Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

शक्तिको स्रोत दिल्ली कि नेपाल?

२६ मंगलबार , माघ २०७२९ बर्ष अगाडि

वीरगञ्ज नाका खुल्नासाथ नाकावन्दी खुल्यो। अव नेपाली नेताहरुलाई शक्तिको स्रोत नेपाल नै हो भन्ने दिव्यज्ञान दिल्लीले दिनुपर्छ भने नेपाली नेताहरुलाई शक्ति खोज्न दिल्ली धाउनु राष्ट्रघात हो भन्ने ज्ञान हुनुपर्छ। नाका खुल्नासाथ प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण फागुन ७ गते हुने फर्मान जारी गरे। ओली दिल्ली किन जाने? जाँदा लाने एजेन्डाहरु के के हुन्? विज्ञ समूहले ओली सरकारलाई दिएको सुझावको फेहरिस्त कस्तो छ? यी आदि विषयमा नेपाली जनतालाई सुसूचित गराउने जिम्मेवारी प्रधानमन्त्रीको हो। जानु अघि प्रम ओलीले संसदमा भारत भ्रमणबारे छलफल चलाएर संसदको बलसमेत बोकेर गए उनको हैसियत झन बलियो हुनेछ। भारतसँग वार्ता गर्दा उनलाई राष्ट्रिय समर्थन प्राप्त छ भन्ने लाग्नु उचित हुनेछ।
    मधेस आन्दोलन र भारतीय नाकावन्दीले भारतलाई विश्वसामु निम्छरो, हुकुमी र हस्तक्षेपकारी भनेर दोष लागेको विषयले सत्तारुढ दलहरु आत्मरती गरिरहेका छन्। यो गलत सोच लिनु भनेको आफैमा कमजोरी हो। सोच र खोज के हुनुपर्छ भने भावी दिनहरुमा नेपाल र नेपालको अर्थतन्त्रलाई नाकावन्दीजस्तो अपराधबाट जोगाउने कसरी? अर्थतन्त्रमा प्रभाव पर्नबाट रोक्ने कसरी? नेपाली जनजीवन सधैं सामान्य रहिरहोस् भनेर नेपाल सरकारले के के गर्न सक्छ, त्यसको योजनावद्ध तैयारीमा जुट्नु उपयुक्त हुनेछ।     र, नाकावन्दी र मधेसी आन्दोलनले पहाड र मधेसवीच जुन मानसिक दूरी बढाएको छ, जातीय विभेदको मुद्दा उठाएको छ र समानता छैन कि भन्ने आशंका विश्वव्यापी बनाएको छ, यही आशंका भारतलाई पनि बाक्लै रुपमा प्रभावित पारेको छ, प्रधानमन्त्री ओलीले यी सबै विषयमा छर्लङ्ग हुनेगरी दिल्लीलाई बुझाउनुपर्छ, मधेसी दलहरुलाई सन्तुष्ट पार्नुपर्छ। ताकि आइन्दा शक्ति र माग पूरा गराउन कुनै पनि मधेसी वा अन्य दल अथवा नेता फेरि फेरि दिल्ली जानुपर्छ भन्ने मानसिकताबाट अहिले नै मुक्त होउन्। भारतीय रणनीतिकारहरुलाई पनि नेपाललाई दुःख दिएर भारतको 'छिमेकी पहिले' नीति कहिल्यै सफल हुनसक्दैन भन्ने विषय पनि भन्नैपर्छ। भारतले नाकावन्दी लगाउँदा नेपालले ठूलै आर्थिक समस्या भोग्नुपरेको र दुईदेशवीचको रोटी र बेटीको निकट सम्बन्धमा ठूलै चोट लाग्न पुगेको विषयमा पनि प्रम नरेन्द्र मोदीलाई स्पष्ट रुपमा भन्ने हिम्मत प्रम ओलीमा हुनु बाञ्छनीय छ। ताकि भारत भ्रमण मात्रै औपचारिकतामा सिमित हुन नपुगोस्।
र, भारतले हेप्नुको कारणहरुमध्ये बिद्यमान सन्धि सम्झौताहरु प्रमुख कारण हुन् भन्ने बुझेर ती सबै सन्धिसम्झौताहरुमा पुनरावलोकन तत्काल थाल्न प्रस्ताव गर्नुपर्छ। नेपालको विकासमा भारतको सकारात्मक सोच हुनुपर्छ, यसका लागि कतिपय आयोजना ओगटेर राख्नु भएन, तत्काल सम्पन्न गर्नतिर भारतले ध्यान दिनुपर्छ भन्ने विषय पनि ओली भ्रमणको एजेन्डा हुनुपर्छ। भारत विश्वशक्ति बन्ने हो भने छिमेकीप्रति सही नीति किन हुनसकेन भारतको? यस विषयको उठान प्रम ओलीले गर्नैपर्छ। किनकि नेपाल पनि भारत पीडित मुलुक बनेको छ। यस्तो पीडाले भारतका प्रति सम्मान बढाउँदैन। नेपालको लोकतन्त्र र सार्वभौम परिचयमा भारतको सम्मान लिएर आउनुमा नै ओलीको भारत भ्रमणको सफलताको मापन हुनेछ। भारत भ्रमण नेपाली जनताका लागि ओलीले गरेको अर्को तमासामय ठट्टा कदापि साबित हुनुहुन्न।