नेपालको ठूलो समस्या भनेको ब्रेन ड्रेन हो । ब्रेन गेनतिर कसरी लैजाने, समस्याको समाधान कसरी सम्भव छ ? यो विषयमा सरकारले बुद्धिजीवी, विज्ञ र नागरिक समाजसँग गम्भीर बहस चलाएर योजना तैयार गर्नुपर्छ र योजनालाई सफल पार्न सबैले सक्दो योगदान गर्न जरूरी छ । अहिलेसम्म न त सरकारले यसतिर ध्यान दिएको छ, न विज्ञ, नागरिक समाजले नै सरकारलाई सुझाव दिएको छ । नेपालमा गरिखान पाइन्न भन्ने भाष्य स्थापित भइसकेको छ । यो भाष्य सही होइन भन्नका लागि समेत देशव्यापी बहस चलाउन जरूरी छ । खाली लोकतन्त्र लोकतन्त्र भट्याएर केही हुनेवाला छैन, विदेशीन चाहने मनस्थितिमा परिवर्तन आउनेवाला छैन । शिक्षाको प्राविधिकरण, हरेक विद्यार्थीले सीप सिक्नसक्ने वातावरण, नेपालमै उच्चशिक्षा पढ्ने र नेपालमै रोजगारी पाइन्छ भन्ने विश्वास दिलाउन नसक्नु लोकतन्त्रको सबैभन्दा ठूलो कमजोरी हो । नेतृत्व बर्गको असफलता हो ।
वैदेशिक रोजगारीमा गएका, विदेशमा सीप सिकेर र स्थायी बसोबास गर्नेहरू समेत नेपालमा केही गर्छु भनेर आउनेहरू पनि छन् । लगानी सम्मेलन गर्दा ६ अर्बको लगानी प्रतिवद्धता आउनुले पनि सरकार र सरकारी नीति कति अविश्वसनीय र भरपर्दो छैन भन्ने देखिन्छ । देशले गरेको लगानी सम्मेलनमा सानो उद्योग पनि खुल्न नसक्ने लगानी आउनु लोकतन्त्र र यसका लगानी नीतिहरूप्रतिको अविश्वास हो । कसरी नेपाललाई लगानी मैत्री बनाउने, कसरी पर्यटकहरूको आकर्षक हब बनाउने भन्ने चुनौती छ । यो चुनौतीको सामना गर्न एउटा पार्टी, एउटा सरकार अथवा केही सांसदको चासोको कुरो होइन यो, राष्ट्रिय समस्यामा राष्ट्रिय तहमै बहस हुनुपर्छ । पार्टीहरूले बुझ्नुपर्छ देश भएमात्र राजनीति रहन्छ । देश देशजस्ता हुनका लागि देशवासीले देशमै केही गर्न सकिन्छ, भविष्य छ भन्ने विश्वास गर्नसक्नुपर्छ । यसका लागि परजीवी मानसिकता, भ्रष्ट आचरण, अनैतिक चरित्र, सिद्धान्तहीन राजनीति, निष्ठाहीन परिवेश हट्नु जरूरी छ । नेपालमा लोकतान्त्रिक चरित्रको अभाव छ, यही भयावह स्थितिको कारण लोकतन्त्रका नाममा बढेको बिकृति र बिसंगति हो, नेतृत्वमा जिम्मेवारी र जवाफेहीता नराम्ररी खड्कियो ।
आज प्रत्येक विद्यार्थीलाई सोधे थाहा हुन्छ– प्लस टु पढेर विदेश जाने हो । प्रत्येक युवालाई सोधे सुनिन्छ– गरिखान पाइएन । विदेश जाने हो । सहर बजारमा कन्सल्टेन्सी ब्यापार खुब फस्टाएको छ । दलालहरूको यो पसलमा युवाहरूको भीड लाग्छ । एकथरि भीड पासपोर्ट लिन, अर्कोथरि भीड वैदेशिक रोजगारी खोज्न र श्रम स्वीकृति लिन, अर्कोथरि भीड एयरपोर्टमा विदेश जानका लागि । विद्यार्थी हुन् कि वैदेशिक रोजगारीमा जान लागेका युवा हुन्, तिनलाई बिदाई गर्न आएका बुढा आमाबाबु, श्रीमती वा परिवारजन आँसुका धारा बगाएर बिदाई गरिरहेका हृदयबिदारक दृश्य हरेक दिनको दिनचर्या हो नेपालमा । श्रम ड्रेन, ब्रेन ड्रेनले नेपाल नाङ्गिदो छ । पहाड, तराईमा बालीनाली लाग्न छाडेका छन् । नेपाल आयात गरेर खाने मुलुक बन्यो, आत्मनिर्भरतामा केही पनि छैन । यो समय प्रत्येक नागरिकले सम्मान पाउनैपर्ने समय थियो । यो समयमा विदेश जाने रोकिनुपथ्र्यो, जो विदेश गएका छन्, तिनीहरू फर्कनुपथ्र्यो, केही हुन्छ, केही गर्छु भन्नेहरूको हौसला बुलन्द हुनुपथ्र्यो । उत्साह यसरी निरूत्साह हुनुहुन्थेन । देश केही बुढा नेताको कब्जामा छ, तिनीहरू सेटिङमा चल्छन्, सत्ता चलाउँछन् । विधि कुल्चन्छन्, अन्याय बढाएर राजनीतिलाई अपराधी बनाइरहेका छन् । बिधि र चरित्रले देश बन्छ भन्ने भावना फैलाउनका लागि ब्रेन ड्रेन रोकौं, रोक्न सबै लागौं ।