सुरक्षाको प्रश्न उठ्यो । किनकि आमनागरिक कहीँ पनि सुरक्षित छैनन् । आमनागरिकले लघुवित्तमा वा सहकारी संस्थामा राखेको निक्षेप सुरक्षित छैन । यो असुरक्षाले नेपालको बैकिङ् प्रणालीमाथि नै प्रश्न उठाएको छ । नेपालको अर्थतन्त्रको तन्नम हालत देखाएको छ । शासन र प्रशासन जनमुखी छैन भनेर प्रमाणित गरिदिएको छ । आफूले अभर पर्दा खर्च गर्न राखेको निक्षेप नै फिर्ता पाउँदैनन्, फिर्ता पाउँ भनेर सिङ्गो मुलुकभरि नै जनताले आन्दोलन गर्नुपर्छ र यही मुद्दा संसद, सरकार, सडक सर्वत्र उठिरहेको छ । तैपनि एउटा निकास निकाल्न सरकारले सकिरहेको छैन भने सुरक्षा कहाँ छ ?
जो नेता छन्, जो ठूला दल हुँ भन्छन्, तिनीहरू शिक्षा, स्वास्थ्यमा लगानी गरेर ब्यापार गरिरहेका छन् । कम्युनिष्टहरूले आमनागरिकको शिक्षा, स्वास्थ्यमा लगानी गर्नु अपराध ठान्छ तर नेपालका कम्युनिष्टहरू पैसा कमाइरहेका छन्, जनता चुस्ने व्यापारमा लगानी गरिरहेका छन्, जनतालाई हाडछाला हुनेगरी जुकाजसरी खाइरहेका छन् । यस्ता नेता र यस्तो राजनीतिले समाज बदल्दैन, समाजका कुरिति बदल्दैन, समाजमा समानता पनि ल्याउँदैन । बरू परिवर्तनको १७ वर्षमा हुने खाने र हुँदा खाने बर्गवीचको दूरी झन बढाइदिएको छ । कम्युनिष्टले कम्युन्यालिस्ट बनेर विभेद बढाइरहेका छन् । कम्युनिष्ट नामधारी छन्, असलमा कम्युनिष्ट छैनन्, कहाँ छ सुरक्षा ?
हुन त समाजवादी हुँ भन्ने दल छन्, सर्वहारावादी, समानतावादी हुँ भन्नेहरू पनि छन् । यथार्थमा हरेक वादीको अनुहार एउटैजस्तो लाग्छ । व्यवहार हो, व्यवहार हरेक वादीको एउटै छ । सत्ता, शक्ति र सम्पत्तिका लागि जति पनि नैतिकहीन बन्नसक्ने गुण । यस्तो गुण हरेक वादीमा छ । सर्वहारावादी र पुँजीवादी अँगालो हालेको पनि देखियो, लोकतन्त्रवादी र क्षेत्रीयतावादी अथवा अलोकतान्त्रिक भनिएकाहरू पनि स्वार्थमा एक भएको देखियो । एउटा सिद्धान्तवादीले अर्को सिद्धान्तवादीलाई मत दिन्छ, मिल्छ भने नेपालमा नीति र नैतिकता कसैमा पनि छैन, कोही सिद्धान्तनिष्ट छ भन्न सकिने अवस्था छैन, सबै हरेक मुद्दामा भाग शान्ति जयनेपाल गरिरहेकै छन् । यहकिारण हो भ्रष्टाचार बढेको र कसैमाथि कारवाही हुन नसकेको अवस्था । दण्डहीनता जता पनि देखिन्छ । भ्रष्टाचारले विश्वमै नेपाल गनायसक्यो, कहाँ छ सुरक्षा ? सुरक्षा भएको भए राष्ट्रिय नीतिमा सबै चल्थे, राष्ट्रिय स्वार्थमा सबै एक हुन्थे, एकता र सद्भाव भाँडिदैन थियो । विभेद र निषेधले यसरी गोमनले झैं शिर उठाउने थिएन । नेपालको आन्तरिक अवस्था गञ्जागोल बनिसक्यो, नेपालको विदेश सम्बन्धमा विश्वास घटिसक्यो । नेपाली भनेपछि इज्जतका साथ कसैले पनि हेर्दैनन् । किन ? किनकि गर्विलो अवस्था समाप्त पारिसके, जनतामा असन्तुष्टि, सम्बन्धमा असन्तुष्टि, विधि र व्यवहार भ्रष्ट, संविधानलाई कागजको खोस्टो बनाइयो, भर र भरोसा बाँकी रहेन । कहाँ छ सुरक्षा ?
नेपालीकै लागि नेपाल असुरक्षित छ । स्वर्गजस्तो नेपाल भ्रमणमा आउनेहरू असुरक्षित छन् । हरेक विषयमा राजनीतिकरण गरिदिंदा राजनीति अपराधिकरणतिर पुग्यो । राजनीतिले ठाउँ बिरायो । राजनीति नेतृत्वको स्वार्थकै कारण लाजनीति बन्यो । जब लाजनीति हुन्छ, त्यहाँ नङ्गापन हुन्छ, सामाजिक मर्यादा खण्डित हुनपुग्छ । नेपालको अवस्था यस्तै यस्तै छ । शासनको मूल आधार राजनीति हो । राजनीति शुद्ध नहुँदा प्रशासन शुद्ध हुनसकेन । शासन र प्रशासनमा बिकृति फैलिएपछि देशको अवस्था अस्थिर र अराजक बन्दै जानेरहेछ । अब पनि राज्यका अङ्ग प्रत्यङ्गमा नीति र नीतिगत सुरक्षा नगर्ने भऐ राष्ट्रिय अस्तित्व समाप्त हुनसक्छ । हेक्का रहोस् ।