जनता किन राजतन्त्र राजतन्त्र भन्छन् ? नेपालको राजनीतिक परिदृश्यका सम्बन्धमा यो सबैभन्दा पेचिलो प्रश्न हो । देश बर्बादीको भीरमा छ । देश बचाउने, बनाउने कुनै नेता पनि भरलाग्दा देखिएनन् । हरेक नेता नाली गनाएजसरी व्यभिचार र राजनीतिक अपराधमा गनाइरहेका छन् । सुशासन दिने यिनैले हो, यिनले स्थायी सरकार प्रशासनलाई पनि बिटुलो बनाइदिए, सेवाग्राहीले पाउनैपर्ने कुनै पनि सेवा बिना पार्टीको मान्छे, बिना नेताको सिफारिस पाउँदैनन् । सेवा लिन घूस खुवाउनै पर्ने अवस्था छ । अर्थात् लोकतन्त्र लूटतन्त्रको पर्याय बनेको छ । लोकतन्त्र भ्रष्टतन्त्र भएको छ ।
यसकारण जनता राजतन्त्र राजतन्त्र भनेर चिच्याइरहेका छन् । सडकमा बिद्रोह गर्न जनता यही नारा लगाएर उत्रिएका छन् । कुनै नेता यी जनताका सामु बिना सुरक्षा जान सक्दैनन्, अन्तरकृया गर्न सक्दैनन् । तर पूर्वराजा जनताका माझ गइरहेका छन्, जनताका पीडा सुनिरहेका छन् । जनताको आक्रोश र अपेक्षा देखिरहेका छन् । जनताले अभिनन्दन गर्दै राजा आउ देश बचाउ भनिरहेका छन् । यो प्रतिगमन होइन, जनतालाई यिनै नेता र शासकले बिद्रोह गर्न बाध्य पारेको अवस्था हो । यो सत्यलाई बटारेर यी नेताहरूले विषयान्तर गर्ने समय लाग्छ अब सकियो, नेताहरूले भ्रमित पारेर जनतालाई आफ्नो पक्षमा उभ्याउने समय पनि सकियो । यो नेतृत्वले जनताको दण्ड सजायका लागि समयमै तैयार हुनु आवश्यक छ । अन्यथा केही समय अघि श्रीलंकामा के भयो ? राजापाक्षेको परिवारै सत्तामा थियो, सत्ताबाट जनताले यसरी खगारीदिए कि उनीहरू ज्यान जोगाएर लुकेर बस्न बाध्य छन् ।
हो, देश बनाउन र देश बचाउन राजतन्त्र चाहिएको हो । अभिभावकीय दायित्व कुनै नेता वा पार्टीले निर्वाह नगरेपछि देश र जनता टुहुरा बन्न पुगेका छन्, शोषित बनेका छन्, अन्याय खप्नु र खेप्नु जनताको दैनिक नियति बनेको छ । यसकारण जनताले सडकमा बिद्रोहको बिगुल फुकेका हुन् ।
जनताको कमजोरी भनेको बिकल्प नपाएपछि हरेक चुनावमा यिनै डामिएका र अविश्वसनीय नेतालाई चुनाव जिताउन बाध्य भएका हुन् । जनताको यही कमजोरीबाट फाइदा उठाएर गतिला नेतासमेत अगतिला बने, लुट्न र आफन्तलाई लुटाउनमा खुशी हुनथाले । जनमतको अनादर गरेर जनतालार्य सकसमाथि सकस थपेर, देशलाई अभरमा पारेर नेताहरूले लिनुसम्म व्यक्तिगत र पारिवारिक लाभ लिइरहेका छन् । यो सब जनताले हेरेर बस्ने कहिलेसम्म ? नेतृत्वले जनताको हित बेचे, लुटे, देशको रक्षा र सुरक्षा बेचे अनि सत्तास्वार्थ पूरा गरिरहेका छन् । व्यवस्था असल भएर के गर्नु, नेतृत्व असल नभएपछि व्यवस्था यसैगरी बदनाम हुनेरहेछ । गाडी नयाँ थियो, चालक सिकारू भएपनि सिक्न चाहेनन् र गाडीलाई दुर्घटनामा पारिदिएका छन् । अर्थात् लोकतन्त्र नामको यो नेतातन्त्रले देशलाई ऐंजेरू बनेर सुकाउँदै गएको छ ।
अब जनता ठिक ठाउँमा आउन सुरू गरेका छन् । जनताको विद्रोहले राजनीतिलाई, प्रशासनलाई सही ठाउँमा ल्याउने तरखर गरिरहेको छ । जनताको आक्रोश, बिद्रोहले राजनीति सुध्रिने हो । राजनीतिभित्र पसेको अपराधतन्त्र छुट्टिने हो । जबसम्म अपराध र राजनीति, कूशासन र सुशासनवीचको भिन्नता जनताले रजहाँस बनेर दूध र पानी छुट्याएजसरी छुट्याउने छैनन्, तबसम्म नेपालको राजनीति र प्रशासन यसैगरी भ्रष्टाचारको पोखरी बनिरहनेछ । लोकतन्त्र भनेको जनतातन्त्र हो । जनताको हातमा अधिकार छ, जनताकै हातमा सुशासन र जवाफदेही राजनीति पनि छ । अब जनताले आफ्नो हातमा भएको अधिकारको सदुपयोग गर्नैपर्ने बाध्यता आयो ।