नेपाली टेलिभिजनहरूमा एउटा विज्ञापन खुब देखाइन्छ । समाचार अघि देखाइने र बजाइने यो विज्ञापन हर्लिक्सको हो । दूधले भन्दा हर्लिक्सले मस्तिष्क बढाउँछ भन्ने विज्ञापन देख्नेसुन्नेहरूले अनेक टिप्पणी गरेका छन् । तर नागरिक टिप्पणीले यो विज्ञापन पास गर्ने सेन्सर बोर्डका विद्वानहरूलाई छाएको छैन । किन छोएन होला ? हुनसक्छ, उनीहरूले पनि मस्तिष्क बढाउने हर्लिक्सको नियमित सेवन गर्छन् होला । सित्तैमा पाए अथवा दक्षिणा सहित पाए भने जे पनि खाने बानी जो नेपालीको पुरानै बानी हो ।
दूध बेचेर हर्लिक्स पिउने र मस्तिष्क बढाउने बिज्ञापन भन्नु र घरबारीको सागपात, घरमा बनाएको घ्यू बेचेर भिटामिन खानुपर्छ भन्नु उस्तै हो । नेपाली समाजलाई यस्तै भ्रमजालमा पारेर हाम्रा नीतिनिर्माता, सत्ताधारीले दिउँसै आँखामा पट्टी बाँधिदिएका छन् । कमिशन आयो अथवा उपहार पाइयो भने जे पनि निर्णय गर्नसक्ने हाम्रा शासक प्रशासक जनतालाई भेडा नै सम्झन्छन् । जनतालाई केही नजान्ने गवाँर नै बनाउन पछि पर्दैनन् ।
लोकतन्त्र पनि त्यस्तै भएको छ । नयाँ नेपाल बनाइन्छ, समानता र समृद्धि ल्याइन्छ भन्नेहरू ०४६ सालदेखि आजसम्म सत्तामै ढलीमली गरिरहेका छन् । अब परिवर्तन हुन्छ, अब अग्रगमनमा पुगिन्छ । अब निरंकूशता ढल्यो, लोकतान्त्रिक समाज स्थापित हुन्छ । बिधिको शासनमा सबैले न्याय पाउँछन्, कसैले अन्यायको अनुभूत गर्नुपर्ने छैन भन्नेहरू यिनै हुन् । प्रजातन्त्रको ३५ वर्ष र लोकतन्त्रको १७ वर्ष यिनले यसै भनी भनी जनताको आँखामा धूलो हाले, भ्रमजाल खडा गरी गरी शासनसत्ता चलाइरहे । तर कुनै परिवर्तन आएन । समानताबादी समाज सिर्जना हुनसकेन । सम्पन्नताका नाममा बजेटको आकारभन्दा ठूलो बैदेशिक ऋणको भारी भइसक्यो । बिधिका नाममा अदालतलाई सर्वदलीय अदालत बनाइदिए । समृद्धिका नाममा राजनीति व्यापार बन्यो, व्यापारी राजनीतिज्ञ बने । अपराध क्षम्य भयो । अपराधको राजनीति र राजनीतिको अपराधकरणले देशमा सुव्यवस्था ढलपलाउन थालेको छ । आमनागरिकले बिरोध गरे वा बिद्रोह सुरू गरे भने यी प्रतिगामी हुन्, लोकतन्त्र मास्न चाहने तत्व हुन् भनेर दमन नीति अख्तियार गर्छन् । लोकतन्त्र यथार्थमा अर्को निरंकूशतन्त्र बनेको छ, सिण्डिकेटतन्त्र भएको छ, सेटिङमा चलेको छ ।
हर्लिक्सको विज्ञापन र लोकतन्त्रको भाषण उस्तै उस्तै लाग्छ । न त हर्लिक्सले दूधले भन्दा बढी मस्तिष्क बढाउने हो, न त यस्तो लोकतन्त्रले समानुपातिक न्यायपूर्ण समाजको सिर्जना गर्न सक्छ । चुरो कुरो नैतिकता, नीति र सिद्धान्त हो । लोकलज्जा हो । जब व्यक्तिमा लोकलज्जा समाप्त हुन्छ, ऊ जेसुकै अपराधलाई पनि लोकतन्त्र देख्छ । फरक यत्ति छ, उसलाई यस्तो अपराधबाट लाभ हुनुपर्छ, फाइदा हुनुपर्छ, आफन्तजनको हित हुनुपर्छ । त्यो तिनका लागि लोकतन्त्र हो । लोकतन्त्रको परिभाषा नै बद्नाम गर्ने कार्य नेपालका नेताहरूले स्थापित मान्यता बनाइदिएका छन् । यसकारण त कांग्रेसको सिद्धान्तभित्र सर्वहारा मिल्न सक्छ, सर्वहाराको घरभित्र प्रजातन्त्रवादी अटाउन सक्छन् । यी दुबैले घाँटी यसरी जोडेका छन् कि भारनढका पंक्षीजस्ता छन् यिनीहरू । भारनढका पक्षी दुई टाउके हो । यो दुई टाउके पक्षीले एकदिन झगडा भएपछि एउटा टाउकोवालाले विषपान गरिदियो । परिणाम दुबैको मृत्यु हुनपुग्यो । यही सत्य यिनले बुझेका छैनन् । संसारमा सर्वहारावादी र प्रजातन्त्रवादी पनि सिद्धान्त छायाम थाँती राखेर मिल्न सक्छन् र ? तर नेपालमा वर्षदिनअघि प्रतिपक्षलाई ढाल्न एक भएका थिए भने चुनावमा एकले अर्कोको चुनाव चिन्हमा मतदानसमेत गरेका थिए । वर्षदिनदेखि यिनीहरू हातेमालो गरेर सत्ता चलाइरहेका छन् । यिनीहरूवीच देश र जनताको कुनै एजेण्डाका लागि मेलमिलाप गरेका होइनन्, सत्ता र स्वार्थका लागि मरिहत्ते गरिरहेका छन् । सुशासन दिन सकेनन्, समृद्धिका लागि माखो पनि मारेनन्, अपराधिकरण बढाइदिए ।