Advertisement Banner
Advertisement Banner

०२ आइतबार, बैशाख २०८१4th April 2024, 11:53:07 am

लोकतन्त्रका लोक किन सडकमा ?

०६ मंगलबार , चैत्र २०८०एक महिना अगाडि

 लोकतन्त्रका लोक किन सडकमा ?

मिटरब्याज पीडित, सहकारी र लघुबित्त पीडितदेखि बलात्कार र हत्या आरोपीलाई कारवाही गरिपाउँ भन्दै लोकतन्त्रका लोक सडकमा धर्ना, जुलुस, नारा लगाइरहेका छन् । राजनीतिक पार्टीहरू पनि लोककै माग र राष्ट्रिय मुद्दाहरू बोकेर सडक आन्दोलन गरिरहेका छन् । आखिर लोकतन्त्रमा हुनुपर्ने विधिको शासन किन हुन सकिरहेको छैन । कमजोरी कहाँनेर छ, छलफल, बहस र चर्चापरिचर्चा गर्न संसद र सत्ताधारी तैयार देखिदैनन् ।
मुलुकमा भ्रष्टाचार भइरहेकै छ । सुनदेखि भूमाफियासम्मले लोक र राज्यलाई लुटिरहेकै छन् । राजनीतिको अर्को नाम अपराधिकरण, लुटतन्त्र भइरहेकै छ । लूटतन्त्र र अपराधिकरणलाई जसले बहुदलकालदेखि लोकतन्त्रकालको ३४ वर्षसम्म प्रश्रय दिइरहेका छन्, उनीहरू लोकतन्त्रको डम्फु बजाएर लोकलाई भ्रमित पार्न छाडेका छैनन् । लोक हिजो पनि सडकमा थिए, असन्तुष्ट थिए, आज पनि सडकमा छन् असन्तुष्टी व्यक्त गरिरहेकै छन् । लोकतन्त्रमा लोकका लागि जीवन मरण भनेको सडक नै हो त ?
लोकले सडकमै मर्नुपर्ने हो भने लोकतन्त्र किन चाहियो ? कुनै पनि पद्धति भनेको समाज बदल्नका लागि हो, सभ्य समाजको निर्माणका लागि हो भने नेपालको बहुदल फेल भयो, लोकतन्त्र पनि असफल भइसक्यो । किन आत्मसमीक्षा र अग्रगमनका लागि राष्ट्रिय स्तरमा बहस हुँदैन ?
लोकतन्त्रमा राजनीतिको मक्का, मदिना, बैतर्णी जे भने पनि लोक हुनुपर्ने हो । सुरूमा नेवार राजा, तामाङ् राजा, मगर राजा, लिम्बु राजा, खम्बु राजा भनेर जनता जनता जुधाउनु जुधाए, अव कांग्रेस, माओवादी, एमाले र अन्य दलहरूलाई आआफ्नो निर्वाचनक्षेत्र मजबुत पार्नुछ, सत्तामा राइँदाइँ चलाउनु छ । जो जोसँग पनि मिल्नसक्ने राष्ट्रिय दलहरूमा सिद्धान्त, नीति र नैतिकताको बिउसम्म पनि बाँकी छैन । बाम बाम मिलेर ५० वर्ष शासन गर्ने गुड्डी हाँकेका थिए, फुटे । फुटाइए । उनै ओली खराव थिए, कांग्रेस र माओवादी मिले । १३ महिना पनि लागेन, माओवादी र एमाले मिलेका छन्, कांग्रेस किनारा लाग्न बाध्य भएको छ । संविधानसभा यिनैले गराए, हिन्दुराष्ट्र र राजतन्त्रलाई किनारा लगाए । संविधान यिनैले बनाए । संविधान बनेपछिको ०७४ र ०७९ को निर्वाचनपछि जे देखियो, त्यो लज्जास्पद राजनीति हो । यिनले संविधानलाई कागजको खोस्टो बनाए, विधिको शासनलाई बेश्याबजार भन्दा गए गुज्रेको अवस्थामा पु¥याइसके । यिनीहरूभित्र पन्पिएको विभेद र निषेधको, जाति तथा क्षेत्रीयवाद, आफन्त र परिवारवाद लोकतन्त्रका लागि ऐंजेरू रोग हो । नेपालमा जे भइरहेको छ, यो राजनीति होइन, यिनकै हालीमुहालीमा तैयार भएको हाइड्रोजन ग्यास चेम्बर हो । जहाँ प्रत्येक नेपाली उकुसमुकुस बनेर निसास्सिएर मर्नुपर्ने दुःखदायी अवस्था हो ।
नेपालमा लोकतन्त्र ल्याइयो, लोकतन्त्र जति मीठो शव्द छ, त्यो मिठासता आउन सकेन । शान्ति र समृद्धि खोजेर पनि नपाइने स्यालको सिङ बन्नपुग्यो । लोकतन्त्रले लोकलाई दिनुसम्मको गोता दिएको देख्दा लाग्छ, लोकतन्त्र बाँदरको हातमा नरिवल भयो । नेतातन्त्र लोकतन्त्र बन्नपुग्यो । दोष जनतामा छैन । जनताले पटक पटक विश्वास गरेर यिनै नेतृत्वलाई मतदान गरे, जनप्रतिनिधि बनाए । तर नेतृत्वले हरेक पल्ट लोकलाई धोका दिएका छन्, सपना देखाएर हिस्स बुढी खिस्स दाँत पारिदिएका छन् । यसकारण लोक सडकमा छन्, विधिको शासन र न्यायको माँग गरिरहेका छन् ।
अब जनता उठ्नुपर्छ, जाग्नुपर्छ, आफ्नो हक अधिकार र अस्तित्वका लागि लड्नुपर्छ । धर्ना, जुलुसभन्दा कडा भएर बिद्रोह गर्नसक्नुपर्छ ।