राजनीतिले समाज बदल्छ, परिवर्तनले देश र जनताको जीवनस्तर उकास्छ, समाज सभ्य मार्गमा लाग्छ भन्ने जुन मान्यता थियो, त्यो मान्यतालाई नेपालको १७ वर्षे परिवर्तनको राजनीतिले सखाप पारिदिएको छ । राजनीतिले समाज परिवर्तन भएन । राजनीतिबाट देश र दुनियाँले सुखानुभूति पनि अनुभव गर्न पाएनन् । परिवर्तनबाट भएको केही शीर्ष नेता र तिनका परिवार तथा तिनका वरिपरि बस्नेहरूले लाभ लिए । परिवर्तनको लाभ न देशले पायो, न जनताले पाए । जनता र देश कंगाल हुँदै जाने र नेतृत्व नयाँ सम्भ्रान्त सामन्त बन्दै जाने परिवर्तनको दृष्टान्त पो देखियो । यस्ता परिवर्तनकारी राजनीतिलाई अग्रगमन भन्न सकिन्न । तर अग्रगमनकारी हौं भन्नेहरू पश्चगमन यात्रा गरिरहेका छन् । यस्तो राजनीतिबाट देशका कानुनव्यवस्था ढलपल ढलपल गरिरहेको छ । समाज नराम्ररी बिथोलिन पुगेको छ ।
परिवर्तनपछिको पहिलो कार्य गर्नुपर्ने थियो, संक्रमणकालीन न्यायको व्यवस्थापन । ६ महिनामा गर्नुपर्ने कार्य १७ वर्षमा पनि गर्न सकेनन् । यस्तो राजनीतिलाई परिवर्तनकारी कसरी भन्ने, कसरी मान्ने ? यही अवधिमा राज्यसञ्जालका प्रत्येक संवैधानिकदेखि प्रशासनिक पदहरू भागबण्डा गर्न दलहरू तम्सिए । यही अवधिमा नागरिकलाई शरणार्थी बनाएर बेच्ने काम पनि भयो । ललिता निवासजस्तो सरकारी जग्गा घोटाला काण्डमा यिनै नेताहरू मुछिए । टनका टन सुन तस्करी काण्डहरूको खुलासा भयो । जहाजदेखि कोरोनाको ओखती खरिदमा समेत घोटाला भयो । हरेक भ्रष्टाचारका ठूला ठूला काण्डमा ठूला ठूला परिवर्तनकारी नेताहरू मुछिए । यसरी घोटालामा मुछिएपछि एक पार्टीका नेताले अर्को पार्टीका नेतालाई बचाउने, ठूला काण्डहरू छोपछाप पार्ने र विषयान्तर गरेर आफू बच्ने र अरूलाई पनि बचाउने दयालाग्दो राजनीतिक परिदृश्य १७ वर्षको अग्रगमनका घटनाहरू हुन् । कुनै पनि घोटाला काण्डमा कडा कारवाही हुनुथियो र सुशासनको प्रत्याभूति दिनु थियो भने आजका ठूला पार्टीका ठूला नेता कोही पनि राजनीतिमा होइन, जेलमा हुनेथिए । तर एकले अर्कोलाई बचाउने र काले काले मिलेर खाउँ भालेको नीति यिनले अख्तियार गरिरहेकै छन् । अब त अति भयो भनेर जनता सडकमा निस्कदा राजतन्त्र र हिन्दुराष्ट्रको कुरा ल्याए, प्रतिगमनकारी सलबलाए भनेर आफ्ना गल्ती कमजोरी लुकाउने काम भइरहेकै छ । प्रश्न छ कहिलेसम्म ? यसरी आफ्ना कालाकर्तुतहरूलाई ढाकछोप गर्ने राजनीति भइरहन्छ ? यथार्थमा नेपालमा राजनीति होइन, राजनीतिको अपराधिकरण भइरहेको छ ।
द्वन्द्वकाल समाप्त हुनसकेन । त्यो जनयुद्धकालका अगुवा देशका प्रधानमन्त्री बनेका छन् र उनको भनाई छ– क्रान्ति जारी छ । तरिका भिन्न भएकोमात्र हो । क्रान्ति केका लागि भएको थियो, भइरहेको छ । त्यतिबेलाका बारूदी सुरूङ अहिले पनि ठाउँ ठाउँमा छन् र बिगत ८ महिनामा १ सय ४ जना घाइते भइसकेको रिपोर्ट प्रहरीले दिएको छ । न बारूदी सुरूङ हट्यो, न जनयुद्धकालका मुद्दाहरूको व्यवस्थापन भयो । जनयुद्ध गर्ने नेतृत्व होस् कि त्यो माओवादीलाई बोक्ने प्रजातान्त्रिक शक्ति, माओवादी शासन ठिक छ भने समर्थन गर्ने अन्य पार्टीहरू हुन्, तिनको विवेकको बिर्को कहिले खुल्ने हो ? विवेकहीनताबाट फैलिने तरङ्ग भनेको अपराध नै हो, अन्याय नै हो । जब विवेकी शासन हुन्छ, त्यहाँमात्र सुशासन र न्यायको प्रत्याभूति हुने हो । यो नेतृत्व तहमा विवेक हुन्थ्यो भने देश र जनताको यो बेहाल र बेथिति रहने थिएन ।
अति भयो लोभीपापीको राजनीति । अर्थात् राजनीतिको अपराधिकरण । यस्तो अपराधिक राजनीतिले देशलाई बर्बादमात्र पार्छ, चेतना भया ।