Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

पञ्चायतभन्दा पनि गनायो लोकतन्त्र

राजन कार्की

११ मंगलबार , बैशाख २०८१२५ दिन अगाडि

पञ्चायतभन्दा पनि गनायो लोकतन्त्र

पञ्चायत गनायो, कालरात्रि भनेर बहुदल ल्याइयो । बहुदल भ्रष्टाचारतन्त्र भयो भनेर ठूलै आन्दोलन भयो र राजतन्त्र पनि फालियो । त्यसपछि आएको लोकतन्त्र, शुभरात्रि हुनसकेन । लोकतन्त्र अँध्यारो सुरूङ बन्यो, सुरूङको पल्लो किनारमा समेत कुनै उज्यालो देखिन्न । साह्रै गनायो लोकतन्त्र ।
लोकतन्त्रको ब्यानरले छोपेको निरंकूशतन्त्रले, अपराधतन्त्रले, सेटिङ र भ्रष्टाचारतन्त्रले लोकतन्त्रको गरिमा र महिमा समाप्त पारिसक्यो । यस्तो नग्न र नैतिकहीन शासनलाई कसरी लोकराज भन्नु र ? बुद्धिजीवीहरू, नागरिक समाजदेखि समान्यजन समेत भन्न थालेका छन्– यही हो लोकतन्त्र ? यही लोकतन्त्र हो भने अवस्था साह्रै बिग्रियो, सुधार्न व्यवस्था फेर्नुपर्ने भयो ।
हरेक नेता लखपति, करोडपछि, अर्बपति बनिसके । राजनीति समाजसेवा हुनुपर्ने हो, व्यापार बनेको परिणाम हो । राजनीतिको छाता ओढेका कर्मचारीतन्त्रसमेत भ्रष्टाचारमा लिप्त हुनपुगेका छन् । यिनले बिर्सिए आआफ्नो धर्म हुन्छ, त्यो धर्म र कर्ममा हरेक पदासिन पथभ्रष्ट बनेका छन् ।
इतिहास साक्षी छ– बंगलादेशका निर्माता जियाउर रहमानको देहाबसान भएपछि उनले च्यातिएको पेटीगन्जी लगाएको देखियो । ०४६ सालअघिसम्म हाम्रा चप्पलछापे नेताहरू ३४ वर्षमै पजेरो, प्राडोका मालिक भएका छन्, ठूला ठूला महल, जग्गाजमिनका मालिक बनेका छन् । यिनीहरू भ्रष्टाचार करोडमा होइन, अर्वमा गर्न थालेका छन् । संवैधानिक निकाय महालेखाको रिपोर्टनै यसको साक्षी छ । बेरूजु रकम, भ्रष्टाचारको रकम, हरेक आयोजनाको घट्दो प्रगतिले भनिरहेको छ– गजेट मिलाएर बजेट सक्ने काम भइरहेको छ । यसमाथि संघीयताले त राष्ट्रदोहनमात्र गरिरहेको छ ।
ठूला पार्टी, नेताका विधि व्यवहारमा नवसामन्तपन देखिन्छ, भेटिन्छ । मर्न त यिनीहरू पनि मर्छन्, तर यिनको मृत्युमा कुन जनता मलामी जालान् र ? यिनले देश र जनताका लागि के नै गरेका छन् र ? हरेक नेताप्रति जनता दया देखाउँछन्, घृणा गर्छन् । मान सम्मान आर्जन गर्ने विषयमा कुनै पनि दल वा नेता सफल छैनन् । चुनावमा पैसा खेलाएर, लोभलाभ देखाएर जित्नु एउटा कुरा हो । यथार्थमा नेता कुनै गाउँ जाने हो भने जनता नै भन्छन्– कुन चोर आएछ ? अर्थात नेताप्रतिको जनदृष्टिकोरण नकारात्मक छ ।
दिल्ली, बेइजिङ, वाशिङ्टनलाई राजनीतिक तीर्थ सम्झने हाम्रा नेताहरूले बुझ्न सकेनन्– पेरिसमा धोएको लुगा लगाउने र लण्डनमा पढेका नेहरूले सत्तामा पुग्नासाथ बहुमूल्य आनन्द भवन देशलाई किन सुम्पिए ? महात्मागान्धीले सत्ता रोजेनन्, चर्खा चलाएर समाजसेवामा समर्पित रहे । नेपालका नेताहरू त देशबाट लिइरहेका छन् । देश र जनतालाई चुसिरहेका छन् । पूर्व विशिष्टहरूका लागि सम्भ्रान्त जीवन बिताउन पुग्ने थप पेन्सन, सुविधाको बन्दोबस्तसमेत गरिसकेका छन् । देश कङ्गाल हुँदैछ, सामान्य नागरिकले राज्यबाट पाउनैपर्ने प्राथमिक सुविधा पाउन सकेका छैनन् । हरेक नेता शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा हुने व्यापारमा संलग्न छन् । राज्य ढुकुटी, राज्य सम्पत्तिदेखि जनताका हक र हित लुट्ने यही बर्ग हो । निर्लज्जताको यो हद लोकतन्त्रको मजाक नभए के हो ? जसले राजनीतिलाई सत्ताप्राप्ति र सम्पत्ति आर्जन गर्ने र नयाँ बादशाह बन्ने होडबाजी गरिरहेका छन्, यिनले देश र जनताको भलो गर्छन्, शान्ति र समृद्धि दिन्छन् भनेर विश्वास गर्नु बेकार छ । तथापि राजनीति चलिरहेको छ । जनताले असन्तुष्टि र आक्रोश पोखिरहेका छन् । जबसम्म जनताको आक्रोश बिद्रोमा बदलिन्न, तबसम्म यिनले लुट्न सक्छन् । होस् गर, जनता जागे भने ठूलै बिपत्ति आउने पक्का छ ।