नेपाल आयल निगमले खुब कमायो भनेर ९० करोड बोनस बितरण गर्ने तैयारी थालेपछि सिंगो मुलुक जिल्लाराम परेको छ। बक्सिङ खानुपर्ने संस्थाले बोनस बाँड्ने? यो घोर आश्चर्य हो। नेपाल आयल निगमले राम्रो व्यवस्थापन र चुस्त प्रशासन चलाएर पैसा कमाएको होइन। विश्वमा अहिलेसम्मकै भाउ घटेर तेल सस्तो भइरहेको छ, तर आयल निगमले न पेट्रोलियम पदार्थको समुचित वितरण प्रणाली लागू गर्यो, न मूल्यमा समायोजन नै। स्वयं नेपाल आयल निगम भ्रष्टाचार निगमका रुपमा बदनाम भइरह्यो, आम नागरिकले नेपाल आयल निगमलाई सरापिरहेका छन्। अख्तियारले त २९ जनाको छानबिनमा आयल निगमका कार्यकारीको नामसमेत समावेश गरेको छ। एउटै थानकोट डिपोका प्रमुख अर्वपति बनेका कारण जेलसमेत चलान भए। यस्तो भ्रष्टाचारको कुण्ड बनेकेा संस्थानले जनताको शोषण गरेर कमाएको पैसा ९० करोड कर्मचारीलाई बोनस बितरण गर्ने रे? योभन्दा घोर आश्चर्य अरु के हुनसक्छ? नेपाल अन्धनगरी भएकै हो त?
यो अन्याय हो भनेर उपभोक्तावादी संगठनहरु अदालत जाने भएका छन्। मूल्य समायोजन नगरी कमाएको कमाई भनेको जनताको पैसा हो। यस्तो आम्दानी बोनसयोग्य हुनैसक्दैन भन्ने अधिकारकर्मीहरुको तर्क रहेको छ। यथार्थ पनि यही नै हो। आमजनतालाई लुटेर बोनस खानु भनेको अक्षम्य अपराध हो। सन्चित नोक्सानी भएको संस्थानले उपभोक्ताप्रति उत्तरदायित्वबोध नगर्नु अपराध हो। पहिले पहिले पनि नेपाल आयल निगमलाई नेपाको कुबेत भनिन्थ्यो र निगमका कर्मचारीहरुले लगौंटीसम्म पनि बोनसमा लिनेगर्थे। राजनीतिक दल र अन्य कमिशन, भ्रष्ट तत्वकोहरुको आँखा नै आयल निगममा हुनेगर्थ्यो। अहिले पनि नेपाल आयल निगमको त्यो भ्रष्ट चरित्र जारी नै छ। राजनीतिक नियुक्ती लिएर पुग्ने व्यक्तिले मनलागी गर्थे, अहिले पनि गरिरहेका छन्। कर्मचारी र प्रशासनको कुनै भूमिका नै नभई संकटका बेलामा उपभोक्ताले बाध्यतावश तिरेको पैसालाई कमायो आयल निगमले, बाँडौंं बोनस भनेर निर्णय गर्नु भनेको सबैभन्दा ठूलो भ्रष्टाचार हो। जुन संस्थान बिगत ५ महिनादेखि निरन्तर कालोबजारी र अनियमिततामा संलग्न छ, बदनाम भइरहेको छ, त्यस्तो संस्थाले उपभोक्तालाई शोषण गर्नु भनेको राज्य अपराध शिद्ध हुनुपर्छ।
नेपाल आयल निगमको मनपरी उपभोक्ता र देशको सुशासनका लागि भार भइसकेको छ। यस्तो घाँडो संस्थानले जनता लुटिरहन पाउने र लुटेको पैसाले बोनस खानु भनेको जनताप्रति गैरजिम्मेवार हुनु हो। भारतले नाकावन्दी लगाउनु र मधेसी मोर्चाले आन्दोलन गरिरहनु भनेको नेपाल आयल निगमका लागि खुँदो पल्टेको स्थिति हो। यस्तो भ्रष्ट संस्थामा बोनस? यो जनताप्रति व्यङ्ग हो।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दिनदिनै घट्दै गएको छ। आयल निगमले मूल्य घटाएको छैन। त्यसै पनि हाहाकारको स्थिति सिर्जना गरेर र कालोबजारियासँग मिलोमतो गरेर आयल निगमले पेट्रोलियम पदार्थलाई कालोपदार्थ बनाइदिएको छ। कालोअर्थतन्त्रको विकास गर्नुमा आयल निगम पनि जिम्मेवार रहेको छ। बरु निगमले पूर्वाधार निर्माण योजना बनाएको भए भविष्यमा हुनसक्ने अभावको स्थितिमा भण्डारणको व्यवस्था हुनेथियो। भविष्य होइन, अहिले नै खाइहाल्ने, लाइहाल्ने नीति अख्तियार गरेर नेपाल आयल निगम भनेको अपराधी जत्थाले चलाएको आपराधिक संस्थामा रुपान्तरण हुनलाग्यो है।