भारतको सत्तारुढ भाजपाले हिन्दुराष्ट्रवादलाई अत्यधिक महत्व दिइरहेको छ । चुनाव जित्ने र भारतको समृद्धिको सपना समेत हिन्दुराष्ट्रवादलाई बनाएको छ । अन्य धार्मिक समुदायलाई समेत समन्वयमा राखेर भारतको समष्ठि विकासको लक्ष्य र उदेश्य अघि बढाएको छ ।
निश्चित रुपमा बिगत केही वर्षदेखि विश्वशक्ति सन्तुलनमा भारतले आफ्नो हैसियत र महत्व विकास गर्दै गएको छ । पहिले रुससँग सैनिक गठबन्धन भए पनि यतिबेला अमेरिकासँग निकट रहेको भारतले हिन्दुवादलाई महत्व दिंदा अमेरिका र चीनको ध्यानाकर्षण हुनु स्वभाविक हो । भारतले हिन्दु राष्ट्रवादलाई महत्व दिंदा चीनले चिन्ता प्रकट गरेको विषय गत सन २०१७ मै ग्लोबल टाइम्समा लेखिसकेको थियो । अमेरिका त त्यसै पनि ध्यानाकर्षित हुनु स्वभाविक हो । पश्चिमा मुलुकहरु हिन्दुवाद भन्दा बढी इसाइवादलाई महत्व दिन्छन् । एकातिर भारत र चीन आर्थिक र सामरिक सशक्त शक्ति बन्न तीब्र प्रतिस्पर्धामा रहेका छन् । अर्कोतिर भारत र अमेरिका झन झन नजिकिएका दृश्यहरु पनि देखिन्छन् । यो विश्वशक्ति संघर्षका परिदृश्यहरुमाझ नेपाल आफ्नो व्यक्तित्व र समृद्धिमा लाग्नु पर्नेमा नेपालका लागि थप चुनँौती र जोखिमहरु बढेका छन् । नेपाल सामरिक महत्वको भूबनोटका कारण र विश्वशक्तिहरु नेपालको भूराजनीतिमा प्रवेश गरेका कारणले समेत नेपालले फुकी फुकी कदम चाल्नुपर्ने अवस्था छ ।
प्रवेश गरिसकेको विश्वशक्ति, सदावहादर उत्तर र दक्षिणको ठूलो आर्थिक र सामरिक शक्तिको प्रतिस्पर्धाका कारण नेपालको कूटनीति र राजनीति दुबै रेडजोनमा परिसकेको अवस्था छ । नेपाललाई कसरी सुरक्षित राख्ने ? नेपालका सामु यो सबैभन्दा ठूलो खतरा हो । यस्तो स्थितिमा परिपक्व राजनीति र कूटनीतिको खाँचो छ । यो खाँचो १७ वर्षदेखिको अलमस्त, उदासीन र निस्कृय नेताहरुका कारण दिनदिनै हैसियतहीन बन्दै गएको छ । यस्तै नेतृत्व कायम रहने हो भने नेपालले आफ्नो बचेखुचेको इज्जत पनि गुमाउँदै जाने पक्का छ । छिटोभन्दा छिटो राजनीतिक सुधार, कूटनीतिक दह्रोपना ल्याउनका लागि विज्ञ, विशेषज्ञ र अनुभवीहरुसँग विशेष छलफल गरेर नीति निर्माण गर्न जरुरी छ । जसरी चीन र भारतले युक्रेन–रुस युद्धमा आफूलाई संलग्न गराएनन् तर नेपालले युक्रेनको पक्षमा उभिने दुस्साहस ग¥यो, त्यहीँबाट नेपालको कूटनीति पतनको अर्को श्रृंखला देखिएको हो ।
नेपालको परम्परागत नीति भनेको असंलग्न र पञ्चशीलको सिद्धान्त नै हो । यो सिद्धान्तमा बिचलन आएको लामो समय भइसक्यो । दिशाहीन कूटनीतिले नेपाललाई विश्वमा हलुको सावित गरिसकेको छ । नेपाली नागरिकलाई निकासी गरेर, अर्काका लागि एकदोस्रोसँग लडेर नाना, खाना र छानाको जोहो गर्नुपर्ने बाध्यतामा पारेको यही नेतृत्व र पद्धतिले हो । पद्धति आफैमा खराव होइन, पद्धति हाँक्ने नेतृत्व कमजोर भयो भने विदेशीले हैकम चलाउँछन्, नेतृत्वलाई उठबस गराउँछन् भन्ने दृष्टान्त यही जनवरी पहिलोहप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीले देखाइदिएका छन्, लगत्तै शुक्रवार चिकपाका अन्तर्राष्ट्रिय विभाग हेर्ने उपमन्त्री सुन हेयानको टोली मालदिभ्स, बंगलादेश हुँदै नेपालको नाडी छाम्नका लागि नेपाल आएको छ ।
अब भागबण्डे राजनीति, राजनीतिको अपराधिकरण छाडेर छिमेकसँग समनिकटता र अन्य मित्रराष्ट्रहरुसँग विश्वसनीति सम्बन्ध विकासका लागि मेहनत गर्नैपर्छ । यो समय नेपालका लागि जीवन कि मृत्य रोज्ने बेला हो ।