चार शहीद थिए, जनयुद्धपछि ८ हजार शहीद थपिए । हालै प्रधानमन्त्रीले भनेका छन्– ३ हजार शहीद थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । यति धेरै शहीदको सूची, कतै यो दश लाख नगदसँग त सम्बन्धित होइन ? जो शहीद घोषणा भए तिनको अपमान त भइरहेको छैन । जसले देश र जनताका लागि ज्यान अर्पण गरे, तिनीहरूको मान र सम्मान बढाउने काम नगरी दश लाख दिनकै लागि शहीद घोषणा गर्नु उचित कि अनुचित ? अरू कुनै उपाय थिएन र देश र जनताका लागि ज्यान गुमाउनेको सम्मान बढाउने ?
विश्वमा देश र जनताका लागि संघर्ष गर्दागर्दै ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने प्रचलन छ । ती महामानवको गाथा वर्तमान र भावी पुस्ताले गाउन्, उत्प्रेरणा पाउन्, इतिहासमा तिनको नाम नमेटियोस् भनेर शहीद घोषणा गर्ने हो । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र आत्मसम्मानका लागि लड्नेहरू स्मरणीय रहु्न् भनेर शहीद घोषणा गर्ने चलन हो । राणा शासनको अन्त्यका लागि लडेका र १९९७ मा मृत्यदण्ड दिइएका धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ तथा शुक्रराज शास्त्रीलाई शहीद घोषणा गरिएको थियो । २००७ र ०८ सालमा आन्दोलनका क्रममा मारिएका थिरबम मल्ल र चिनियाकाजीलाई पनि शहीद घोषणा गरियो । २०१७ को काण्डका बिरोध गर्ने जगतप्रकाशजङ्ग शाह, लालध्वज गुरूङ, दुर्गानन्द झा, तेजबहादुर अमात्य, सरोजप्रसाद कोइराला, भीमदत्त पन्त, रत्नकुमार बान्तवा, वीरेन्द्र राजवंशी, भीमनारायण श्रेष्ठ, यज्ञबहादुर बस्नेत, बाँकावीर, लखन थापा र २०४६ को आन्दोलनमा सहादत भएका १९ जनालाई पनि शहीदको सम्मान दिइएको थियो । तर परिवर्तनपछि २०६५ पुस ९ गते ६ हजार २४४ जना, २०६७ असार ९ गते १ हजार ६१९ जना तथा २०७४ माघ ३ गते १९० जनालाई शहीद घोषणा गरियो । प्रचण्ड, माधव नेपाल प्रधानमन्त्री भएका बेलामा २ हजार, ४ हजार, मधेश आन्दोलनकारी ५२ जनालाई शहीद घोषणा गरिएको थियो । शहीद घोषणा गर्ने, प्रत्येकलाई दशलाख दिने । गत महिना कोरिया भाषा परीक्षार्थी दुई जना मारिए, तिनलाई पनि दश लाख दिइयो । यस सन्दर्भमा दुई कथन स्मरणीय छ । पहिलो सातौं शताब्दीमा नेपाल आएका चिनियाँ यात्री हुयन साङले नेपालमा कृषकभन्दा बढी व्यापारी भएको भनेका थिए । १९औं शताब्दीमा नेपाल आएका अंग्रेजका दूत कर्क प्याट्रिकले नेपालमा घरभन्दा बढी मन्दिर र मानिसभन्दा बढी मूर्ति छ भनेका थिए । यस कथनको कसीमा हेर्ने हो भने नेपाल शहीदको देश हो ।
राजनीतिक आन्दोलन गर्ने, कोही मरिहाले भने तिनलाई पार्टीको झण्डा ओढाएर आफ्नो सरकार बन्यो कि शहीद घोषणा गरेर दशलाख दिइहाल्ने, नेपालमा बसेको परम्परा र अनगिन्ति शहीदको सूचीको सत्य हो । जसले शहीद घोषणा गरे, तिनले तिनै शहीदको फोटो देखाएर पार्टीका लागि भोट माग्ने चलन चलाएका छन् । यतिमात्र होइन, उपराष्ट्रपति बनेका नन्दबहादुर पुन र हालका प्रम प्रचण्डले आफ्नै मूर्ति समेत बनाएर सार्वजनिक गरेको दृश्य पनि देखिएको छ । यो देशमा कुन प्रकारको राजनीति भइरहेको छ ।
विश्लेषकहरू भन्छन्– शहीदको मूल्य, मान्यता, मर्म र सन्देशकै अपमान भइरहेको छ । शहीद कसलाई भन्ने राष्ट्रिय बहस चलाउनु पर्ने देखियो । बृहत् शब्दकोशमा शहीदको अर्थ आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति भन्ने दिइएको छ । ठूला पार्टीहरूले जसलाई जसरी शहीद घोषणा गरेका छन्, ती यो व्याख्या र अर्थमा शहीदको हुनुपर्ने मानमनितो धमिलिएको त छैन ?