Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, श्रावण २०८१17th April 2024, 11:33:48 am

तालुमा टास्सिएको सत्ताधारीको जिब्रो

२२ मंगलबार , फाल्गुण २०८०४ महिना अगाडि

तालुमा टास्सिएको सत्ताधारीको जिब्रो

एसडी मुनी र अशोक मेहताले पुस्तक नै लेखे, समय समयमा नेपालका नेताहरूलाई तर्साउने, अपमान गर्ने बोली व्यवहार देखाइरहेका छन् । यिनीहरू भारतीय सत्ताधारीका निकट होलान् तर भारत सरकारको बोली बोल्ने होइनन्, तिनको हैसियत त्यो स्तरको छैन पनि । तर यिनीहरू नेपाली नेतृत्व पंक्तिलाई तल्लोस्तरको गालीगलौज गर्न पछि पर्दैनन् । केही दिन पहिलेमात्र अशोक मेहता भन्ने पूर्व भारतीय पदाधिकारीले प्रचण्ड र देउवा भारतका असली घोडा हुन् भनेर पशुकै दर्जामा लगेर बोले । केही समय अघि एसडी मुनी भन्ने पूर्व भारतका नीतिकार मानिएका व्यक्तिले पनि देउवा र प्रचण्डलाई मात्र गाली गरेनन्, नेपालकै सार्वभौमिकतामा आँच आउनेगरी बोले ।
यसरी बेला बेलामा नेपाली नेतृत्व जो सत्ता चलाइरहेका छन्, हिजो जनयुद्ध गरेर आएका व्यक्ति हुन्, तिनलाई यसरी भारतका पूर्वपदाधिकारहरू घृणित हुन् भनेर ठोकुवाकै शैलीमा प्रतिक्रिया दिइरहेका छन् । यतिमात्र होइन, नेपाली जनताले उठाउनु पर्ने प्रश्न यिनले उठाउँछन् र भन्छन्– खोई कहाँ आयो परिवर्तन ? नेपालमा ठूलै परिवर्तन ल्याउँछु भन्नेहरू भारतका प्यादा हुन्, यिनले आफू बन्छन्, नेपाललाई केही गर्दैनन् । अर्थात् भारत सरकार आफ्ना मान्छे लगाएर यसरी नेपाली नेताहरूको बेला बेलामा सातो लिने काम गरिरहन्छन् । आश्चर्य त के छ भने सत्तामा अथवा संसदका ठूला दलहरू भारतको यस्तो हेपाह प्रवृत्तिलाई सहन्छन्, कुनै प्रतिवाद गर्दैनन् ।
त्यसो भए के प्रचण्ड, देउवा भारतका घोडा नै हुन् त ? यिनलाई तबेलामा नै राखेसरह भारतले राखेको हो त ? होइन भने सत्ताधारी माओवादी र नेपाली कांग्रेस यति साह्रो तीतो कुरा आइसक्दा किन प्रतिक्रिया जनाउँदैनन्, किन भारतीयले जति हेपे पनि जिब्रो तालुमा टाँसेर बस्छन् ?
दिल्लीको बासमती चामलको बासी भात खाने नेताहरूका लागि भारतीयले जति हेपे पनि सह्य हुनसक्छ । तर प्रचण्ड प्रधानमन्त्री हुन्, नेपाली कांग्रेस प्रजातन्त्रको बिडा उठाएको पार्टी हो । केही समय अघि एमालेका अध्यक्ष सत्तामा हुँदा भारतले चीनको काखमा बसेको आरोपमात्र लगाएन, चिनियाँ महिला राजदूतसँग इलु इलु गरेकोसम्मका गनाउने हावा भारतीय सञ्चारमाध्यम र नेताहरूले चलाएका थिए । चुच्चे नक्सा जो संसदबाट सर्वसम्मतिबाट पास गरियो, यसमा पनि भारतले चीनको दबाब र प्रभाव देखेको थियो । तर त्यही भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई भारतीय नक्सामा मिसाइदियो । व्यक्तिगत गाली पचाउने हाम्रा नेताहरू राष्ट्रिय स्तरमा भएको सीमा अतिक्रमण, भूमि हस्तक्षेपमा समेत बोल्न सकेका छैनन् । नेपालको राजनीतिक हैसियत किन यसरी खस्कदै गएको हो ?
हो, परिवर्तनपछिका १८ वर्षमा यी राजनीतिक दलहरूले केही गर्न सकेनन्, यिनीहरूप्रति जनताको विश्वास घटेर र हटेर गएको छ । जनता आक्रोसित छन्, यिनको विधि व्यवहार र विदेशीका सामु लम्पसार परेका दृश्यबाट । तर नेता र जनतावीचको जतिसुकै मतभेद रहे पनि राष्ट्रका विषयमा नेताहरूले बोल्नुपर्छ, राष्ट्रका पक्षमा उभिनुपर्छ । नेपाली भूमिको रक्षाखातिर पनि बोल्नुपर्छ । व्यक्तिगत रूपमा भारतको तीतो टिप्पणीप्रति नबोलुन्, भारतलाई साखुल्ले राखेर चुनाव जित्ने र सत्तामा बस्न पाइने सोच राखुन्, यसको हिसाव किताव जनताले गर्लान् । तर नेपालको प्रधानमन्त्रीमाथि जुन प्रकारले अपमानवोधक शब्दवाण हानेर कायल पार्ने जुक्ति भारतले गरिरहेको छ, त्यो निन्दनीय छ । जस्तोसुकै हुन्, यी नेपाली जनताका जनमत प्राप्त नेता हुन् । यिनीहरूलाई अपमानित गर्नु पनि नेपालमाथि अपमान गर्नु हो ।