Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

जसले जे जिम्मा पायो, उही भ्रष्ट

०२ मंगलबार , माघ २०८०एक बर्ष अगाडि

 जसले जे जिम्मा पायो, उही भ्रष्ट

०४६ सालपछि वा ०६३ सालपछिको परिदृश्य भनेको जसले जुन निकायको जिम्मा पायो, उही भ्रष्ट भयो । जब जिम्मेवार र जवाफदेही हुनुपर्ने व्यक्ति नै भ्रष्ट भयो भने संवैधानिक निकाय कसरी शुद्ध हुन्छ, देश कसरी बन्छ ? कसरी सुशासन कायम हुनसक्छ ? यसको मूल कारण सत्ता र संसदमा बस्ने प्रभावशाली दलहरूको मिलोमतोमा आआफ्ना मान्छेलाई नियुक्ती दिलाउनु, जिम्मेवारी दिनु हो । यथार्थमा सही व्यक्तिलाई सही ठाउँ नदिनु, सत्ताका कृयाकलाप पारदर्शी नहुनु र जसले जे जिम्मेवारी पाउँछ, ऊ आफूले पाएको जिम्मेवारीप्रति जवाफदेही नहुनु भ्रष्टाचारको प्रमुख कारण हो । यहीकारणले हो, बहुदलको ३४ वर्ष र लोकतन्त्रको १७ वर्षमा जे भयो, व्यभिचारमात्र भयो र भ्रष्टाचारले राज्यका सबै सञ्जालहरू गलित र कुपित हुनपुगे । व्यवस्था आफैमा उच्चकोटीको थियो, विश्वले प्रजातन्त्र भनेर मानेको व्यवस्थाले पनि समाजलाई सभ्यतातिर परिवर्तित गर्न गराउन नसक्नुको मुख्य कारक नै व्यक्ति हो । व्यक्तिको अयोग्यता र अयोग्य व्यक्तिको भ्रष्टाचारमाथि कारवाही हुन नसक्नु हो । यतिबेला नेपालका जे जति पार्टी छन्, पार्टी नेता छन्, ती सबै भ्रष्टाचारमा गनाएका छन्, बदनाम छन् । उनीहरूको बदनाम कसैले गराइदिएको होइन । उनीहरूको चरित्र र व्यवहारले प्रमाणित गरेको हो । राजनीतिलाई सत्ता, सम्पत्ति, शक्ति आर्जन गर्ने माध्यम नबनाएको भए राजनीतिमा त्याग र तपस्याको महत्व हुनेथियो । नीति, सिद्धान्त, आचरणको महिमा रहनेथियो । राजनीति अपराधिकरणमा लहसिन थालेकाले अपराधिक राजनीति बढ्यो र यस्तो राजनीतिले अपराधिकरणलाई नै बढावा दियो, संरक्षण थियो । फलतः कानुनव्यवस्था नै खलबलिन पुग्यो । नेपालको वर्तमान अवस्था यस्तो छ कि अस्पताला जाँदा होस् कि कुनै निकायमा सेवा लिन गएको सेवाग्राही होस्, कुन पार्टीको भनेर हेर्ने प्रचलन छ । सेवा दिने र सेवा लिने एउटै पार्टीका रहेछन् भने सहज हुन्छ, अन्यथा त्यहाँ हुने व्यभिचार नै हो । घूस नदिई कसैले कुनै प्रकारको सेवा लिनसक्ने अवस्था छैन । अर्थात् भ्रष्टाचार नेपालको वर्तमान हो । भ्रष्टाचारको रोगले राज्यसञ्जाललाई सरूवा क्यान्सरले झैं गाल्दै र महामारीमा पार्दै लगेको अनुभूति जो कसैले गरेका छन् । यति हुँदा पनि राजनीतिक बर्ग चेतेका छैनन् । राजनीति गर्नेहरू आमनागरिकलाई अझै भ्रममा पार्न सकिन्छ, आफू शक्तिशाली हुनसकिन्छ भनेर लागिरहेकै छन् । अफगानिस्तान अथवा श्रीलंकाको घटनाबाट कुनै नेता वा पार्टी सचेत भएको देखिदैन । आमनागरिक बिस्तारै आक्रोशको आगो बोकेर सडकमा निस्कन थालिसकेका छन् । यो सम्भावित अनिष्टको संकेत हो ।
राजनीति गर्नेहरूले प्रशासनलाई भ्रष्टाचार गर्न उक्साइरहेका छन् । सेटिङ र भागबण्डामा संवैधानिक निकायहरूमा नियुक्त गरिरहेका छन् । हरेक तह र तप्का राजनीतिक पार्टीतिर ढल्कन बाध्य पारिएको छ । स्वतन्त्र र स्वच्छ केही रहेन । समाजलाई पार्टी पार्टीमा विभाजित गर्दा विवेकशीलहरूसमेत बाँच्नका लागि पार्टीको झोला बोक्न बाध्य बनेका छन् । यहीकारण हो थिङ्क टेंक हुन् कि बुद्धिजीवी, नागरिक समाजसमेत विश्वसनीय हुनसकेनन् । यो अवस्था भनेको जसले जतिसक्यो लुट्ने स्थिति हो । लुट्नेलाई राजनीतिले संरक्षण गर्ने भएपनि न्यायव्यवस्था पानी पोखिएजसरी सडकमा पोखिनु स्वभाविक हो । अर्थात्, लोकतन्त्रलाई लथालिङ्ग पार्ने काम राजनीतिक दल र नेताहरूबाट नै भइरहेको छ । यसको दुस्प्रभाव युवामा परेको छ । यहाँ गरिखान दिदैनन्, गरिखान पाइदैन भनेर आज हरेक युवा विदेशीन हतारिएको छ । देश सम्हाल्ने कोही भएनन्, यो भ्रष्टाचारको कुष्ठरोग निको पार्ने ओखती जरूरी भयो है ।