Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

विवाहपद्धतिबारेमा भारतीय अदालत

२४ सोमबार , बैशाख २०८१३ महिना अगाडि

विवाहपद्धतिबारेमा भारतीय अदालत

भारतको सर्वोच्च अदालतले हिन्दु विवाहपद्धति र विधिहरूका बारेमा फैसला गरेको रहेछ– हिन्दु विवाह पद्धतिअनुसारका सबै विधि पूरा नगरीकन गरिएका विवाहलाई मान्यता दिन मिल्दैन । विवाह दर्ता हुँदैमा मान्यता मिल्दैन । टाइम्स अफ इण्डिया, मे २ मा लेखिएको छ– विवाह पवित्र कार्य हो, नाच–गान र मदिरासहितको भोज–भतेर होइन । यसरी अदालतले आदेश दिए पनि भारतमा हिन्दु परम्पराअनुसारका विवाह हुने गरेका छैनन् । धेरैजसो पढेलेखेकाहरू दर्ता विवाह गर्छन् । भोजभत्तेर र नाचगानका साथ विवाह गर्ने प्रचलन झन बढेको छ । अझ भारतमा त दहेज (दाइजो)को समस्या दिनदिनै बढेर जाँदो छ । कतिपय हिंसाका घटना दाइजोकै कारण घट्ने गरेका छन् ।
नेपालमा पनि दर्ता विवाह बढेका छन् । खासगरी सुनचाँदीका गरगहना, महगा कपडा देखाउने क्रम बढेको छ । महगा महगा पार्टी प्यालेसमा लागूपदार्थसहितको भोजभत्तेर, नाचगानको प्रचलन सामान्य हुनथालेको छ । पहिले पहिले रात बस्ने विवाह, जन्तीबाख्रोको परम्परा थियो, अहिले आएर एकदिने विवाह हुनेगरेका छन् । खासगरी सुन र महगा लुगा देखाउने होडबाजी नै चलेको छ । सामान्य जागीरे अथवा ठूला पदासीन व्यक्तिहरूले समेत सामाजिक प्रचलन र कानुनी प्रावधानलाई समेत मिच्ने गरेका छन् । प्रधानमन्त्रीकै परिवारमा भएको विवाह, अन्य धार्मिक अनुष्ठानमा समेत कानुन तोडिएका अनेक दृष्टान्त छन् । शक्ति र सम्पत्ति प्रदर्शन गर्ने होडबाजीलाई सत्ता र शक्तिमा बस्नेले नै उल्लंघन गरेपछि समाजमा विकृति फैलिने नै भयो । अझ अन्य देशमा समलैङ्गिक विवाहलाई मान्यता नदिने निर्णयहरू भएका छन् तर नेपालमा अदालत नै मान्यता दिने निर्णय गरेको छ । अधिकांश युवाहरू वैदेशिक रोजगारीमा गएका छन्, जानका लागि युवाहरूको दौडादौड चलिरहेकै छ । यो अवस्थामा अदालतले लिभिङ् टुगेदर बस्नु कानुनी मान्यता दिएपछि समाजमा झन बढी बिकृति र बिसंगति बढ्नु स्वभाविक हो ।
देशका अनेक सहरका गल्ली गल्लीमा सुरक्षित गर्भपतन हुन्छ भन्ने विज्ञापन छ्यापछ्याप्ती देख्न पाइन्छ । कानुनले गर्भपतनको सीमा तोकिदिएको छ । तर यति धेरै गर्भपतनका केन्द्रहरू खुल्नु भनेको गर्भपतनको भयावहतालाई बुझ्न सकिन्छ । गर्भपतनबाट कतिपय आमाहरूको ज्यान पनि जाने गरेका छन् । तर गर्भपतनको समस्या कसरी कम गर्ने भन्नेतिर राज्य सचेत देखिदैन । अझ कानुनले गर्भमा छोरा छोरी के छ भनेर हेर्नका लागि बन्देज लगाएको छ । मेडिकल काउन्सिलले अनैतिक भनेको छ । तर कतिपय डाक्टरहरू गर्भमा छोरा छोरी के छ जाँच्ने गरेका छन् । नेपालमा छोरालाई महत्व दिने गरेकाले कतिपय आमाहरू गर्भमा रहेको छोरीलाई पतन गराउन बाध्य पारिने गरेका छन् । सीमावर्ती क्षेत्रका महिलाहरू त भारतका बजारमा पुगेर गर्भ जाँच्ने र छोरी भए पतन गराउन बाध्य पारिने गरेका छन् ।
एक त विवाहमा बढ्दो बिकृति । संस्कार र परम्परा तोडिदै सरल र सम्भ्रान्त तडकभडक विवाहले मान्यता पाउँदै जानु, अर्कोतिर विवाहपछिका अनेक समस्या, विवाह नभएकाहरू लिभिङ टुगेदर, गर्भपतनका बढ्दो घटनाहरूले नेपाली समाज बिथोलिदै गएको छ । पूर्वीय दर्शनबाट अनुप्राणित हिन्दु धर्म मासिदै छ, हिन्दु परम्परा र संस्कार, संस्कृति लोप हुँदै गएका छन् । आधुनिक हुने नाममा पश्चिमा सिको गर्दा सबैभन्दा पुरानो राष्ट्र नेपालले सभ्यताका नाममा आफ्नोपन, पहिचान गुमाउँदै गएको छ । कसरी नेपालीपनलाई जोगाउने ? यस विषयमा छलफल र बहस चलाउन सके, सबै जिम्मेवार हुनसके, राज्यमा सुशासनको संरक्षण हुनसक्ने थियो । हामीमा खोई चेत ?