नेपाल हिन्दुराष्ट्र थियो । सर्वधर्म समभावमा चलेकै थियो । आमनागरिकले हिन्दुराष्ट्र हुनुपर्छ भनेर सुझाव दिएकै थिए । तर संविधान जारी गर्ने बेलामा हिन्दुराष्ट्र हटाइयो, धर्मनिरपेक्ष राष्ट्र लेखेको संविधान जारी भयो । यो संविधान जारी भएपछि कुनै चमत्कार भयो भने धर्म परिवर्तनको भेल पस्यो, धार्मिक द्वन्द्वको खतरा बढ्यो । कुनै पनि बेला बिबादको आगो डढेलो बन्नसक्छ । १ सय २६ जाति, विविधि धर्मावलम्बी मिलेर बसेको नेपालमा धार्मिक छुवाछुत बढेर गएको छ, तिक्तता हल्कदो छ । कुनै पनि बेला धार्मिक हिंसाका दुर्घटना हुने खतरा बढेर गएको छ । संविधान जारी गर्नेहरूले यस्तो दुर्घटना हुन नदिन कुनै व्यक्तित्व निर्माण गरेका छैनन् । यिनीहरू पन्छिनेछन्, समस्या देशलाई पर्नेछ, नेपाली नेपालीवीच मारामार हुनसक्छ । यिनीहरूको त के जान्छ र ? रक्तपात र बैमनुस्यता त नेपाली नेपालीमा हुनेछ ।
इतिहासका घटनाको स्मरण रहोस्, युरोप इसाइकरण हुन ५० वर्ष लाग्यो । इजिप्ट ५० वर्षमै मुसाइकरण हुनपुग्यो । २०७२ मा धर्मनिरपेक्ष संविधान जारी भएपछि भित्रभित्रै मुसाइकरण र खुलेआम इसाईकरण चम्किएको छ, गरीब नेपालीलाई लोभलालचमा पारेर धर्मपरिवर्तन भइरहेको छ । संविधानले धर्म परिवर्तनमा रोक लगाएको छ, धर्मनिरपेक्षताका नाममा र पैसाका बलामा धर्मपरिवर्तनको महामारी नेपालभरि सल्किसकेको छ । यो विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत समाचार आएका छन् । तैपनि हिन्दुवादीहरूमा चेत फिरेको छैन । हिन्दुवादीहरू खतरा देख्छन्, बोल्दैनन्, मौन बस्छन् ।
संविधान जारी हुनासाथ ‘हिन्दुराष्ट्र नेपाल पैसामा’ बिक्री भएको खबर प्रकाशित भएको थियो । पैसा पाएकाहरूले अकस्मात नेपाललाई केही राजनीतिक दलहरूले धर्मनिरपेक्ष घोषणा गरिदिए, अहिले गल्लीगल्लीमा चर्च फैलिएका छन् । १४० मुलुकमा फैलिएका ३ सय करोड हिन्दुलाई नेपाल इसाइकरण हुँदै गएको चिन्ता होला तर हिन्दुका ठेकेदार बनेका नेपालका धर्मभिरूहरू किन मौन छन् ? हिन्दुत्व बचाउने अभियान किन चलिरहेको छैन ? हिन्दु छन्, ॐकार परिवार ९४ प्रतिशत छन्, ती सबै इसाइकरणको महामारीलाई हेरिरहेका छन् । महामारी रोक्न बोल्दैनन् ।
जानकारी रहोस्, २०१७ सालमा २५ जना क्रिश्चियन बनेका थिए । २०६३ साल जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भएपछि र २०७२ मा धर्मनिरपेक्ष संविधान घोषणा भएपछि क्रिश्चियन धर्म मान्नेहरू ३५ लाख नाघिसकेको अनुमान छ । यो तथ्यांकले हिन्दु हुँ भनेर संघ संगठनका प्रमुख हुनेहरूलाई मनमा घोच्छ कि घोच्दैन ? तिनीहरूलाई हिन्दुधर्म मासिदै गएकोमा बिज्छ कि बिझ्दैन ? हरेक हिन्दु गुरूलाई आफै धर्मगुरू हुँ भन्ने अहंकार छ । यही अहंकारले गर्दा हिन्दु एकता भाँडिएको छ । एकता भाँडिनु भनेको कमजोर हुनु हो, समाप्तितिरको यात्रा हो । यति हुँदा पनि हिन्दुवादीहरू जाग्दैनन् ।
हिन्दु धर्म, संस्कृति, परम्परा, जात्रा अनेक छन् । यी पर्वहरूमा हिन्दुवादीहरूको लस्कर देखिन्छ । मन्दिरमा पाइला राख्ने ठाउँ भेटिदैन । अर्थात्, धर्मप्रति चेत छ, धर्मप्रति आस्था छ । आस्थाले धार्मिक प्रवृत्तिलाई बिकसित पारेको छ । आफ्नो आस्थामाथि घात हुँदा, प्रहार हुँदा आस्थावानहरूलाई जागृत पार्ने, एकताबद्ध पारेर धार्मिक आस्था फैलाउने काम कसैबाट भएन । विश्वहिन्दु संगठनदेखि अनेक हिन्दुवादी संघ संस्थाहरू छन्, हिन्दुवादका ज्ञानीहरू छन्, ती सबै आआफैमा मगनमस्त छन् । आफै ठूलो हुँ भन्ने भ्रममा छन् । धर्ममाथि धावा बोल्नेक्रम जब तीब्र हुनेछ, इसाइकरणको बोलवाला हुनेछ, त्यतिबेला ॐकार परिवारका ९४ प्रतिशत आस्थावानले के गर्लान् ?