर्थ दिइएको छ । राजनीतिको कार्य समाज सुधारका लागि रूपान्तरण ल्याउने भन्ने कसैले पनि बुझेका छैनन् । यिनले बुझेको भनेको जसरी पनि सत्ताप्राप्ति र सत्तामा हालीमुहाली गर्नु नै लोकतन्त्र भन्ने छ । यही कारण राजनीतिमा अपराधिकरण, अनियमितता र दुर्गुणहरू बढेर गएका हुन् । राजनीति स्वच्छ, सफा र अनुकरणीय हुन नसक्नुको कारण हो । भर्खरै बेलायतमा चुनाव भयो । प्रधानमन्त्रीको पार्टीले चुनाव हा¥यो । प्रतिपक्षीले चुनाव जिते । तत्काल साधारण तरिकाले प्रधानमन्त्रीले हार स्वीकार गर्दै राजीनामा दिए, प्रतिपक्षी सत्तामा गयो । हार खाएकाले आफ्ना कमजोरीप्रति आत्मसात हुँदै सुधार गर्ने बयान दिए, जित्नेले तत्कालै जनताका अपेक्षामा ध्यान दिने प्रतिवद्धता जनाए ।
लोकतन्त्र अर्थात वेष्ट मिनिष्टर पद्धतिमा प्रचलन र नैतिकताको महत्व हुन्छ । योग्यताको कदर, पारदर्शिता र जवाफदेहीता हुन्छ । तर नेपालमा राष्ट्र र जनता पीडामाथि पीडा झेलिरहेका छन्, नेताहरू नागाबाबा बनेर सत्ताको जूवा खेलिरहेका छन् । नैतिकताको यो खडेरीले यिनलाई निरोजस्तो बनाएको छ । जसरी रोम जलिरहदा निरो भ्वाइलिन बजाइरहेका थिए, त्यसैगरी देश र जनता मरिरहेका छन्, मर्दैछन्, बाँच्नका लागि कठिन संघर्ष गरिरहेका छन्, लोकनेता भनाउँदाहरू सत्ताका लागि प्रतिस्पर्धामा जुटेका छन् । एकले अर्कोलाई आलोचना गरेर समय बिताइरहेका छन् । लोकतन्त्रको यो तमासा नेपालमा मात्र देखिन्छ । नेपाल सोमालिया हुँदै गएको संकेत हो यो । यस्तो लोकतन्त्र हुनुभन्दा यसलाई बदल्नु जरूरी देखिन्छ ।
पञ्चायत, राजतन्त्र समस्या हो भनेर परिवर्तन ल्याएको हो, आएको हो, समस्या त नेतृत्व पंक्तिमा नैतिक धरातल नहुनु रहेछ । जुन पद्धतिमा पनि नैतिकता भएन भने, त्यस्तो नेतृत्वले परिवर्तनको अनुभूति हुन दिदैन, परिवर्तन बाँदरको हातमा नरिवल मात्र हुनेछ । नेपालमा यस्तै भइरहेको छ ।