Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लोकवाद देखावटी

०६ सोमबार , पौष २०७२९ बर्ष अगाडि

हो, लोकवाद देखावटी हुनपुगेको छ। प्रशासन– नातावाद, अर्थतन्त्र– रेमिटान्स र कृपावाद, सत्ता– रोलक्रमवाद र सिण्डिकेटवाद, राजनीति– जालझेल र भ्रमवाद, भिजन– टालटुले समाजवाद, संविधान– जाति, भेष, भाषा, क्षेत्रका विवादवाद र नेपाली जनता– सहनशीलता र आशावादमा टक्क रोकिएकाले लोकतन्त्र नेतातन्त्रमा र लोकवाद देखावटीमा सिमित हुनपुगेको छ। देखावटी लोकवादले लोकको प्रतिनिधित्व गर्न सक्दैन, गरेको पनि छैन, लोक पलपल थरिथरिका मृत्यु मरिरहेका छन्, यस्तो वाद कसरी लोकवाद हुनसक्छ र? लोकमार्ने वादलाई लोकवाद मान्न सकिन्न।
कौवालाई बकुल्ला भन्नु र मयुरको प्वाँख लगाइदिएर मयुर नाच गराउने नक्कली काम भनेको नैतिकहीन लोकवादीहरुले गरिरहेका छन्। लोकवादमा लोकमत, लोकविचार, लोकअपेक्षाको सम्मान गरिन्छ। नेपालमा जे भइरहेको छ, सबै लोकविपरित भइरहेको छ। लोक एकातिर छ, लोकमत प्राप्त भन्नेहरु लोकधारणा विपरित चलिरहेका छन्। यस्तो तन्त्रलाई लोकतन्त्र भन्नु नितान्त गलत हुनेछ। यथार्थमा नेपालमा लोकतन्त्र नाममात्रमा सिमित हुनपुगेको छ। लोकतान्त्रिक अभ्यास, जीवनशैली र राष्ट्रपद्धतिका रुपमा संस्थागत गर्ने प्रयास पटक्कै भएको छैन। लोकतन्त्रका नाममा ठूलादलहरु र तिनका जुँगाको लडाईं एकातिर छ भने अन्य साना दल र जातीय झुण्डहरुलाई विदेशीहरुले उचालपछार गर्दा जनयुद्धको द्वन्द्वको समाप्तिका नाममा नयाँ द्वन्द्व र रगतको रण्डखाल मच्चाउने गर्भाधान भइरहेको छ। मान्छे मर्ने र मार्ने क्रियाकर्म सुरु भइसकेको छ, महाभारतको युद्ध हुनमात्र बाँकी देखिन्छ।
लोकवादमा हिंसा होइन, मतभिन्नताहरुमा वार्ता र संवादको अति महत्व हुन्छ। लोकवादमा भिन्न मत राख्न पाइन्छ, आफ्ना धारणा प्रस्तुत गर्न र त्यसको पूर्तिका लागि शान्तिपूर्ण आन्दोलन गर्ने छुट पनि हुन्छ। तर, नेपालको लोकवादमा वार्ता र संवाद नाटकीय रुपमा भइरहेको छ भने भिन्न मतलाई दमन गर्ने र दबाउने कूकर्म पनि भइरहेको छ। भिन्न मतलाई बुझाउने प्रयास पटक्कै भएको छैन। खाली अहंकार प्रदर्शन र एकपक्षीय धारणा लाद्ने काम भइरहेको छ। दबाउने र नदब्ने अहंकारको गर्जनमात्र सुनिन्छ। यस्तो अवस्थालाई लोकवाद मान्नै सकिदैन। यो लोकवाद होइन।
लोकवादमा अहंकार हुन्न। लोकवादमा अधिकतम लचकता हुन्छ र भरसक सबैलाई समेटेर र मिलाएर अघि बढ्ने सहृदयता पनि हुन्छ। यस्तो चरित्र लोकवादका ठेकेदार बनेका ठूला दलहरुमा नितान्त कमी देखिएको छ। उनीहरु ठान्छन्: जनताको बहुमत छ, बहुमतले जे गरे पनि हुन्छ। बहुमत, बहुमतमात्र भन्दा बााकी मतलाई निकास कसरी दिने? लोकवादमा त्यसको निदान पनि हुन्छ। निदान पहिल्याउन नसक्नेहरु अहंकारी बनेका छन्। फलतः  नयाँ द्वन्द्वले राष्ट्र बिखण्डनसम्मको संकट खडा गरिसकेको देखिन्छ। लोकवादले राष्ट्रलाई जोड्छ, एकतावद्ध पार्छ। नेपालको नयाँ संविधानमार्फत सार्वजनिक भएको लोकवादको पद्धतिले राष्ट्रलाई जोड्न सकेन। यो लोकवाद देखावटी साबित हुनपुग्यो। देखावटी लोकवाद टिकाउ हुनसक्दैन।
त्यसैले द्वन्द्वको समाधान जनमत संग्रह हो। किन सबै राजनीतिक दलहरु जनमत संग्रहबाट लोकवादको मान्यता स्थापित गर्न कम्मर कस्दैनन्?